+
+
Shares

अमेरिकी सीईओको वाहवाही : कम्पनी बेचेर कर्मचारीलाई बाँडे ३४ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १६:३९
सांकेतिक तस्वीर ।
Listen News
0:00
0:30
🔊

अमेरिकाको लुसियाना राज्यमा रहेको एक कम्पनीमा मालिकले उक्त कम्पनी बिक्री गरेर आफ्ना कर्मचारीहरूलाई ३४ अर्ब रुपैयाँ नगद बोनस बाँडेका छन् ।

लुसियानास्थित पारिवारिक व्यवसाय फाइबरबन्डका सीईओ ग्राहम वाकरले गरेको त्यस्तो निर्णयले विश्वव्यापी रुपमा चर्चा कमाएको छ ।

उनले कम्पनी बिक्रीबाट प्राप्त रकमको १५ प्रतिशत हिस्सा आफ्ना त्यहाँका  ५ सय ४० जना पूरा समय काम गर्ने कर्मचारीहरूलाई बाँडेका हुन् ।

उनले कर्मचारीहरूलाई कूल २४ करोड अमेरिकी डलर अर्थात् ३४ अर्ब रुपैयाँ भन्दा धेरै रकम नगद बाँडेका हुन् ।

फाइबरबन्डलाई अमेरिकी बहुराष्ट्रिय कम्पनी एटोनले १ अर्ब ४० करोड डलरमा खरिद गरेको हो । तर सम्झौताअघि नै सीईओ ग्राहम वाकरले एउटा स्पष्ट सर्त राखेका थिए कि कम्पनी बिक्रीबाट प्राप्त रकमको निश्चत हिस्सा कर्मचारीहरूलाई दिनैपर्छ ।

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार, कम्पनीले विगतमा कठिन समय पार गर्दा कर्मचारीहरूले देखाएको निष्ठा र समर्पणको सम्मानस्वरूप वाकरले त्यस्तो निर्णय गरेका हुन् ।

वास्तवमा ती कर्मचारीहरूसँग कम्पनीको कुनै पनि शेयर स्वामित्व नभएतापनि उनीहरूको काम र त्यागबाट प्रभावित भएर वाकरले करोडौँ डलर रकम बाँड्ने निधो गरेका थिए ।

औसत ४ लाख डलर बोनस, पाँच वर्षमा भुक्तानी

कम्पनीका मालिकले आफूलाई दिने भनेको बोनस रकम सुन्दा कर्मचारीहरू नै अचम्मित भए। औसतमा प्रत्येक कर्मचारीले करिब ४ लाख ४३ हजार अमेरिकी डलर अर्थात ६ करोड रुपैयाँ भन्दा धेरै रकम  पाउने भएका छन् । यो रकम एकमुष्ट भने होइन । उनीहरूलाई पाँच वर्षसम्म चरणबद्ध रूपमा दिइनेछ जसका लागि कर्मचारी कम्पनीमै कार्यरत रहनुपर्ने सर्त राखिएको छ । यो रकमको  भुक्तानी गत जुन महिनादेखि सुरु भइसकेको छ ।

सुरुमा धेरै कर्मचारीहरूले त्यति ठूलो रकम बोनस पाउने कुरा पत्याउनै सकेनन् । कसैले त यसलाई मजाक ठाने भने कतिले आँसु झारे । केही कर्मचारीले त बोनस पाएलगत्तै पहिलो किस्ता खर्च गरिसकेको वाकर बताउँछन् । उनले भनेका छा्, ‘अन्तत: यो उनीहरूको पैसा हो र त्यसलाई कसरी प्रयोग गर्ने भन्ने निर्णय पनि उनीहरूको नै हो ।’

जीवन बदल्ने बोनस

यो निर्णयले धेरै कर्मचारीहरूको जीवन नै बदलिदिएको छ । सन् १९९५ देखि कम्पनीमा काम गरिरहेकी एक महिला कर्मचारी जसले सुरुमा प्रतिघण्टा ५.३५ डलर तलब पाउँथिन्, उनले उक्त बोनसबाट आफ्नो घरको ऋण चुक्ता गरिन् र बुटिक पसल सुरु गरिन् । आफ्नो जीवन पहिले तलबदेखि तलबसम्म मात्र सीमित रहेकोमा अहिले अवस्था पूर्ण रूपमा बदलिएको उनको भनाइ छ ।

अन्य कर्मचारीहरूमध्ये कतिले बोनस रकमबाट ऋण तिरेका छन् भने कतिले कार किने । त्यसैगरी कतिले सन्तानको कलेज शुल्क तिरे भने कतिले अवकाश कोष मजबुत बनाए अनि कतिपयले चाहीँ परिवारसँग घुम्ने योजना बनाए ।

‘संघर्ष, आगलागी र पुनरुत्थानको कथा

फाइबरबन्डको इतिहास संघर्ष र पुनरुत्थानको उदाहरण हो। कम्पनीको स्थापना सन् १९८२ मा ग्राहमका पिता क्लड वाकरले गरेका थिए। सन् १९९८ मा कारखानामा आगलागी भयो । तर त्यस कठिन अवस्थामा पनि कर्मचारीको तलब रोकिएन। डटकम बबलको समयमा कम्पनीमा कर्मचारी कटौती भएतापनि ग्राहम र उनका भाइले कम्पनी सम्हाल्दै ऋण तिरे र नयाँ शाखा सुरु गरे । जसले गर्दा कम्पनीको व्यवसायमा  ४०० प्रतिशतसम्म वृद्धि गरायो ।

त्यस्तो कठिन अवस्थाबाट गुज्रिएको कम्पनीलाई १ अर्ब ४० करोड डलरसम्म पूर्याउनका लागि दिलोज्यान दिने कर्मचारीहरूको सम्मानमा करोडौं रकम बोनस बाँड्ने ग्राहम वाकरको त्यो कदमको विश्वभर सामाजिक सञ्जालमा प्रसंशा भइरहेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?