News Summary
Generated by OK AI. Editorially reviewed.- एभरेस्ट एलायन्स नेपालले 'हिमालयन इनोभेसन फर अ सस्टेनेबल फ्युचर' मूल नारासहित एभरेस्ट समिटियर्स समिट २०२६ आयोजना गर्ने घोषणा गरेको छ।
- समिट २०२६ को मे २७ मा काठमाडौंमा अन्तर्राष्ट्रिय सगरमाथा दिवसका दिन आयोजना हुनेछ र विश्वभरका आरोही, नीति–निर्माता, संरक्षण अभियन्ता सहभागी हुनेछन्।
- समिटमा आरोही सुरक्षा, जलवायु परिवर्तन, हिमनदी पग्लिने समस्या, फोहोर व्यवस्थापन र दिगो हिमाली पर्यटन विषयमा छलफल गरिनेछ र दर्ता प्रक्रिया खुला गरिएको छ।
१३ पुस, काठमाडौं । एभरेस्ट एलायन्स नेपालले ‘हिमालयन इनोभेसन फर अ सस्टेनेबल फ्युचर’ भन्ने मूल नारासहित एभरेस्ट समिटियर्स समिट २०२६ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ।
समिट कार्यक्रम अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर मे २७ तारिखमा काठमाडौंमा आयोजना हुनेछ। सगरमाथा दिवस मे २९ मा मनाइन्छ ।
तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीद्वारा गरिएको सगरमाथाको पहिलो ऐतिहासिक आरोहणको स्मरणमा आयोजना हुने यस समिटमा नेपाल तथा विश्वभरका सगरमाथा आरोही, नीति–निर्माता, पर्वतारोहण संस्था, संरक्षण अभियन्ता, पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहनेछ।
समिटमा पर्वतारोहणको इतिहास, आरोही सुरक्षा, जलवायु परिवर्तन, हिमनदी पग्लिने समस्या, फोहोर व्यवस्थापन, दिगो हिमाली पर्यटन तथा नीतिगत सुधारका विषयमा छलफल गरिने आयोजकले जनाएको छ।
यसअघि सन् २०२५ मा सम्पन्न पहिलो संस्करणको एभरेस्ट समिटियर्स समिट २०२५ ले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको थियो। उक्त सफलताका आधारमा दोस्रो संस्करणलाई अझ प्रभावकारी र दूरदर्शी बनाइने एभरेस्ट एलायन्स नेपालको भनाइ छ ।
एभरेस्ट एलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले पहिलो संस्करणको सफल आयोजनापछि यसलाई दोस्रो संस्करणमा अझ भव्यताका साथ आयोजना गरिने बताए । ‘पहिलो संस्करण हाम्रो लागि पनि नौलो थियो । त्यो सफल रुपमा आयोजना भएपछि हामीलाई पनि अझ राम्रो गर्नुपर्छ भन्ने लाग्यो ।’ नेपालले भने, ‘त्यसैले यस पटक हामी चाँडै नै यसको घोषणा गरेर सगरमाथा आरोहीहरुका लागि रजिस्ट्रेसन खुल्ला गरेका छौँ ।’
नेपालले पहिलो संस्करणमा करिब २०० आरोही सहभागि भएको र दोस्रो संस्करणमा कम्तीमा पनि ५०० आरोही सहभागि हुने जानकारी दिए । यस्तै सगरमाथा आरोहीका लागि नाम दर्ता नि:शूल्क रहेको र अन्य आरोहीहरुका लागि पनि निश्चित मूल्य तय गरिने जानकारी दिए ।
एकदिने यस समिटमा मुख्य वक्तव्य, विशेषज्ञ प्यानल छलफल तथा नीतिगत संवादहरू समावेश हुनेछन्। समिटमार्फत सगरमाथालाई साझा विश्व सम्पदा मान्दै यसको संरक्षणका लागि सामूहिक पहल आवश्यक रहेको सन्देश प्रवाह गरिनेछ।
एभरेस्ट एलायन्स नेपालले सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था, प्रायोजक, पर्वतारोहण महासंघ, शैक्षिक संस्था तथा सञ्चार माध्यमलाई समिट सफल बनाउन सहकार्यका लागि आह्वान गरेको छ।
साथै, समिटमा सहभागी हुन इच्छुक सगरमाथा आरोही तथा अन्य सरोकारवालाहरूका लागि दर्ता प्रक्रिया खुला गरिएको जानकारी पनि दिएको छ।
प्रतिक्रिया 4