१७ पुस, काठमाडौं । पर्साको पकाहा मैनपुर गाउँपालिका–४ स्थित श्यामपुर भेलाहामा आगलागी भएको छ ।
आगलागीमा परी फुसको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट स्थानीय विमल साह गोडको फुसको घरसहित विभिन्न धनमाल जलेर करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
खाना पकाउने क्रममा बुधबार राति गोडको घरमा आगलागी भएको हो । आगलागीबाट गोडको घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
घर जलेर नष्ट भएपछि पीडित परिवार खुला आकाशमुनि रात बिताउन बाध्य भएको पीडितका छोरा सोनालाल साह गोडले बताए ।
उनका अनुसार आगलागीबाट दैनिक जीवनयापनका आवश्यक सबै सामग्री नष्ट हुँदा खाना पकाउने र बसोबासको गम्भीर समस्या उत्पन्न भएको छ।
चिसो मौसमका कारण थप कठिनाइ भोगिरहेका पीडित परिवारले स्थानीय सरकार तथा सरोकारवाला निकायसँग राहतको माग समेत गरेका छन्।
प्रतिक्रिया 4