१६ पुस, काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई नजिकबाट साथ सहयोग गर्नेहरू थिए- तत्कालीन रास्वपा, काठमाडौं महानगरका मेयर बालेन शाह, उज्यालो नेपाल अभियानका कुलमान घसिङ ।
आन्दोलन सफल भएपछि जेनजीकै प्रतिनिधिको रुपमा कुलमान अन्तरिम सरकारका मन्त्री बने । बालेन शाह सरकारका अघोषित सल्लाहकारको रुपमा प्रकट भए । यता रास्वापले जेनजी आन्दोलनलाई सम्पूर्ण रुपमा स्वीकार्दै त्यसको उपलब्धिका रक्षा गर्नुपर्ने पक्षमा उभियो ।
त्यसैले जेनजीहरूले आफ्नो निकट र निकट संगठित शक्तिको रुपमा यी तीन समूहलाई माने । यी तीनवटा समूहलाई मिल्नका लागि पनि जेनजीहरूले पनि दाबाब दिएका थिए ।
नयाँ शक्तिहरू मिल्नुपर्ने दबाबकाबीच रास्वपा, कुलमान र बालेन तीनपक्ष मिल्यो । पार्टी एकता गर्ने क्रम चलिरहँदा सबैले जेनजीका नामहरू पनि समानुपातिक सूचीमा पठाउनका लागि सिफारिस मागेका थिए ।
त्यही अनुसार जेनजीको समूहले नाम पनि पठाएका थिए । अहिले तीनवटा पक्षबाट तयार भएर बनेको भनिएको रास्वपाको समानुपातिक सूचीमा खास जेनजी आन्दोलनको फ्रन्टमा देखिएका व्यक्तिहरू समावेश भएनन् । आन्दोलनको फ्रन्टमा रहेका भन्दा अन्य व्यक्तिहरू परेपछि केही जेनजीहरू रुष्ट छन् ।
रास्वपाका समानूपातिक सूचीमा अधिकांश व्यक्ति ‘एलिट’ कै कब्जामा परेको भन्दै आलोचना भइरहेको छ ।
सबैले ‘हुँदा खाने’को प्रतिनिधित्व बढाउने भन्दा पनि ‘हुने खाने’कै हालीमुहाली समानुपातिकको नाममा गराएको आरोप लागेको छ ।
‘हामीसँग पटकपटक छलफल गरेको पक्षले समानुपातिक सूचीको लागि जेनजीका नाम माग्यो,’ जेनजी फ्रन्टका एक नेताले अनलाइनखबरसँग भने, ‘तर, हामीले पठाइएको नाम अन्तिम समयमा उक्त सूचीबाटै काटियो । बरु त्यसमा सेलिब्रेटीहरू र हुनेखानेहरूकै वर्चश्व देख्दा दु:ख लागेको छ ।’
स्रोतका अनुसार जेनजी फ्रन्टले रामजी राम, खुस्बु कुमारी शारफ, कामना पौडेल, बिनिता बोगटी, सुरेन्द्र बजगाई, हरिष भट्ट, ऋषि थापा, जमल अलि, जनक पोखरेल, विवेक शर्मा, प्रेम पोखरेल र जेनजी मुभमेन्ट अलायन्सकी साङ्केन राई लगायतको नाम पठाइएको थियो । यसमध्ये रामजी रामको नाम मात्र पर्यो । रामजी रामले पनि निर्वाचित मान्छे हटाएर आफूलाई राखेकोमा आपत्ति जनाएका छन् ।
जेनजी फ्रन्टबाट मात्र करिब १२ जनाको नाम बालेन तर्फबाट समानूपातिक सूचीमा राख्न भन्दै पठाइएको थियो । सबैजना त्यसमा अट्न सम्भव नरहे पनि केही नाम पक्कै पर्नेमा जेनजी विश्वस्त थिए ।
तर, अन्तिम समयमा आफूहरूले पठाएको सूचीबाट रामजी राम बाहेक अन्य नराख्दा जेनजीहरू भित्रभित्रै असन्तुष्ट छन् । त्यत्रो जेनजी आन्दोलनमै टेकेर राजनीति गर्न खोज्नेले जेनजीका नामलाई स्थान नै नदिई गम्भीर लापरबाही गरेको उनीहरूको तर्क छ ।
‘जेनजीमात्र हैन । समानुपातिक सूचीमा कस्ता नाम आए त्यो पनि हेरौँ न । हाम्रो आन्दोलन यही नेपो ट्रेण्ड विरुद्ध थियो । तर, नयाँ र विकल्प भन्दै आएकाले पनि यस्तो गर्नु ठिक भएन,’ ती नेताले भने, ‘यद्यपि, हामी यी नामहरू सच्याउन उहाँहरूलाई आन्तरिक रुपमा दबाब दिईरहेका छौँ । नयाँ भन्दैमा प्रश्न गर्न छाडिन्न ।’
समानूपातिक सूचीका लागि भनेर जेनजीका तर्फबाट पठाइएको नामहरू बालेन पक्षले पूर्णत: बेवास्ता गर्नु ठीक नभएको बिनिता बोगटी बताउँछिन् । हिजो यत्रो आन्दोलनपछि बनेको जेनजीका विभिन्न संगठनहरूले पठाएका नामहरू कोही पनि समानूपातिकमा नअट्नु दु:खको विषय भएको टिप्पणी उनको छ ।
‘जेनजी फ्रन्टको नाम लिएर हिँड्यौँ । तर, आज जेनजी फ्रन्ट, काउन्सिल लगायत साथीहरूले सिफारिसमा कोही पनि नपर्नु दुःखद विषय बनेको छ,’ बिनिताले भनिन्, ‘त्यसमाथि महिलाको प्रतिनिधित्व नै नहुनु झनै पीडादायी छ ।’
सामाजिक सञ्जालमा पनि यसबारे विरोध जनाउँदै लेखेकी बोगटीले ‘नेपो किड्स’को पुरानै प्रवृत्ति दोहोरिएको बताएकी छन् ।
‘अहिले नेपो किड्सका अधिकांश नाम सूचीमा छन् । तर, हिजो ओलीविरुद्ध चर्को स्वरमा बोल्ने साथीहरू आज संसदमा बालेन र रविज्यू नपुग्दै बोल्न डराएको देख्दा गम्भीर प्रश्न उठ्छ,’ उनले लेखेकी छन् ।
यस्तो अवस्थामा आफ्नो प्रतिनिधित्वको लागि पछाडि हट्नु नहुने विनिता बताउँछिन् । बरु अझ स्पष्ट बुझाई र दृढ अडान आवश्यक रहेको छ । उनका अनुसार रास्वपाको समानुपातिक सूचीले देशको सुदूरपश्चिममाथि पनि अन्याय गरेको छ ।
‘ब्रान्ड नहुन सक्छ, तर जुम्लाको सिमी, हुम्लाको स्याउ र दैलेखको सुन्तला चिनाइरहेका मेहनती किसान र उनका सन्तानहरू समानुपातिकका लागि पूर्ण रूपमा योग्य थिए,’ कर्णाली प्रदेशस्थित वीरेन्द्रनगरबाट प्रतिनिधित्व गर्ने उनले भनिन्, ‘हामी प्रत्यक्ष निर्वाचनमा ठूला दलहरूसँग भिड्न पनि तयार छौँ । तर, यस्ता खराब प्रवृत्ति र अन्याय विरुद्ध बोल्न कर्णालीका मान्छेले कहिल्यै छोड्ने छैनन् ।’

जेनजीका तर्फबाट समानुपातिक उम्मेदवारको लागि नाम पठाइएकी कामना पौडेल पनि आफूहरू माथि बेवास्ता भएको बताउँछिन् । जबकी आफूहरूले पठाएको नाम समानुपातिकको मर्म विपरीत पनि नरहेको उनले बताइन् ।
‘हामीले पठाएको लिस्ट समावेशी नै थियो । कर्णालीबाट बिनिता, सुदूरपश्चिमबाट म आफैँ भएँ, मधेशबाट खुस्बु सारफ, जनजातीबाट साङ्केन राई लगायतका साथी थियौँ,’ पौडेलले भनिन्, ‘तर, अन्तिममा यी सबै नाम काटिएको थाहा पाउँदा आश्चर्यमा छु ।’
उनका अनुसार जेनजीका तर्फबाट गएको नाममा गाउँसमाज बुझेका व्यक्तिहरू थिए । अर्कोतर्फ, भोलिको दिनमा सदनमा जेनजी आन्दोलनको मर्म सम्झाउँदै ‘त्यो आन्दोलन किन भयो, के थियो मुद्धा ?’ भनेर बोल्ने मान्छे र झक्झकाउन केही प्रतिनिधि चाहिन्छ भन्दै सूची माग गरिएको थियो ।
तर, एकाएक समानुपातिकमा सेलिब्रटीमात्र देख्दा र आफूहरू सबैको नाम काटिएको थाहा पाउँदा दु:ख लागेको पौडेलले बताइन् । ‘हिजो जेनजी आन्दोलनमा बालेन शाह खुब खोजियो । तर, अहिले उहाँहरू आफैँले जेनजीको भावना विपरीत सूची बनाउनुभयो । हाम्रै आन्दोलनको जगमा शक्तिशाली दल बनाइरहँदा आफूहरूलाई नै बेवास्ता गरिनु एकदमै दु:खको कुरो हो,’ उनले भनिन् ।
जेनजीका तर्फबाट पठाइएको अर्को नाम हो, साङ्केन राई । स्रोतका अनुसार उनी जेनजी मुभमेन्ट अलायन्समा रहेपनि आन्दोलनको अग्रमोर्चामा खटिएको भन्दै जेनजी अगुवाहरूले आफ्नो तर्फबाट पठाइएको सूचीमा उनको नाम पनि राखेका थिए ।
यद्यपि, साङ्केन आफ्नो नाम समानूपातिक सूचीमा नपरेकोमा भन्दा पनि रास्वपाका सूचीमा कस्ता नाम आए भन्नेले धेरै दु:खी बनेको बताउँछिन् ।
‘रक्षाजी लगायतका साथीहरूले मेरो नाम मलाई नसोधी सुरुमा पठाउनुभएछ । त्यसपछि मात्र नाम पठाएको खबर गर्नुभयो । यद्यपि, रास्वपा वा कुनै दलमा जोडिने मेरो इच्छा पनि थिएन र छैन,’ साङ्केनले भनिन्, ‘तर, यहाँ मुख्य प्रश्न मेरो नाम पर्यो वा परेन भन्ने हैन । प्रश्न– समानूपातिक सूचीमा कस्ता मान्छे छिराइए भन्ने हो । यो आन्दोलनमाथि धोका हो ।’
यसले रास्वपासँगै त्यसभित्र बालेन पक्षको पनि नाम छनोट गर्ने प्रवृत्ति एकदमै समस्याग्रस्त रहेको देखाएको टिप्पणी उनले गरिन् ।
उनका अनुसार राजनीतिक आन्दोलन यसरी हुँदैन । सही राजनीतिमा सबैको समावेशीता खोजिन्छ, हेरिन्छ । तर, पछिल्ला समानूपानिक सूची हेर्दा यहाँ वैकल्पिक शक्तिको नाममा ‘असमानतालाई निरन्तरता दिने नयाँ संरचना’ मात्र बनाइएको छ ।
‘समानुपातिकमा जस्तो मान्छे राख्नुहुन्छ, त्यस्तै कानुन बन्ने हो । काठमाडौं बस्ने धनाढ्यले कसरी कर्णाली र सुदूरपश्चिमको आवाज बोक्छ ? कस्तो कानुन बनाउला ?,’ रास्वपालाई प्रश्न गर्दै साङ्केन भन्छिन्, ‘म आफैँ संखुवासभाको हुँ । आदवासीका मुद्धालाई स्थापित गर्न लागिपरेको छु । अहिलेका समानुपातिकमा परेका इलिटले संखुवासभा चिनेका पनि छैनन् होला । उनीहरूले मेरो प्रतिनिधित्व कसरी गर्छन् ? अहँ म विश्वास गर्न सक्दिनँ । यो घोर आपत्तिजनक कुरा हो ।’
त्यस्तै, जेनजी फ्रन्टकी संयोजक रक्षा बमको प्रश्न पनि उस्तै छ । बमका अनुसार, सदियौँदेखि पछि पारिएका समूदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो ।
‘निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौँदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समूदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो । तर, हिजो हजारौँको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन् । आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन् । त्यसैले दलहरूको समानुपातिक सूची देखेर मन खिन्न भएको छ’ उनले भनेकी छन् ।
रास्वपाको समानुपातिक सूचीमा पनि सुदूरपश्चिमबाट न्यून प्रतिनिधित्व भएको गुनासो आइरहेको बेला रक्षाले लेखेकी छन्, ‘मेरो सुदूर अझै पनि सुदूर नै छ । त्यहाँका मानिस, त्यहाँका समुदाय र वर्षौँदेखि राजधानीबाट अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन् ।’
जेनजी अगुवा उपार्जुन चामलिङ राई व्यक्तिगत रुपमा आफूलाई समानुपातिकमा बस्ने इच्छा नरहे पनि जेनजीको तर्फबाट पठाइएको नाम काट्नु दु:खद रहेको बताउँछन् । यसरी पठाइएका नामहरू हटाएर चर्चित अनुहारमात्र राख्नुले समानूपातिकमा ‘टोकनिजम्’ हाबी भएको उनले बताए ।
‘नयाँहरूले पनि चर्चित अनुहार मात्र राखे । जसरी हुन्छ, मास अपिल गरेर जित्नु छ भन्ने मात्र देखियो । तर, यो ठीक भएन,’ चामलिङले भने, ‘चुनाव जित्ने कुरा प्राथमिक देखियो । तर, कसलाई जिताउने भन्ने कुरामा ध्यान पुगेको देखिएन । पछाडि परेकालाई पनि जिताउनुपर्छ भन्नेमा चेतना पुर्याएको देखिएन ।’
प्रतिक्रिया 4