+
+
Shares

श्रममन्त्री भण्डारी र महासंघ अध्यक्ष ढकालबीच भेट, के भयो कुराकानी ?

महासंघ अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोषमा योगदानको ठूलो रकम संकलन भए पनि त्यो उत्पादनमूलक क्षेत्रमा परिचालन हुन नसकेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई स्थानीय स्तरमा सरल र सहज ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।
  • ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा रकमलाई उद्योग, कृषि, ऊर्जा र पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए।
  • श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले निजी क्षेत्रसँग सहकार्य गर्दै श्रमिक हित र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर नीति सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।

१४ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई स्थानीय स्तरमा नै सरल र सहज ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग सोमबार श्रम मन्त्रालयमा भेटवार्ता गर्दै अध्यक्ष ढकालले नेपालको श्रम बजारको वर्तमान अवस्था, निजी क्षेत्रका चुनौती र श्रमिक हितसँग सम्बन्धित विभिन्न विषयमा महासंघका तर्फबाट ध्यानाकर्षण गराए ।

वैदेशिक रोजगारीमा जान चाहनेलाई ३६ प्रतिशतसम्म महँगो ब्याज तिर्नपर्ने बाध्यता रहेको औँल्याउँदै अध्यक्ष ढकालले बैंक, वित्तीय संस्था, मनी ट्रान्स्फर, सामाजिक सुरक्षा कोष, इन्स्योरेन्स जस्ता वित्तीय संस्थाबाट समन्वय गरी स्थानीय स्तरमा नै ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

उनले सामाजिक सुरक्षा कोषमा योगदानको ठूलो रकम संकलन भए पनि त्यो उत्पादनमूलक क्षेत्रमा परिचालन हुन नसकेको भन्दै उक्त कोषलाई उद्योग, कृषि, पर्यटन लगायत क्षेत्रसँग जोडेर लगानी गर्नुपर्ने बताए ।

‘सामाजिक सुरक्षा कोषमा श्रमिकको योगदानको ठूलो रकम जम्मा भएको छ, यो रकम उद्योग, कृषि, ऊर्जा र पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्न सके देशमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने छ,’ ढकालले भने ।

महासंघले आन्तरिक तथा वैदेशिक दुवै बजारका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिएको उल्लेख गर्दै अध्यक्ष ढकालले उद्योगको आवश्यकता अनुसार सिपयुक्त जनशक्ति तयार गर्न सके श्रमिकको सुरक्षा, राम्रो आम्दानी र देशको आर्थिक उन्नति एकैसाथ सम्भव हुने धारणा राखे ।

उनले औद्योगिक करिडोरहरूमा बन्द र हडतालका कारण उद्योगमा जोखिम बढेको भन्दै उद्योगको सुरक्षाका लागि विशेष औद्योगिक सुरक्षाबल आवश्यक रहेको बताए ।

सोही अवसरमा वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष भुवनसिंह गुरुङले सबैभन्दा बढी नेपाली श्रमिक जाने विभिन्न देशमा कामदार पठाए बापत वैदेशिक रोजगार व्यवसायीले लिन पाउने काम अन्य देशका व्यवसायीले पाउनेभन्दा अत्यन्त न्यून रहेकाले सरकारले तोकेको सेवा शुल्कमा कामदार पठाउन नसकिरहेको उल्लेख गर्दै श्रमिक अन्यत्रबाट झन् ठगिने भएकाले नठगिने गरी त्यसको उचित समाधानमा ध्यान दिनुपर्नेमा जोड दिए ।

भेटमा श्रममन्त्री भण्डारीले महासंघ तथा वैदेशिक रोजगार व्यवसायी संघले उठाएका विषयलाई सकारात्मक रहेको उल्लेख गर्दै मन्त्रालयले नीति सुधार, सहजीकरण तथा कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले निजी क्षेत्रसँग सहकार्य गर्दै श्रमिक हित, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर सरकारले उचित निर्णय गर्नेसमेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?