News Summary
Generated by OK AI. Editorially reviewed.- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय व्यवस्थाले राजनीतिक स्थिरता दिन नसक्ने भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक भएको बताए।
- उपाध्यक्ष यादवले पछिल्लो १० वर्षमा १४ पटक सरकार परिवर्तन भएको र संसदीय प्रणालीले मुलुकको विकास अवरुद्ध गरेको उल्लेख गरे।
- उनले महँगो निर्वाचन प्रणाली भ्रष्टाचारको मुख्य जड भएको र खर्च नपर्ने नयाँ प्रणाली बनाउनुपर्ने सुझाव दिए।
१२ पुस, विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय व्यवस्थाले मुलुकमा राजनीतिक स्थिरता दिन नसक्ने दाबी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् ।
जसपाले शनिबार आयोजना गरेको जनसभालालाई सम्बोधन गर्दै अध्यक्ष यादवले विद्यमान शासकीय स्वरूप र निर्वाचन प्रणाली नै मुलुकको विकासको मुख्य बाधक रहेको बताए ।
अध्यक्ष यादवले पछिल्लो १० वर्षमा १४ पटक सरकार परिवर्तन भएको बताउँदै संसदीय प्रणालीकै कारण देशले विकासको गति लिन नसकेको धारण राखे ।
‘यो संसदीय प्रणाली नेपालका लागि उपयुक्त छैन, यसले केवल अस्थिरता मात्रै निम्त्यायो,’ उनले भने, ‘सरकार बदलिइरहने खेलले मुलुकको समृद्धि अवरुद्ध भयो । अब जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले शासन चलाउने व्यवस्था आवश्यक छ ।’
उनले राष्ट्रपतिले विज्ञहरूको टोली बनाएर सरकार चलाउनुपर्ने र संसदलाई केवल कानुन निर्माण तथा बजेट तर्जुमा गर्ने थलोको रूपमा मात्र सीमित राख्ने गरी संविधान संशोधन गर्नुपर्ने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले मात्र सरकारलाई जनताप्रति उत्तरदायी बनाउने उनको तर्क थियो ।
शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिवर्तन नगरेसम्म केवल आवधिक निर्वाचनले मात्र जनताका समस्या समाधान नगर्ने उनको तर्क थियो ।
‘शासकीय स्वरूप नबदलिएसम्म केबल संसदीय निर्वाचनले मात्रै सबै समस्याको हल गर्ला भन्न सकिन्न,’ उनले भने, ‘संसारकै गरिब मुलुकमा संसारकै महँगो निर्वाचन प्रणाली छ, अहिलेको खर्चिलो प्रणालीले इमानदार र सामान्य व्यक्तिलाई राजनीतिबाट बाहिर धकेलेको छ । अहिलेको खिचडी निर्वाचन प्रणाली हटाएर पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउनुपर्छ ।’
वर्तमान निर्वाचन प्रणाली अत्यन्त महँगो र खर्चिलो भएको बताउँदै यादवले यसलाई भ्रष्टाचारको मुख्य जड भएको बताए ।
प्रतिक्रिया 4