+
+
Shares

रवि–बालेन सँगै देख्न चाहन्छन् समर्थक, कुलमान भन्छन्– सिद्धिएको केही छैन

‘अहिले एकता नहुँदैमा सिद्धिइहाल्यो भन्ने केही छैन । मिल्ने नै हो’ कुलमानले समर्थकलाई भने, ‘उहाँले सभापति र प्रधानमन्त्रीको सहमति गर्नुभएको छ, त्यसका लागि बधाई दिएर अगाडि बढौं, अरु विषयमा छलफल गर्दै गर्छौं ।’

अमृत सुवेदी अमृत सुवेदी
२०८२ पुष १३ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच सातबुँदे सहमति भएको छ।
  • उज्यालो नेपाल पार्टीका संरक्षक तथा मन्त्री कुलमान घिसिङले रवि र बालेनको सहमतिबाट अलग भएर पार्टीको संगठन विस्तार थालेका छन्।
  • कुलमानले नयाँ र वैकल्पिक शक्तिहरू मिल्नुपर्ने बताउँदै उज्यालो नेपाल पार्टीकै रूपमा चुनावमा जाने तयारी गरिरहेका छन्।

१३ पुस, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच भएको ७ बुँदे सहमतिले आइतबार बिहानैदेखि नेपाली राजनीतिमा हलचल ल्याइरहेका बेला उज्यालो नेपाल पार्टीका संरक्षक तथा सरकारका मन्त्री कुलमान घिसिङ पोखरामा संगठन बनाउँदै थिए ।

रवि र बालेनबीच लिखित सहमति हुनुपूर्व शनिबार करिब १० बजेसम्म कुलमान सँगै वार्तामा थिए । तर, त्यो बसाइले कुनै निष्कर्ष निकाल्न सकेन । त्यसपछि बसेका रवि र बालेनबीच सातबुँदे सहमति जुट्यो । आइतबार एकाबिहानै सो सहमति–पत्र सार्वजनिक भयो ।

नयाँ वैकल्पिक शक्ति निर्माणको लागि भनेर चलिरहेको वार्तामा सम्मानजनक भाग खोजेका कुलमान यो सहमतिबाट एकाएक छुटे । रवि–बालेनबीच सम्झौता भएको केही घण्टापछि कुलमान उज्यालो नेपाल पार्टीको संगठन विस्तारमा व्यस्त देखिए ।

आइतबार पोखरामा आयोजित कार्यक्रममा उनले उज्यालो नेपाल पार्टीलाई नै स्थापित गर्न समर्थकलाई आह्वान गर्दै थिए ।

देशभर संगठन विस्तारमा जुटेको उज्यालो नेपालको तनहुँ हुँदै आइतबार कास्कीमा भेला आयोजना गरिएको थियो । कुलमानले पोखराका युवा क्षीतिज बराललाई संयोजकको जिम्मेजारी दिए । यसअघि साझा विवेकशील पार्टीसँग जाडिएका बराललाई कास्की संयोजकको जिम्मेवारी सुम्पिएपछि कुलमानले नेपालका पार्टीहरूमा उज्यालो पार्टी राम्रो स्थितिमा रहने विश्वास व्यक्त गरे ।

मन्त्रीको गाडीमा हुइँकिँदै सरकारी विकास निर्माण आयोजनाको निरीक्षण गर्दै पोखरा आइपुगेका कुलमान पोखरामा उज्यालो नेपाल पार्टीको कास्की भेलाका प्रमुख अतिथि थिए ।

पोखरामा आइतबारबाटै सुरु भएको सडक महोत्सवको उद्घाटन गर्नुपूर्व सरकारका भौतिक पूर्वाधार, ऊर्जामन्त्री कुलमान कास्की भेलामा पुगेर सम्बोधन गरे । तर, उनी त्यतिधेरै उत्साही सुनिएनन् भने उनलाई सुन्न र उज्यालो पार्टीमा जोडिन चाहनेहरूको उपस्थिति पनि न्युन थियो ।

नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक भएर लोडसेडिङ अन्त्य गरेको जस पाएका कुलमान जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा प्रमुख मन्त्रालयहरू सहित जिम्मेवारी पाए ।

सरकारले २१ फागुनमा निर्वाचन घोषणा गरेपछि नेतृत्वमा बस्न नमिले पनि उनको संरक्षकत्वमा उज्यालो पार्टी खुल्यो र उनले अब जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बन्ने योजना निकटहरूसँग सुनाउने गरेका थिए ।

देशकै नेतृत्वका निम्ति रास्वपा, बालेन, हर्क साङ्पाङहरू एकै ठाउँ आउनुपर्ने आवाज उठेको थियो र पछिल्ला केही दिन रवि–बालेन–कुलमानको वार्ता चर्चाको केन्द्रमा थियो । नयाँ शक्तिहरू मिल्ने प्रयास गरिरहँदा पुराना शक्तिहरू पनि गठबन्धन गर्ने तयारी गरिरहेका थिए र कुलमानलाई अबको प्रधानमन्त्रीका रूपमा देख्न चाहनेहरू पछिल्ला वार्ताबाट उत्साहितसमेत थिए । तर, आइतबार बिहान रवि–बालेनको सहमतिमा कुलमान छुटेका छन् र कास्की भेलामा पुगेका केहीले कुलमान पनि उनीहरूसँगै मिल्नुपर्ने चाहना राखे ।

‘रवि–बालेनसँग कुलमान पनि मिल्नैपर्ने थियो । मुख्यगरी तीन जना नमिली पुराना शक्तिहरूसँग लड्न सकिँदैन । अझै पनि सकिन्छ भने रवि–बालेनसँग मिलिदिए हुन्थ्यो । उहाँहरू मिल्दा नै तल्लो तहबाट नागरिकको अझै आकर्षण बढ्छ,’ उनको भेलामा आएका एक समर्थकले भने, ‘तर, उहाँले सहमति गर्नुभएनछ । एक्लाएक्लै लड्नुभन्दा मिलेरै लडेको राम्रो हुन्थ्यो ।’

अबको प्रधानमन्त्री र पार्टीमा सम्मानजक भाग खोजेका कुलमानले फेरि पनि नयाँ र वैकिल्पक शक्तिहरू मिल्नुको विकल्प नभएको बताए । जेनजी आन्दोलनपछिको परिस्थितिमा उज्यालो पार्टीमा पनि नयाँ नयाँ मानिस राजनीतिमा जोडिएका छन् भने कतिपय पुराना र वैकल्पिक शक्तिबाट पनि भविष्य खोन्दै जोडिएका छन् ।

उनीहरूले रवि–बालेनसँगै मिल्दा छिटो अवसर पाइने र पार्टीको शक्ति पनि बढ्ने देखेका थिए । पार्टी र देशको मूल एजेन्डा, शासकीय स्वरुप र विकासको मोडलमा होइन, शक्ति बाँडफाँडमा तीन नेताको कुरा नमिलेको तल्लो तहका समर्थकले पनि बुझेका छन् ।

‘तीन नेताका बीच खासगरी शासकीय स्वरुप, जेनजी आन्दोलनपछि अब देशले उठाउने एजेन्डा र विकासका मोडलका विषयमा मन्थन गरेर निष्कर्षमा गएको भए अझ अर्थपूर्ण हुने थियो तर शक्ति बाँडफाँटमा नमिलेको देखियो,’ कुलमानका समर्थक भन्छन्, ‘सम्मानजक उपस्थिति त चाहियो तर देशको हित हुन्छ भने कतिपय अवस्थामा कम्परमाइज पनि गर्नुपर्छ ।’

पार्टीको नाम, चुनाव चिह्न पनि रास्वपाकै र नेतृत्व तथा प्रधानमन्त्री पनि उनीहरूले नै भनेको हुने अडानपछि वार्ता नमिलेको कुलमानले बताएका छन् र सार्वजनिक मञ्चहरूबाटै सहअस्तित्वको सम्मानजनक व्यवहार हुनुपर्ने बताउँदै आइरहेका छन् । त्यही कुरा कुलमानले रवि–बालेन सहमति सार्वजनिक भएपछि पोखराबाट पनि अभिव्यक्त गरे ।

‘सम्मानजनक उपस्थिति, आत्मसम्मान र जुन स्वाभिमान छ, त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ । सहकार्य गरेरै अगाडि बढ्ने हो,’ उनले भने, ‘यसतर्फ धेरै कुराहरू भइरहेको छ र आगामी दिनमा त्यसको रिजल्ट पनि आउने म विश्वास व्यक्त गर्न चाहान्छु ।’

रवि–बालेनसँग सहमति नभए पनि कुलमानले अन्य शक्तिसँग एकता र सहकार्य गर्ने आश्वासन समर्थकलाई दिएका छन् । कुलमानले वैकल्पिक शक्तिहरू मिल्नका लागि आह्वान गरेका छन् भने समर्थकले हर्क साम्पाङसँग एकता गर्नसमेत सुझाव दिएका छन् । तर, साम्पाङले कसैसँग एकता नगर्ने घोषणा गरेका छन् ।

अझै पनि लचिलो भएर एकता गरेर जान कुलमानलाई गण्डकीका समर्थकहरूले सुझाव दिइरहेका छन् । कुलमानले पनि नयाँ र वैकल्पिक शक्ति मिल्ने कुरामा दुई मत नभएको र रवि–बालेनको सहमतिले सबै सिद्धिइहाल्यो भनेर सोच्न नहुने बताएका छन् ।

मान्छेले बत्ती बाल्नेबित्तिकै उज्यालो पार्टी सम्झिइहाल्ने बताउँदै कुलमानले कसैले चिनाइरहनु नपर्ने हरेक घरघरमा पुगिसकेको जिकिर गरे । ‘हामीले धेरै वर्षदेखि उज्यालो नेपाल अभियान भनेर चलाइराखेको हो । देशविदेशमा उज्यालो नेपाल अभियान भनेर छलफल चलाइरहेका थियौं । छोटो समयमा यो पार्टीका रूपमा परिणत भएको छ,’ कुलमानले समर्थकलाई भने, ‘देशैभरि संगठनको रुप लिएर अगाडि बढिरहेको छ । मानिसहरूको रेस्पोन्स बढिरहेको छ, तर हामी पुग्न सकिरहेका छैनौं ।’

कुलमानले अब उज्यालो नेपाल पार्टीकै रूपमा चुनावमा जाने र त्यसको तयारीमा लाग्न समर्थकलाई आग्रह गरेका थिए ।

रवि–बालेन एकताले समर्थकले यो पहिलो शक्ति बन्ने दाबी गरिहँदा कुलमानलाई पनि दबाब बढेको छ । केही लचिलो भएरै भए पनि नयाँ र वैकल्पिक शक्तिलाई एक ठाउँमा ल्याउने गरी भूमिका खेल्न समर्थकले सुझाव दिइरहेका छन् । तर, कुलमानले अहिलेलाई उनीहरूलाई बधाई दिएर अगाडि बढ्नपर्ने धारणा राखे ।

‘नयाँ शक्तिहरू मिल्नुपर्छ भन्ने मेरो चाहना हो, उहाँहरू मिल्नुभाछ, स्वागतै गर्नुपर्छ । सबै मिलेरै जाने हो, एक ठाउँमै आउने हो,’ कुलमानले अनलाइनखबरसँग भने, ‘सबै कुरा सम्मानजक हिसाबले नै हुनुपर्छ भन्ने हो । उहाँहरूसँग छलफल भएकै हो, अझै पनि हुन्छ ।’

एकताका लागि अहिले नै सबै कुरा सिद्धिइहाल्यो भन्न नहुने उनको भनाइ थियो । ‘अहिले एकता नहुँदैमा सिद्धिइहाल्यो भन्ने केही छैन । मिल्ने नै हो,’ कुलमानले समर्थकलाई भने ।

कुलमानलाई एकपटक प्रधानमन्त्री बन्ने महत्वकांक्षा छ । रास्वपा र बालेनसहितको छलफलमासमेत उनले प्रधानमन्त्रीको कुरा राखेका थिए । भन्छन्, ‘उहाँले सभापति र प्रधानमन्त्रीको सहमति गर्नुभएको छ, त्यसका लागि बधाई दिएर अगाडि बढौं, अरु विषयमा छलफल गर्दै गर्छौं ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?