१३ पुस, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह समूहबीच एकताले नेपाली राजनीति तरंगित बनेको छ । कुलमान घिसिए आबद्ध उज्यालो नेपाल पार्टी पनि एकता प्रक्रियामा आउने विषय अहिले निश्चित छैन । यद्यपि, स्रोतहरूका अनुसार यो प्रयास अझै जारी रहनेछ ।
पुराना र स्थापित दलहरूप्रतिको बढ्दो वितृष्णा र ‘डेलिभरी’ केन्द्रित राजनीतिको खोजी भइरहेका बेला यी दुई ‘ब्रान्ड’ व्यक्तित्वहरूको एकताले आगामी निर्वाचनको गणितलाई कस्तो प्रभाव पार्ला? के यो एकता केवल सामाजिक सञ्जालको एउटा लहर मात्र हो कि यसले वास्तविक भुइँ-तहको राजनीतिमा पनि हलचल ल्याउनेछ ?
यिनै समसामयिक राजनीतिक मुद्दा, उनीहरूको कार्यशैली र सम्भावित चुनौतीका विषयमा केन्द्रित रहेर समाजशास्त्री प्रणव खरेलसँग अनलाइनखबरका लागि केशव सावदले गरेको कुराकानी :
बालेन शाह र रवि लामिछाने मिलेर एउटै दल बनाउने सहमति गर्नुभएको छ । कुरा मिले कुलमान घिसिङ पनि एकतामा आउने खबर छन् । ख्उहाँहरू मिलेर आउँदा कुन मताधिकारमा आफ्नो पकड बलियो बनाउनुहोला ? अथवा कसको भोट काट्नुहोला ?
कसको मत काट्नुहुन्छ भन्ने कुरा त हामीले धरातल (ग्राउन्ड) अध्ययन नगरी भन्न सकिँदैन । त्यसकारण, कसको मत काट्नुहुन्छ भन्दा पनि उहाँहरूले आफ्नो मत कसरी सिर्जना गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । तीनै जनाको पहुँच (एप्रोच) मुख्यतया सहरकेन्द्रित देखिन्छ । विशेष गरी नेपालका ठूला सहरहरू, जहाँ ‘स्विङ भोट’ (अस्थिर मत) को बाहुल्य छ, त्यहाँ उहाँहरूले प्रभाव पार्न सक्नुहुन्छ ।
उहाँहरूले पाउने मत भनेको स्थापित दलहरू प्रतिको निराशा र नयाँ दलहरू प्रतिको झिनो आशाको परिणाम हो । किनभने स्थापित दलहरूले जनताको म्यान्डेटअनुसार काम गर्न सकेनन् । उनीहरूमध्ये नेपाली कांग्रेस ‘मास-बेस्ड’ पार्टी हो भने एमाले र माओवादी ‘क्याडर-बेस्ड’ । मास-बेस्ड पार्टी र क्याडर-बेस्ड पार्टीको फेरि आफ्नै खालको भिन्नता हुन्छ । तर, यो सर्कल (घेरा) भन्दा बाहिर एउटा ठूलो मत छ । यी पार्टीहरूमा आस्था राख्ने मान्छेहरू छन्, तर ती मान्छेहरू अहिले अलि रिसाएको अवस्था छ । एउटा यो कुरो भयो ।
यी दलहरूमा आस्था राख्ने तर नेतृत्वसँग रिसाएका एउटा ठूलो तप्काले उहाँहरूलाई विकल्पका रूपमा हेर्न सक्छ । जे होस्, तपाईंले सोधेजस्तै आंशिक रूपमा उहाँहरूले स्थापित पार्टीहरूकै भोट काट्नुहुन्छ । दोस्रो कुरो चाहिँ भोटमा कन्भर्ट हुनका लागि हामीसँग अझै दुई महिना छ ।
तीन नेताका पृष्ठभूमि फरक छन्, कसरी एकठाउँमा आएर सहकार्य गर्न सक्नुहोला ?
हामीले हेर्ने हो भने बालेन, रवि र कुलमानजी तीनै जना भिन्न–भिन्न पृष्ठभूमिबाट आउनुहुन्छ । उहाँहरूको राजनीतिक मान्यता भिन्न–भिन्न छ । बालेन अलिकति रोयलिस्ट (राजावादी) झुकाव भएको देखिनुहुन्छ भने रविको त्यस्तो केही देखिँदैन । रविको ओरिएन्टेसन जहाँ जे पाइन्छ, त्यसलाई त्यसरी नै म्यानेज गर्ने भन्ने देखिन्छ ।
कुलमानजी पूर्ण रूपमा टेक्नोक्रेटिक ब्याकग्राउन्डबाट आउनुभएको छ । उहाँले टेक्नोक्रेटिक स्किलको आधारमा आफ्नो इमेज बनाउनुभएको छ र उहाँले पर्फर्मेन्स त्यसरी नै गर्छु भन्नुभएको छ ।
यी तीनै जनाले प्रोमिस गरिरहेको कुरा — सर्भिस, गभर्नेन्स, डेलिभरी । त्यो सेन्समा उहाँहरू तीनै जना आधारभूत रूपमा प्रोग्रामेटिक पार्टीहरू हुन् ।
अब उहाँहरूले एउटा योजना बनाउनुहोला । कसैले विकास भन्ला, कसैले सुशासन भन्ला । त्यसको आधारमा उहाँहरूले के सपना दिनुहुन्छ, के नयाँ वाचा गर्नुहुन्छ, त्यसकै आधारमा उहाँहरूलाई मत प्राप्त हुन्छ ।
उहाँहरूले प्राप्त गर्ने मतको मैले मोटामोटी दुईवटा हाँगा देख्छु- एउटा परम्परागत पार्टीहरूसँगको असन्तुष्टि र नयाँ केही गर्छन् भन्ने थोरै आशा । मैले ‘धेरै आशा’ किन भनिनँ भने तपाईंले नेपालभरि हेर्नुभयो भने यी तीनै जना फेरि ‘प्यान नेपाल फेनोमेनन’ (देशैभरि उत्तिकै प्रभावशाली वा लोकप्रिय) होइनन् ।
मधेसमा रास्वपाको पकड कमजोर देख्नुहुन्छ । विगतमा भएका थुप्रै पहिचानवादी आन्दोलनहरूप्रति उहाँहरू त्यति पोजेटिभ देखिनुहुन्न । हालाकि, कुलमानजीसँग जोडिनुभएका केही साथीहरू त्यही पहिचानवादी आन्दोलनबाट आउनुभएको छ । यद्यपि, मुख्यगरी उहाँहरूको ओरिएन्टेसन देखिँदैन । त्यसकारण उहाँहरूले त्यो क्षेत्रलाई कसरी रिच आउट गर्नुहुन्छ ? त्यहाँ पनि त थुप्रै असन्तुष्ट मतहरू छन् । त्यही भएर उहाँहरू देशैभरी प्रभाव राख्ने बन्छन् कि बन्दैनन् भन्ने चाहिँ अहिले नै भन्न मिल्दैन । त्यो त चुनावी परिणाम आएपछि भन्न मिल्ला । तर पनि यही आसपासबाट नतिजा आउला भन्ने लाग्छ ।
उहाँहरूले गर्ने राजनीतिक स्पेस कुन हुन सक्छ ? उहाँहरूको विचारधारा मुख्य गरी के हुन सक्ला ?
विचारधारा भनेर जसरी हामी परम्परागत रूपमा बुझ्छौँ नि, जस्तो पार्टीहरूको विचारधारा मुख्यतः पुँजीवादी व्यवस्थाअन्तर्गत बनेका विचारहरू हुन् । साम्यवादी विचार भन्नुस् वा पूँजीवादी ।
यी वैश्विक पूँजीवादको विकाससँगै आएका एउटै सिक्काका दुईवटा पाटा हुन् । त्यसको वरिपरि शीतयुद्धकालीन समयमा जसरी पार्टी र विचारहरू बन्थे र विचारको आदान–प्रदान हुन्थ्यो, त्यसैका आधारमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीजस्ता पार्टीहरू बनेका हुन् ।
तर, मलाई लाग्छ अब त्यस्तो खालको विचारधाराको युग अहिले होइन । संसारभरि नै त्यो खालको विचारधाराको विपरीत हावा चलिरहेको छ । त्यसो भएर उहाँहरू प्रोग्रामेटिक पार्टी (एक नेताभन्दा ठोस योजना, नीति र कार्यक्रममा आधारित पार्टी) हुन् । उहाँहरूले निश्चित कुरा जस्तो ‘नीति’ लाई प्राथमिकता दिन्छन् । जस्तो कुलमानजीले ‘मैले बत्ती बालेँ, म सत्तामा आएँ भने मेरो चुरो कुरो सुशासन हो’ भन्नुहोला ।
काठमाडौंमै कुरा गर्नुहुन्छ भने खानेपानीको समस्या होला, अन्त अरू समस्या होला । लार्जली सुशासनको मुद्दामा आउनुहुन्छ भने बालेनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएर सुशासन र समग्र स्थायित्वको कुरा गर्नुहुन्छ । त्यही भएर त्यो पुरानो ढर्राको विचारधारा त आउँदै आउँदैन । त्यो सम्भव छैन । किनभने त्यो अहिले भइरहेकै पार्टीहरूमा पनि ती विचारधारालाई त्यसरी अभ्यास गरिरहेको देखिँदैन । नयाँ पार्टीहरूले त त्यो बोक्ने भन्ने कुरै हुँदैन । विचारधारा भन्दा पनि उहाँहरू मूलतः कार्यक्रमिक र नीति केन्द्रित हुने देखिन्छ । उहाँहरूले नीतिलाई केन्द्रमा राखेर अगाडि बढ्नुहुन्छ होला ।
तीनै जना आफैँमा स्थापित र ब्रान्ड भएका व्यक्तिजस्तो देखिनुहुन्छ । उहाँहरू बीच एकता भयो भने शक्ति र पद बाँडफाँड कसरी होला ? आपसमा इगो व्यवस्थापन कसरी गरिन्छ होला ?
खास चुरो कुरा यही हो । उहाँहरू तीनै जना, विशेष गरी रविजी र बालेनजीहरू सोसल मिडिया फेनोमेननको प्रोडक्ट पनि हुन् । सोसल मिडियाले उहाँहरूको स्टेटस उकासिदिएको हो ।
उहाँहरू तात्कालिक रूपमा मिलेको जस्तो देखिन्छ । मैले सुरुमै भनेँ— उहाँहरूको ओरिएन्टेसन नै फरक छ र तीनै जना एकले अर्कालाई नेता स्वीकार गर्ने प्रवृत्तिका मान्छे देखिनुहुन्न ।
जस्तो बालेनको त त्यो सुरुदेखि नै देखिएन । यदि त्यस्तो हुन्थ्यो भने उहाँ काठमाडौंको मेयर हो, काठमाडौंको मेयर भनेको ‘समानान्तर प्रधानमन्त्री हो । तर, उहाँको व्यवहार त्यस्तो देखिएन । बालेनले अरू दलका मान्छेहरूलाई, रविलाई पनि ‘नयाँ र पुराना सबै उस्तै हुन्’ भन्नुभएको थियो ।
यसरी अहिलेका लागि उहाँहरूबीच तात्कालिक मिलन हो । त्यही भएर यो कसरी जान्छ भनेर भन्न सकिँदैन । उहाँहरूको उद्देश्य के हो ? कोही पार्टी अध्यक्ष र कोही प्रधानमन्त्री बन्ने होला ।
जस्तो रविजीले ‘तपाईं रास्वपाको साधारण सदस्य भएर आउनुस् अनि प्राइम मिनिस्टर बन्नुस्’ भन्नुभयो । त्यस्तो खालको एरेन्जमेन्ट होला–नहोला । बालेनको आफ्नो कन्सिस्टिटुअन्सी (गढ) छ । त्यसभित्र एक थरिले रविलाई राम्रो मान्दैनन् ।
किनभने रविजीको जुन अलि दागी विगत छ । बालेनले आफूलाई तुलनात्मक रूपमा क्लिन छु भनेर प्रोजेक्ट गरिरहेको अवस्थामा बालेनसँग रहेका सबै जनाले रविलाई नस्वीकार्लान् ।
किनभने जेनजी आन्दोलनमा रविजी, बालेनजीहरूको जुन भूमिका देखियो नि, त्यसले पनि त उहाँहरूलाई भोटरले स्क्रुटनाइज (परीक्षण) गर्लान् । उहाँहरू यहाँसम्म पुग्नलाई जेनजी आन्दोलन पनि एउटा महत्वपूर्ण कडी हो । जेनजी आन्दोलनमा रहेका स्टेकहोल्डरले पनि उहाँहरूलाई कसरी बुझ्लान् ? यी दुई–तीनवटा कुरा हेर्न बाँकी नै छ । त्यसैले ठ्याक्कै कसरी जान्छ, भन्न सकिन्न ।
उहाँहरूलाई देशव्यापी संगठन विस्तार गर्न अनुकूलता–प्रतिकूलताहरू के-कस्तो देख्नुहुन्छ ?
उहाँहरू खासै संगठनमा आधारित राजनीति गर्ने खालको राजनीतिकर्मी होइनन् । उहाँहरू चामत्कारिक व्यक्तित्व (क्यारिस्मेटिक पर्सनालिटी) हुन्। उहाँहरूको शक्ति त्यो चामत्कारिक व्यक्तित्वबाट आउँछ । उहाँहरू संगठनबाट आउनुभएको होइन । संगठनबाट आउने भनेको पारम्परिक पार्टीहरू हुन् । यसमा थोरै चमत्कारिक व्यक्तित्वको मिश्रणले जित्ने अभ्यास थियो । रवि, बालेन र कुलनमानहरूले विशुद्ध चमत्कारिक व्यक्तित्वमा आधारित राजनीति गर्ने हो ।
अहिलेको अवस्थामा एक ठाउँमा आउनुपर्ने उहाँहरूको बाध्यता हो । त्यसैले उहाँहरू संगठन विस्तार गरेर शक्ति आर्जन गर्नुहुन्छ जस्तो मलाई लाग्दैन । यद्यपि रास्वपाले अथवा उज्यालोले संगठन विस्तार गर्ने भनेको छ, त्यो मुख्यतः नीति र कार्यक्रमको बारेमा सचेत गराउने हिसाबले होला । किनभने उहाँहरूको ‘पर्सनालिटी ड्रिभन’ पार्टी हो ।
जस्तो रास्वपा रविजी केन्द्रित पार्टी हो । उज्यालोमा अरू साथीहरू पनि हुनुहुन्छ तर नाम हामी कुलमानजीको मात्रै सुन्छौँ । बालेनजी अहिले कुनै एउटा पार्टीमा हुनुहुन्छ रे, तर त्यो पार्टीको बारेमा त्यति चर्चा छैन । बालेन आफैँमा एउटा फेनोमेनन हुन् । उहाँहरू संगठनको बलमा भोट ल्याउनुहुन्छ भन्ने मलाई लाग्दैन ।
तपाईंकै शब्दअनुसार चामत्कारिक पर्सनालिटी भएका मान्छेहरूका वरिपरिका संगठित मानिसहरूबाट बन्ने पार्टीमा आन्तरिक लोकतन्त्र बलियो बनाउने काम कत्तिको सहज होला ?
त्यसको लागि हामीले संगठनको हिसाबले सोच्नुपर्छ । मलाई उहाँहरू तीनै जनाको जुन राजनीतिक धरातल छ, त्यसमा राजनीतिक संगठन र आन्तरिक लोकतन्त्र बारे सोच्ने र विविधतालाई समेट्ने प्रश्न नै मुख्य हो जस्तो लाग्दैन ।
यद्यपि, कुलमानजीको पार्टीमा पहिचानवादी राजनीति गरेर आएका केही महत्वपूर्ण व्यक्तिहरू हुनुहुन्छ । उहाँहरूले लिने पोजिसन महत्वपूर्ण हुन्छ । तर यो चुनावमा यो कुरा कति प्रमुख हो ? मलाई यो प्रमुख होला जस्तो लाग्दैन ।
आन्तरिक लोकतन्त्रको कुरो गर्दा रविजीको पार्टीले त पार्टीको आकारै ग्रहण गरेको छैन, जुन ट्रेडिसनल सेन्समा हामी पार्टी भन्छौँ । उज्यालोले पनि त्यो खालको संरचना ग्रहण गरिनसकेको अवस्थामा हामीले ती पार्टीहरूको संरचना र आन्तरिक लोकतन्त्रको बारेमा कमेन्ट गर्नु हतारो हुन्छ । यद्यपि, आन्तरिक लोकतन्त्र एउटा राजनीतिक संगठनको मूल ध्येय हो ।
फेरि यो ‘पर्सनालिटी ड्रिभन’ पार्टीको समस्या त्यो धेरै नै चामत्कारिक व्यक्तित्वमा आधारित हुने भएर आन्तरिक लोकतन्त्र ‘गौण’ हुने सम्भावना रहन्छ । नेपालमा अरू पार्टीहरूले यस्तो राजनीति गर्दा त्यो कुरा ओझेलमा परेको हामीले देखेका छौँ ।
पुराना स्थापित राजनीतिक दलहरूले उहाँहरूलाई कस्तो चुनौती दिने सम्भावना देखिन्छ ?
चुनौतीका हिसाबले त मैले महत्वपूर्ण चुनौती देख्छु । मैले अघि नै भनिसकेँ— पुराना पार्टीहरूसँग भएको एउटा ठूलो जनमत भदौ २३ को घटनालाई लिएर रिसाएको छ ।
भदौ २३ को घटना हुँदा नेकपा एमालेका अहिलेका पुनर्निर्वाचित अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो भने नेपाली कांग्रेसका तर्फबाट एकजना सिनियर नेता गृहमन्त्री हुनुहुन्थ्यो । अब यो म्यासेज कसरी प्ले आउट हुन्छ ? सोसल मिडियाको युगमा त्यो न्यारेटिभ कसरी जान्छ ?
जेनजी पनि अर्को एउटा ठूलो कन्सिटुएन्सीको रूपमा आइरहेको छ । भनेपछि पुराना दलहरूलाई महत्वपूर्ण च्यालेन्ज छ । फेरि पारम्परिक पार्टीहरूको भोटै आउँदैन भन्ने होइन, तर नम्बर घट्ने सम्भावना बलियो देखिन्छ । उहाँहरूलाई केही हदसम्म धक्का लाग्ने पक्का छ ।
प्रतिक्रिया 4