+
+
Shares

रवि–बालेन सम्झौता : दलका युवा नेताको शुभकामना, वैचारिकीमा प्रश्न

रवि लामिछाने र बालेनबीच भएको सम्झौतालाई राजनीतिक दलका युवा नेताहरूले स्वागत गरेका छन् तर उनीहरूले वैचारिकीमाथि प्रश्न उठाएका छन् । सत्ता-शक्ति आर्जनभन्दा पनि विचारमा प्रष्टता हुनुपर्ने उनीहरुको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १०:२५

१३ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएपछि मिश्रित प्रतिक्रिया सार्वजनिक भएका छन् ।

कतिपयले यसले नेपाल र नेपालीको भाग्य–भविष्यको रेखा कोर्ने बताएका छन् । कतिपयले राजनीतिक, आर्थिक र सामाजिक मुद्दा समाधान हुन्छ कि हुँदैन भन्ने प्रश्न कायमै रहेको बताएका छन् ।

हामीले रवि–बालेन सम्झौतालाई कसरी लिनु भएको छ भनी विभिन्न दलका नेता र जेनजी अगुवासँग प्रतिक्रिया लिएका छौं–

कांग्रेसले चुनौती ठानेर अगाडि बढ्नुपर्छ : प्रदीप पौडेल, कांग्रेस केन्द्रीय सदस्य

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल राष्ट्रिय राजनीतिमा दलहरु सशक्त भएर आउने कुरालाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् ।

‘राष्ट्रिय राजनीतिमा दलहरु शक्तिशाली हुने कुरालाई सकारात्मक रुपमा लिनुपर्छ । उहाँहरु आफ्नो सशक्ततालाई मिलेर आउनु भएको छ । राजनीतिको प्रतिस्पर्धामा सकारात्मक रुपमा नै लिनुपर्छ ।’

यसमा नीतिगत प्रष्टता भए अझ राम्रो हुने उनले बताए । साथै यसबाट नेपाली कांग्रेस जस्ता पुरानो र ठूलो पार्टीले चुनौति महसुस गरेर आफूलाई अगाडि बढाउनुपर्ने पौडेलको धारणा छ ।

‘नेपाली कांग्रेस जस्तो ठूलो र पुरानो पार्टीले चुनौति नै ठानेर त्यसअनुसार आफूलाई अगाडि लान सक्नुपर्छ,’ पौडेल भन्छन् ।

बालेनलाई जिताउने कि हराउने भनेर जनताले रोज्न पाए : ईश्वरी जीएम, एमाले

एमाले नेता ईश्वरी जीएमले रवि–बालेन सम्झौताबाट अरु राजनीतिक दलहरुलाई दबाब परेको बताइन् ।

चुनाव जितिसकेपछि संसदीय दलको नेता को हुने भनेर मारामार गर्नुभन्दा चुनाव अगाडि नै तोकेर जानुलाई सकारात्मक रुपमा लिनुपर्ने उनले बताइन् ।

यसबाट जनतालाई जिताउने कि हराउने भन्ने विकल्प रोज्न सजिलो हुने उनको बुझाइ छ ।

‘चुनाव अगाडि नै भावी प्रधानमन्त्री को हुने र दलको अध्यक्ष को हुने भनेर तोकेर जाने सहमतिले अरु पुराना दलहरुलाई प्रेसर पर्‍यो,’ उनले भनिन्, ‘भावी प्रधानमन्त्री बालेन भनिसकेपछि नरुचाउने जनताले उनलाई हराउन पनि सक्ने भए नि त । यस हिसाबले पहिले नै प्रधानमन्त्रीको उम्मेदवार तोक्नु सकारात्मक कुरा हो ।’

विकेन्द्रित हुनुभन्दा केन्द्रिकृत हुनु राम्रो : नेकपा युवा नेता सापकोटा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता माधव सापकोटा (सुवोध)ले धेरै दल र राजनीतिक शक्तिहरु विकेन्द्रित हुनुभन्दा एकीकृत हुनुलाई सकारात्मक रुपमा लिएको भन्दै यसले राजनीतिक स्थिरता आउने विश्वास व्यक्त गरे । ‘शक्ति विकेन्द्रित हुने र धेरै राजनीतिक दल भएर अस्थीरता आउनु भन्दा यसले अस्थीरतालाई कम गर्ला भन्ने बुझाइ छ मेरो प्रारम्भमा,’ सापकोटाले भने ।

जेनजीका भावना सम्बोधन गर्ने बचनका हिसाबले भने अरु राजनीतिक दलभन्दा रवि र बालेन फरक नदेखिएको उनले बताए ।

‘यस सम्झौतामा जेनजीहरु नै समावेश भएको भए जेनजीहरु समेतको भन्ने हुन्थ्यो, तर जेनजीका देखिएका फेसभ्यालु साथीहरु यसमा जोडिन सहमत हुनु भएन,’ सापकोटाको टिप्पणी छ, ‘यसरी हेर्दा बाँकी त सबै राजनीतिक दलहरुले जेनजीहरुका भावना सम्बोधन गर्छौं भन्नुभएको थियो, उहाँहरुले पनि भन्नुभयो । यस हिसाबले उस्तै दृष्टिकोण भयो ।’

यस सम्झौताले खास परिणाम दिँदैन : सन्तोष परियार, प्रलोपा

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का अध्यक्ष परिषदका सदस्य सन्तोष परियार उस्तै–उस्तै स्वभाव भएका रवि–बालेन एक ठाउँ आउनु स्वाभाविक भएको बताउँछन् ।

उनले रवि–बालेन एकतालाई ‘भेँडा–भेँडासँग र बाख्रा–बाख्रासँग’ भन्ने नेपाली उखानसँग मिल्दो भएको टिप्पणी गरे ।

रवि–बालेन एकताले देश र जनताको हित नहुने उनले बताए । पूर्वरास्वपा सांसद परियार भन्छन्, ‘उस्तै–उस्तै वैचारिकी भएका राजनीतिक पार्टीहरु, समूहहरु ध्रुवीकरण भएर सिंगो देश र जनताका मुद्दालाई प्राथमिकतामा राखेर हुने सहमति समझदारी एउटा कुरा भयो । तर निर्वाचनलाई मात्रै केन्द्रित गरेर कुनै मूल्य मान्यताविना जसरी पनि सत्ताका लागि एक ठाउँमा आउनुले देश र जनताको हित गर्छजस्तो मलाई लाग्दैन ।’

तर देशमा राजनीतिक ध्रुवीकरण भने जरुरी रहेको उनी बताउँछन् ।

आर्थिक र सामाजिक पाटोमा पनि ध्यान दिनुपर्छ : विकास रसाइली, जेनजी अगुवा

जेनजी एलायन्सका नेता विकास रसाइलीले रवि–बालेन मिलनलाई सकारात्मक रुपमा लिए पनि त्यसले राजनीतिक, आर्थिक, सामाजिक निकास पाउँछ कि पाउँदैन भन्ने प्रश्न मुख्य भएको बताए ।

२०६२-६३ जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आउँदाको उत्साह धेरै समय नटिकेर जनता फेरि निराश भएको उदाहरण दिँदै उनले भने, ‘यदि आर्थिक, सामाजिक, सांस्कृतिक विषयमा सोचिएन भने निराशा पैदा हुने र पुन: जेनजी आन्दोलनजस्तो अर्को आन्दोलन हुने सम्भावना रहन्छ ।’

उनले त्यसतर्फ ध्यान दिन नयाँ राजनीतिक शक्ति भनिनेहरुलाई सुझाव दिए । ‘नेपाली जनताको जनजीविकाको विषय के हो त भन्दा यहाँको आर्थिक पाटो हो, यहाँको सामाजिक, सांस्कृतिक पाटो हो, यो परिवर्तन नहुँदासम्म नेपाली जनताले सुख पाउनेवाला छैनन्,’ रसाइली भन्छन्, ‘त्यसैले अबको नयाँ भनिनेहरुले त्यतापटि सोच्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?