+
+
Shares

अनुदानको मल वितरणमा डिजिटल प्रणाली, किसानले घरबाटै विवरण हेर्न सक्ने

यस प्रणाली मार्फत अब मल आयात, वर्तमान मौज्दात (स्टक) र बिक्री-वितरणको अद्यावधिक विवरण जुनसुकै समयमा हेर्न सकिने व्यवस्था गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको रासायनिक मल वितरण प्रक्रिया पारदर्शी बनाउन 'अनुदानको मल वितरण सूचना प्रणाली' सञ्चालनमा ल्याएको छ।
  • यो प्रणालीले मल आयात, मौज्दात र बिक्री-वितरणको अद्यावधिक विवरण सर्वसाधारणले अनलाइन हेर्न सक्ने व्यवस्था गरेको छ।
  • मन्त्रालयले मल विक्रेता सहकारी र फर्महरूले विवरण नियमित प्रविष्ट गर्नुपर्ने र किसानलाई डिजिटल सुविधाको उपयोग गर्न आह्वान गरेको छ।

 १४ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको रासायनिक मल वितरण प्रक्रिया थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘अनुदानको मल वितरण सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले मल खरिद तथा बिक्री-वितरण कार्यमा हुने अनियमितता रोक्न र किसानको पहुँच सहज बनाउन यो डिजिटल प्रणाली कार्यान्वयनमा ल्याइएको  जानकारी दिएको छ ।

यस प्रणाली मार्फत अब मल आयात, वर्तमान मौज्दात (स्टक) र बिक्री-वितरणको अद्यावधिक विवरण जुनसुकै समयमा हेर्न सकिने व्यवस्था गरिएको छ ।

विशेषगरी बजारमा मल वितरण गर्दा विक्रेताले गर्ने पक्षपात, तोकिएको भन्दा बढी मूल्य लिने र अनधिकृत व्यक्ति वा संस्थालाई मल बेच्नेजस्ता गुनासा सम्बोधन गर्न यो प्रणाली प्रभावकारी हुने मन्त्रालयको विश्वास छ ।

यस प्रणालीको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको कुनै पनि सहकारी वा फर्मले पाएको कोटाको मल कुन-कुन किसानलाई कति परिमाणमा बिक्री गरियो भन्ने विस्तृत विवरण अब सर्वसाधारणले प्रत्यक्ष हेर्न पाउनेछन् ।

सर्वसाधारण तथा किसानले मन्त्रालयको आधिकारिक वेबसाइट http://www.moald.gov.np वा सिधै http://fms.moald.gov.np मा गएर विवरण हेर्न सक्नेछन् । वेबसाइटको ‘हाम्रो सेवाहरू’ भित्र रहेको ‘अनुदानको मल वितरण सूचना प्रणाली’ मा क्लिक गरी आफ्नो स्थानीय तह छनोट गरेपछि उक्त क्षेत्रको मलको स्टक र बिक्री विवरण खुल्ने छ ।

मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार मल विक्रेता सहकारी र फर्महरूले मलको स्टक र बिक्रीसम्बन्धी विवरण अनिवार्य र नियमित यस प्रणालीमा प्रविष्ट गर्नुपर्ने छ ।

विक्रेताले विवरण प्रविष्ट गरेपछि मात्र प्रणालीमा देखिने भएकाले यस कार्यमा जिम्मेवार हुन मन्त्रालयले सचेत गराएको छ ।

साथै, मन्त्रालयले किसानलाई पनि यस डिजिटल सुविधाको भरपुर उपयोग गर्न र मल वितरण कार्य पारदर्शी बनाउने सरकारको प्रयासमा सहयोग गर्न आह्वान गरेको छ ।

यो व्यवस्थाले मल वितरणमा हुने कालोबजारी र पहुँचवालाको दबदबा अन्त्य भई वास्तविक किसानले समयमै मल पाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?