१३ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएपछि मिश्रित प्रतिक्रिया सार्वजनिक भएका छन् ।
कतिपयले यसले नेपाल र नेपालीको भाग्य–भविष्यको रेखा कोर्ने बताएका छन् । कतिपयले राजनीतिक, आर्थिक र सामाजिक मुद्दा समाधान हुन्छ कि हुँदैन भन्ने प्रश्न कायमै रहेको बताएका छन् ।
हामीले रवि–बालेन सम्झौतालाई कसरी लिनु भएको छ भनी विभिन्न दलका नेता र जेनजी अगुवासँग प्रतिक्रिया लिएका छौं–
कांग्रेसले चुनौती ठानेर अगाडि बढ्नुपर्छ : प्रदीप पौडेल, कांग्रेस केन्द्रीय सदस्य

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल राष्ट्रिय राजनीतिमा दलहरु सशक्त भएर आउने कुरालाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् ।
‘राष्ट्रिय राजनीतिमा दलहरु शक्तिशाली हुने कुरालाई सकारात्मक रुपमा लिनुपर्छ । उहाँहरु आफ्नो सशक्ततालाई मिलेर आउनु भएको छ । राजनीतिको प्रतिस्पर्धामा सकारात्मक रुपमा नै लिनुपर्छ ।’
यसमा नीतिगत प्रष्टता भए अझ राम्रो हुने उनले बताए । साथै यसबाट नेपाली कांग्रेस जस्ता पुरानो र ठूलो पार्टीले चुनौति महसुस गरेर आफूलाई अगाडि बढाउनुपर्ने पौडेलको धारणा छ ।
‘नेपाली कांग्रेस जस्तो ठूलो र पुरानो पार्टीले चुनौति नै ठानेर त्यसअनुसार आफूलाई अगाडि लान सक्नुपर्छ,’ पौडेल भन्छन् ।
बालेनलाई जिताउने कि हराउने भनेर जनताले रोज्न पाए : ईश्वरी जीएम, एमाले

एमाले नेता ईश्वरी जीएमले रवि–बालेन सम्झौताबाट अरु राजनीतिक दलहरुलाई दबाब परेको बताइन् ।
चुनाव जितिसकेपछि संसदीय दलको नेता को हुने भनेर मारामार गर्नुभन्दा चुनाव अगाडि नै तोकेर जानुलाई सकारात्मक रुपमा लिनुपर्ने उनले बताइन् ।
यसबाट जनतालाई जिताउने कि हराउने भन्ने विकल्प रोज्न सजिलो हुने उनको बुझाइ छ ।
‘चुनाव अगाडि नै भावी प्रधानमन्त्री को हुने र दलको अध्यक्ष को हुने भनेर तोकेर जाने सहमतिले अरु पुराना दलहरुलाई प्रेसर पर्यो,’ उनले भनिन्, ‘भावी प्रधानमन्त्री बालेन भनिसकेपछि नरुचाउने जनताले उनलाई हराउन पनि सक्ने भए नि त । यस हिसाबले पहिले नै प्रधानमन्त्रीको उम्मेदवार तोक्नु सकारात्मक कुरा हो ।’
विकेन्द्रित हुनुभन्दा केन्द्रिकृत हुनु राम्रो : नेकपा युवा नेता सापकोटा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता माधव सापकोटा (सुवोध)ले धेरै दल र राजनीतिक शक्तिहरु विकेन्द्रित हुनुभन्दा एकीकृत हुनुलाई सकारात्मक रुपमा लिएको भन्दै यसले राजनीतिक स्थिरता आउने विश्वास व्यक्त गरे । ‘शक्ति विकेन्द्रित हुने र धेरै राजनीतिक दल भएर अस्थीरता आउनु भन्दा यसले अस्थीरतालाई कम गर्ला भन्ने बुझाइ छ मेरो प्रारम्भमा,’ सापकोटाले भने ।
जेनजीका भावना सम्बोधन गर्ने बचनका हिसाबले भने अरु राजनीतिक दलभन्दा रवि र बालेन फरक नदेखिएको उनले बताए ।
‘यस सम्झौतामा जेनजीहरु नै समावेश भएको भए जेनजीहरु समेतको भन्ने हुन्थ्यो, तर जेनजीका देखिएका फेसभ्यालु साथीहरु यसमा जोडिन सहमत हुनु भएन,’ सापकोटाको टिप्पणी छ, ‘यसरी हेर्दा बाँकी त सबै राजनीतिक दलहरुले जेनजीहरुका भावना सम्बोधन गर्छौं भन्नुभएको थियो, उहाँहरुले पनि भन्नुभयो । यस हिसाबले उस्तै दृष्टिकोण भयो ।’
यस सम्झौताले खास परिणाम दिँदैन : सन्तोष परियार, प्रलोपा
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का अध्यक्ष परिषदका सदस्य सन्तोष परियार उस्तै–उस्तै स्वभाव भएका रवि–बालेन एक ठाउँ आउनु स्वाभाविक भएको बताउँछन् ।
उनले रवि–बालेन एकतालाई ‘भेँडा–भेँडासँग र बाख्रा–बाख्रासँग’ भन्ने नेपाली उखानसँग मिल्दो भएको टिप्पणी गरे ।
रवि–बालेन एकताले देश र जनताको हित नहुने उनले बताए । पूर्वरास्वपा सांसद परियार भन्छन्, ‘उस्तै–उस्तै वैचारिकी भएका राजनीतिक पार्टीहरु, समूहहरु ध्रुवीकरण भएर सिंगो देश र जनताका मुद्दालाई प्राथमिकतामा राखेर हुने सहमति समझदारी एउटा कुरा भयो । तर निर्वाचनलाई मात्रै केन्द्रित गरेर कुनै मूल्य मान्यताविना जसरी पनि सत्ताका लागि एक ठाउँमा आउनुले देश र जनताको हित गर्छजस्तो मलाई लाग्दैन ।’
तर देशमा राजनीतिक ध्रुवीकरण भने जरुरी रहेको उनी बताउँछन् ।
आर्थिक र सामाजिक पाटोमा पनि ध्यान दिनुपर्छ : विकास रसाइली, जेनजी अगुवा
जेनजी एलायन्सका नेता विकास रसाइलीले रवि–बालेन मिलनलाई सकारात्मक रुपमा लिए पनि त्यसले राजनीतिक, आर्थिक, सामाजिक निकास पाउँछ कि पाउँदैन भन्ने प्रश्न मुख्य भएको बताए ।
२०६२-६३ जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आउँदाको उत्साह धेरै समय नटिकेर जनता फेरि निराश भएको उदाहरण दिँदै उनले भने, ‘यदि आर्थिक, सामाजिक, सांस्कृतिक विषयमा सोचिएन भने निराशा पैदा हुने र पुन: जेनजी आन्दोलनजस्तो अर्को आन्दोलन हुने सम्भावना रहन्छ ।’
उनले त्यसतर्फ ध्यान दिन नयाँ राजनीतिक शक्ति भनिनेहरुलाई सुझाव दिए । ‘नेपाली जनताको जनजीविकाको विषय के हो त भन्दा यहाँको आर्थिक पाटो हो, यहाँको सामाजिक, सांस्कृतिक पाटो हो, यो परिवर्तन नहुँदासम्म नेपाली जनताले सुख पाउनेवाला छैनन्,’ रसाइली भन्छन्, ‘त्यसैले अबको नयाँ भनिनेहरुले त्यतापटि सोच्नुपर्छ ।’
प्रतिक्रिया 4