१६ पुस, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश जीवनाषक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गरिएको छ ।
भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले उक्त विधेयक टेबुल गरेका हुन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले महालेखा परीक्षकको पहिलो वार्षिक प्रतिवेदन २०७५, छैठौँ वार्षिक प्रतिवेदन २०८१, सातौँ वार्षिक प्रतिवदेन २०८२, प्रदेश लोकसेवा आयोगको चौथो वार्षिक प्रतिवेदन र मुख्य न्यायधिवक्ताको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
प्रदेशसभा, सार्वजनिक लेखासमितिका सभापति अक्कलबहादुर रावलले समितिको तेस्रो वार्षिक प्रतिवेदन पेस गरे । बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रस्तुत महालेखा परीक्षकको पहिलो, छैठौँं र सातौँ प्रतिवेदन उपर अध्ययन एवं छलफलका लागि सार्वजनिक लेखा समितिमा र प्रदेश लोकसेवा आयोगको प्रतिवेदन तथा मुख्य न्यायधिवक्ताको प्रतिवेदन अध्ययनका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइने जानकारी गराए ।
यसअघि बैठकको शून्य समयमा भाग लिँदै प्रदेशसभा सदस्यहरू गीतादेवी माल, डम्मरी महरा, मानबहादुर धामी, रामेश्वर चौधरी, लक्ष्मी विक, शिवसिंह ओली र नरेशकुमार शाहीले समसामयिक समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
जेनजी आन्दोलनमा क्षति पुगेको प्रदेशसभा भवनको मर्मत पूरा भएपछि आज बैठक सुचारु भएको हो । प्रदेशसभाको चालु अधिवेशन अन्तर्गतको पछिल्लो बैठक गत भदौ ५ गते बसेको थियो ।
प्रतिक्रिया 4