+
+
Shares

गोरखा–२ मा बाबुरामलाई उठाउने प्रलोपाको निर्णय, के गर्लान् बाबुराम ?

गण्डकीबाट समानुपातिकमा ५ जनाको नाम सिफारिस, प्रत्यक्ष उम्मेदवार पुसभित्र टुंग्याउने

प्रलोपा अध्यक्ष परिषद्का सदस्य सन्तोष परियार, गण्डकी इन्चार्ज फणीन्द्र देवकोटा, सहइन्चार्ज विमल अधिकारीलगायतको उपस्थितिमा गण्डकी एकता भेला तथा बैठकले गोरखा–२ बाट बाबुरामलाई नै उम्मेदवार बन्न आग्रह गर्ने निर्णय गरेको हो ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ पुष १२ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनपछि नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउनुपर्ने निश्कर्षमा पुगेका छन्।
  • प्रलोपाले गोरखा–२ बाट डा. भट्टराईलाई उम्मेदवार बन्न आग्रह गर्ने निर्णय गरेको छ।
  • डा. भट्टराईले आफू नेतृत्वमा नआउने तर नयाँ पुस्तालाई स्थापित गर्नुपर्ने पक्षमा रहेको बताएका छन्।

१२ पुस, पोखरा । १० वर्षअगाडि नै वैकल्पिक राजनीतिको वकालत गर्दै नयाँ शक्ति नेपाल घोषणा गरेका डा. बाबुराम भट्टराई जेनजी आन्दोलनपछि फेरि एक पटक नयाँ र वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउनुपर्ने निश्कर्षमा पुगेका छन् ।

नयाँ शक्तिबाट जनता समाजवादी, नेपाल समाजवादी पार्टी हुँदै नेतृत्वसमेत त्यागेर अभिभावकीय भूमिका खोजिरहेका डा. भट्टराई जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टीमार्फत वैकल्पिक राजनीतिलाई चुनावमार्फत स्थापित गर्ने चुरो खोजिरहेका छन् ।

जेनजी आन्दोलनले नेकपा एमाले–नेपाली कांग्रेसको सरकारलाई सत्ताच्यूत गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सरकारले फागुन २१ गतेका लागि चुनाव घोषणा गरेको छ । डा. भट्टराईले पछिल्लो परिस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टीदेखि, काठमाडौंका मेयर बालेन शाह, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ र विभिन्न जेनजी आन्दोलनले जन्माएका पार्टीहरू एक ठाउँमा आउनुपर्ने पक्षमा छन् र रास्वपाका रवि लामिछानेदेखि २ दिन अघिमात्र बालेन शाहसम्मलाई भेटेर एक हुन आह्वान गरेका छन् ।

जेनजी आन्दोलनले उठाएको पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणको मुद्दालाई आत्मसात गर्दै नेसपाको अध्यक्षबाट बिदा हुँदै दुर्गा सोबलाई नयाँ नेतृत्वका लागि जिम्मेवारी तोकेका छन् । माओवादी त्यागेका जनार्दन शर्मा, राम कार्की, सुदन किराँती, रास्वपा त्यागेका सन्तोष परियारसहित बाबुराम नेतृत्वको पार्टीसमेत मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको र उसले देशभर चुनाव केन्द्रीत कार्यक्रम गरिरहेको छ ।

पार्टी रुपान्तरण र हस्तान्तरणको एजेण्डालाई आत्मसात गर्दै जेनजीहरूको प्रमुख माग र परिवर्तनको पक्षमा उभिएका डा. बाबुराम आफू चाहिँ अब के चाहन्छन् त ?

‘डा. भट्टराईले अबको चुनावमा आफू नेतृत्वमा आउने, आफू नै चुनाव लड्नेतिरभन्दा पनि नयाँ र वैकल्पिक शक्तिहरू एक हुनुपर्छ, नेतृत्वमा नयाँ पुस्ता स्थापित हुनुपर्छ भनिरहनुभएको छ । उहाँले नयाँ र वैकल्पिक राजनीतिकै अभिभावकीय भूमिका निभाइरहनुभएको छ,’ प्रलोपाका नेता तथा गण्डकीका सांसद फणिन्द्र देवकोटा भन्छन्, ‘उहाँ गोरखाबाट चुनाव उठ्नुपर्छ भन्ने आवाजसमेत उठिरहेको छ ।’

डा. भट्टराई पार्टी नेतृत्वमासमेत नबसी नयाँ र वैकल्पिक राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउनुपर्छ भनिरहेका बेला प्रलोपा गण्डकीले भने गोरखाबाट उनलाई नै अगाडि सार्ने निर्णय गरेको छ ।

प्रलोपाका अध्यक्ष परिषदका सदस्य सन्तोष परियार, गण्डकी इन्चार्ज फणिन्द्र देवकोटा, सहइन्चार्ज विमल अधिकारीलगायतको उपस्थितिमा भएको गण्डकीको एकता भेला तथा बैठकले नै गोरखा–२ बाट बाबुरामलाई नै उम्मेदवार बन्न आग्रह गर्ने निर्णय नै गरेको छ ।

‘प्रलोपाको भेलाले गरेका विभिन्न निर्णयमध्ये गोरखा–२ मा डा. भट्टराई उम्मेदवार बन्न आग्रह तथा सिफारिस गर्ने निर्णय गरेका छौं,’ गण्डकी अध्यक्ष तथा नेसपाको महाधिवेशनमा डा. भट्टराईसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका नेत्र चापागाइँले भने, ‘यो राजनीति सुधार्न र वैकल्पिक राजनीतिलाई स्थापित गर्न उहाँको आवश्यकता छ । उहाँले लड्दिनँ भन्न पाउनुहुन्न ।’

२०७९ मंसिरको चुनावमा पार्टी एकता गर्ने उद्घोषसहित गोरखा–२ तत्कालीन माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छाडेर चुनावी अभियानमै होमिएका थिए ।

चुनावमा पार्टी एकता गर्ने उद्घोषसहित एकअर्कामा दोषारोपण गर्ने, आलोचना गर्ने काम नगर्न माओवादी र नेसपाको तल्लो तहसम्मै सर्कुलरसमेत भएको थियो । तर, गोखरा–२ बाट चुनाव जितेर प्रचण्ड देशको प्रधानमन्त्री भएपछि दुई नेताबीच संवादसमेत हुन सकेन भने एकअर्काबीच आरोप–प्रत्यारोप चल्दै आएको थियो ।

गोरखा–२ मा प्रचण्डलाई छोडेर गठबन्धनबाट काठमाडौं–७ मा छोरी मानुषीलाई टिकट दिलाएको आरोप पनि बाबुरामले खेपेका थिए । बाबुरामले भने त्यसको प्रतिवाद गर्दै छोरी मोह भएको भए आफूले गोरखाबाटै चुनाव उठाउने बताउँदै आएका छन् भने नयाँ आशा र प्रचण्डमासमेत परिवर्तनको महसुस भएको ठानेर सघाएको तर त्यो भ्रममात्र बनेको उनको निश्कर्ष थियो ।

अहिले जेनजी आन्दोलनपछि फेरि बाबुरामको सक्रियता बढेको छ भने गोरखा–२ बाट अब बाबुरामलाई नै उठाउनुपर्ने दबाबसमेत नेताकार्यकर्ताले दिइरहेका छन् ।

गोरखाबाट लगातार ३ पटक चुनाव जितेर देशको प्रधानमन्त्रीसमेत बनेका डा. भट्टराई आफूहरूले उठाएको वैकल्पिक राजनीतिको आवश्यकता अहिले अझै बढी देखिएको र यस्तो अवस्तामा नयाँ शक्तिहरू एक ठाउँमा उभिनेपर्ने आवाज उठाउँदै आएका छन् ।

यो डा. भट्टराईले देशलाई नयाँ निकाश दिन अभिभावकीय भूमिका खोजिरहेका हुन् कि फेरि चुनाव लडेर सरकारमा जाने अभिलासा राखिरहेका हुन् त ? ‘अहिले म नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिनुपर्छ, जेनजीहरूको भावना र परिवर्तनको मागलाई संस्थागत गर्नुपर्छ भन्ने कुरामा अडिग छु, अन्य पद र नेतृत्वका निम्ति लडिरहेको छैन,’ डा. भट्टराईले भने ।

तल्लो तहबाट उठिरहेको आवाजलाई आफूले अन्यथा नलिने र यो विषयमा आफूले धेरै कुरा गर्नसमेत नचाहेको डा. भट्टराईले बताउने गरेका छन् । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारसँग सबैभन्दा पहिले छलफल र संवादमा जाने, जेनजी अभियान्ताहरूसँग निरन्तर छलफल गर्ने काम भट्टराईले गरेका थिए ।

पुराना दल र नेताको विकल्पमा ब्यापक ध्रुवीकरण आवश्यक रहेको मतसमेत उनले राख्दै आएका छन् । आफूले उठाउँदै आएको वैकल्पिक राजनीतिको एजेण्डामा पछिल्लो समय नयाँ शक्ति र दलहरू देखिइरहेकोमा डा. भट्टराईले आशाको नजरलेसमेत हेरिरहेका छन् ।

डा. भट्टराई रवि, बालेन र कुलमानसँग पनि एकता र धु्रवीकरणका लागि आह्वान गरिरहेका छन् तर यो धुर्वीकरणमा उनको पार्टी पनि कसरी सामेल हुन्छ, कस्तो भूमिकामा रहन्छ भन्ने निश्चित नभएको उनकै पार्टीका नेताहरूले बताइरहेका छन् । फेरि एकपटक गोरखा–२ बाट चुनाव लडेर देशले नै डा भट्टराईसँग अभिभावकीय भूमिका खोजिरहेको गण्डकी अध्यक्ष चापागाइँ बताउँछन् ।

‘जेनजी आन्दोलनले उठाएका मुद्दा डा. भट्टराईले १० अघि नै उठाएर परम्परागत पार्टीबाट विद्रोह गर्नुभएको थियो । अहिले जेनजीहरूले राखेको माग पनि त्यो बेला भट्टराईले उठाएकै मुद्दा थिए,’ चापागाइँ भन्छन्, ‘त्यसैले जेनजीका भावना बुझ्ने, देशलाई परिवर्तन र आशाको दिशामा हिँडाउनका निम्ति डा. भट्टराईको आवश्यकता झनै समयले नै माग गरेको छ । परिवर्तका मुद्धा बोक्ने र बदलिँदो परिस्थिति बुझ्ने जुन कुरा डा. भट्टराईमात्र छ, त्यो कुनै पनि परम्परागत पुराना दलका शीर्ष नेताहरूमा छैन ।’

२०६४ सालमा देशमै सर्वाधिक लोकप्रिय मतका साथ विजयी डा. भट्टराई दोस्रो संविधान सभामा पनि लोकप्रिय मतका साथ विजयी भएका थिए । संविधान जारी भएसँगै २०७३ साल जेठमा वैकल्पिक राजनीतिको एजेण्डा उठाउँदै नयाँ शक्ति गठन गरेका डा. भट्टराई २०७४ सालमा पनि गोरखाबाटै कांग्रेससँगको गठबन्धनबाट चुनाव जितेका थिए ।

२०७९ को चुनावमा प्रचण्डलाई साथ दिएका बाबुरामको पक्षमा अहिले पनि गोरखामा राम्रै जनमत छ । नयाँ र वैकल्पिक शक्तिहरूलाई एकै ठाउँमा ल्याएर परिस्थिति अनुकुल बने फेरि एक पटक गोरखाबाट चुनाव लडेर जित्ने र संसदबाट परिवर्तनको पक्षमा भूमिका खेल्न उनलाई समर्थकले सुझाव दिइरहेका छन् । त्यसैको सुरुवात प्रलोपा गण्डकीको बैठकको निर्णयबाट भएको नेताहरूको भनाइ छ ।

तत्कालीन माओवादीभित्रै पनि बाबुरामले वैकल्पिक राजनीतिको एजेण्डा उठाएको र त्योबेला नै दलहरूले साथ दिएको भए आज देश अर्कै बाटोमा हिड्ने दाबीसमेत उनका समर्थकको छ । तर, भट्टराईले भने आफू अभिभावकीय भूमिकामै बस्ने र नेतृत्वदेखि चुनावसम्म नयाँ पुस्तालाई ल्याउनुपर्ने पक्षमा वकालत गरिरहेका छन् ।

नयाँ शक्ति पार्टी गठन गर्ने र कांग्रेससँग गठबन्धन गरेर चुनावमा जाने, फेरि उपेन्द्र यादवसहित समाजवादी पार्टीसँग एकता गर्ने र औचित्य पुष्टि गर्ने काम गर्न नसकेको आरोप उनीमाथि छ । नयाँ शक्ति, जनता समाजवादी पार्टीबाट चुनाव जाँदा पनि उनको पक्षमा ठूलो जनमत नदेखिँदा बाबुराम कमजोर बन्न पुगे ।

जनता समाजवादी पार्टीबाट पनि अलग भएपछि फेरि गोरखामा माओवादीलाई साथ दिएको र उनलाई साथ दिएका नेताहरूसमेत छिन्नभिन्न हुँदा बाबुरामको एजेण्डा ओझेलमा पर्न पुगेको उनीसँगै रहेका एक नेताले बताए ।

‘तर, आज परिस्थिति बदलिएको छ । उहाँले उठाएको एजेण्डाको पक्षमा जनमत छ । यस्तो बेलामा उहाँले पनि आफूलाई पुष्टि गर्ने बेला आएको छ,’ ती नेताले भने ।

बाबुरामले सघाएकै कारण गोरखा–२ मा प्रचण्डलाई सहज बनेको तर अब बाबुराम नै उठ्ने हो भने प्रचण्डलाई सहज नहुने त्यहाँका नेताहरूले बताउने गरेका छन् । त्यसैले पनि प्रचण्ड अब गोरखाबाट उठ्न नचाहेको नेताहरूको भनाइ छ ।

प्रलोपा गण्डकीले गोरखा–२ मा बाबुरामलाई उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गर्नेदेखि समानुपातिक उम्मेदवारको टुंगोसमेत लगाएको छ । प्रलोपाका तर्फबाट आदिवासी जनजाती क्लस्टरमा दुर्गाकुमारी गुरुङ, थारु क्लस्टरबाट पिताम्बर महतो, आर्यखसबाट दिनेश पौडेल, महिलाबाट नारायणी अधिकारी र दलिततर्फबाट शान्ति विकको नाम सिफरिस गरिएको गण्डकी अध्यक्ष चापागाइँले जानकारी दिए ।

पुस महिनाभित्र जिल्ला र स्थानीय तहको एकता भेला र बैठक सम्पन्न गर्ने निर्णय पनि भएको छ । जिल्लाले निर्वाचन क्षेत्रको प्रत्येक्ष उम्मेदवारको नाम पुस महिनाभित्र सिफारिस गरिसक्ने बैठकले अर्को निर्णय गरेको छ ।

गण्डकी अध्यक्ष नेत्रको नेतृत्वमा १ सय ५१ सदस्यीय प्रदेश कमिटीसमेत बनाइएको छ । ‘वैकलिपक शक्तिलाई एकता गरेर चुनाव लड्न गण्डकी प्रदेशका तर्फबाट आह्वान गर्ने निर्णय भएको छ,’ अध्यक्ष चापागाइँले भने, ‘पछिल्लो परिस्थितिअनुसार देशका निम्ति सबै नयाँ र वैकल्पिक शक्तिहरू एक ठाउँ उभिने अवसर जेनजी आन्दोलनले दिएको छ ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?