१७ पुस, काठमाडौं । बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा, १ वटा ई–रिक्सा) अघि बढ्दै थिए ।
लौकहीमा सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दारको कमाण्डमा पाँच जना ड्युटीमै थिए । ती अटो रिक्साहरूमा भन्सार छलेर भारतबाट अवैध सामानहरू नेपाल ल्याइएको भन्ने सूचना सशस्त्र प्रहरीले पायो ।
मध्यराति सडकमा सशस्त्र प्रहरीको उपस्थिति देखेपछि तस्करीको सामान ल्याउँदै गरेका रिक्साहरू भाग्न खोजे । सशस्त्र प्रहरीले पिछा गर्यो । जवाफमा तस्करीको समान ल्याएका तीन वटा रिक्सामध्ये एक रिक्साबाट गोली चल्यो ।
तस्करको समूहबाट मध्यराति गोली चलेपछि सुरक्षाकर्मीले असुरक्षित महसुस गरे । आत्मरक्षाका लागि जवाफी फायर गर्दा दुर्घटना भयो । सुनसरी घटनाबारे जानकारी लिँदा कोशी प्रदेशको बराह बाहिनी पोकलीका प्रमुख तथा डीआईजी कुमार न्यौपाने यी नै दलिलहरू गरे ।

‘उताबाट सुरुमा फायर भयो । कसैलाई लागेन, केही भएन । यताबाट आत्मरक्षाका लागि जवाफी फायर गर्दा दुर्घटना भयो,’ न्यौपानेले अनलाइनखबरसँग दाबी गरे ।
तस्करको समूहबाट सुरुमा गोली चलेको दाबी गरेपछि अनलाइनखबरले डीआईजी न्यौपानेलाई हतियार बरामद भए/नभएको भन्नेबारे जिज्ञासा राखेको थियो । तर उनले हतियार बरामद नभएको जवाफ दिँदै भने, ‘फायर गर्ने भागी हाले । अनि हतियार बरामद हुने अवस्था रहेन ।’
मध्यराति सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भयो । सशस्त्रले दुर्घटना भनेको यो प्रकरणमा मारिएका साह अटो रिक्सा चालक हुन् । उनलाई समान बोक्नका लागि कसैले भाडामा रिक्सा लगेको हुनुपर्ने बताइएको छ ।
सशस्त्रले तस्करको समूहले गोली चलाएको दाबी गरे पनि यसको यकिन पुष्टि भने भएको छैन । आफ्नो गल्तीलाई छोप्न अर्को पक्षको गल्ती देखाएर चोख्याउन खोजेको आरोप स्थानीयले लगाएका छन् ।
अनावश्क रूपमा गोली चलाइएको, त्यो पनि लापरबाही तरिकाले गोली चलाउँदा छातीमै लागेको भन्दै सशस्त्र प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।
तस्करीको १० बोरा चिनी नियन्त्रणमा लिन सशस्त्रले जुन किसिमको बल प्रयोग गरेको त्यो आवश्यक नरहेको बताइन्छ ।
घटनापछि तनावग्रस्त बनेको सुनसरीमा सडकमै शव राखेर स्थानीयले प्रदर्शन गरेका थिए । स्थानीय सशस्त्र प्रहरीको बिट तोडफोड गर्नेदेखि बोर्डर आउट पोस्ट (बीओपी) मा समेत आक्रमण गरे ।
स्थिति नियन्त्रणमा केही सेल अश्रु ग्यास समेत प्रहार गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरे बताउँछन् ।
उनका अनुसार मध्यराति घटना हुँदा त्यहाँ नेपाल प्रहरी उपस्थित थिएन । घटना भइसकेपछि मात्रै खबर गरेपछि प्रहरी पुगेको थियो । घटनास्थलबाट गोलीका दुई वटा खोका बरामद भएका छन् ।
‘तस्करी गर्न सुरक्षा निकायसँगै हुन्छ लेनदेन’
सशस्त्र प्रहरीले जवाफी कारबाही भएको दाबी गरे पनि स्थानीय तथा मृतकका आफन्त भने त्यो मान्न तयार छैनन् । उनीहरू भने लेनदेनको विवादमा हत्या गरिएको दाबी गर्छन् । प्रदर्शनमा उत्रिएकाहरू सशस्त्रले रकम मागेको र भनेअनुसार नदिएपछि हत्या गरेको भन्दै गम्भीर आरोप लगाएका छन् ।
स्थानीयले भनेजस्तो तस्करीको लाइन सुरक्षा निकायलाई रकम बुझाउने परिपाटी भने देखिने गरेको लेखक, विश्लेषक तथा सीमा मामलाबारे जानकार चन्द्रकिशोर बताउँछन् ।

उनका अनुसार तराईका मुख्य नाकाका छेउछाउमा अरू साना बाटाहरू पनि हुन्छन् । त्यसलाई २ नम्बरी बाटो भनिन्छ । अनि सुरक्षा निकायलाई मिलाएर त्यही बाटोबाट तस्करीको खुल्छ । यसलाई तराईमा लाइन खुलेको रूपमा चिनिन्छ । लाइन मिलेपछि यहाँ सुरक्षा निकायले रेफ्रीको मात्रै भूमिका निवार्ह गर्ने गरेको उनी बताउँछन् ।
पहिला नेपाल प्रहरीको उपस्थित हुने सीमा नाकामा अहिले सशस्त्र प्रहरीको उपस्थित छ । सशस्त्रले सीमा व्यवस्थापनको जिम्मेवारी पाएपछि स्वभाविक रूपमा सीमासँग जोडिएका अन्य विषयहरू पनि सँगै जोडिएर आउँछन् । सीमा नाका हुँदै कानुनीदेखि गैरकानुनी व्यापार पनि हुँदै आएको छ ।
यी दुवैको संरक्षणकर्ता सशस्त्र प्रहरी नै रहेको विश्लेषक चन्द्रकिशोर बताउँछन् । पहिला प्रहरीको संरक्षणमा हुने तस्करी अहिले सशस्त्रले चलाउन थालेको उनको दाबी छ ।
‘अघिल्लो दिन जहाँ गरियो सुरक्षा गोष्ठी, भोलिपल्ट त्यहीँ गोली दागेर नागरिकको ‘हत्या’
गृहमन्त्री ओमप्रकाश अर्याल मंगलबार मात्रै कोशी प्रदेश पुगे । मोरङको बुधनगरमा सन् २०२० देखि सञ्चालनमा आएको नेपाल–भारत एकीकृत भन्सार जाँच चौकीको स्थलगत निरीक्षण समेत गरे ।
भन्सार जाँच चौकी निरीक्षण गर्दै उनले भने–अहिलेको सरकारको मुख्य काम भनेकै नागरिकको सुरक्षा र तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउनु हो ।’

यसको भोलिपल्ट कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी विराटनगरमा सम्पन्न भयो । जहाँ उनै गृहमन्त्रीदेखि प्रदेशका मन्त्रीहरू, गृहमन्त्री, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख, गुप्तचर प्रमुख र सेनाको समेत उपस्थितिमा सुरक्षा गोष्ठी सम्पन्न भयो ।
शान्ति सुरक्षा मजबुत राख्ने, तोकिएकै समयमा निर्वाचन गराउने र नागरिकले ढुक्कले शान्ति सुरक्षाको महसुस गर्ने गरी सुरक्षा निकायले काम गर्ने बताउँदै सुरक्षा गोष्ठी सम्पन्न भयो । गोष्ठी सम्पन्न गरेर गृहमन्त्रीदेखि सुरक्षा निकायका प्रमुखहरू काठमाडौं आइपुग्न नपाउँदै सुरक्षाकर्मीकै गोली लागेर एक नागरिकको ज्यान गयो ।
सामान्य घटनामै गोली चलाउनुले माथिबाट तस्करी नियन्त्रणमा एकदमै कठोर बन्न निर्देशन दिएको हुनुपर्छ कि त सशस्त्र आफैंले अनाश्यक रुपमा बल प्रयोग गरेको हुनुपर्ने सशस्त्र प्रहरी बलका एक पूर्वएआईजीको बुझाइ छ ।
‘अहिलेको अवस्थामा सामान्य घटनामै जोखिम लिएर सुरक्षाकर्मीले गोली चलाइहाल्ने मुर्खता गर्दैन । अब सुनसरी घटनामा कसरी यस्तो हुन पुग्यो यो छानबिनको पाटो हो’ ती पूर्वएआईजी भन्छन् ।
यसअघि सुरक्षा गोष्ठीकै लागि १५ मंसिरमा कैलाली पुगेका मन्त्री अर्यालले भने दैनिक जिविकोपार्जनका लागि सहजीकरण हुने गरी काम गर्न निर्देशन दिएको भन्दै मन्त्री अर्यालयको सचिवालमार्फत जानकारी गराइएको थियो ।
कैलाली र कञ्चनपुरको सिमानामा पर्ने नेपाल–भारतको गौरीफन्टा नाकाको स्थलगत निरीक्षण गर्दै मन्त्री अर्यालले भनेका थिए, ‘नेपाली नागरिक तथा महिला दिदी बहिनीहरूको दैनिक जिविकोपार्जनमा सहजीकरण हुने गरी तर नियमित, संगठित र व्यावसायिक रूपमा भन्सार छली गरी मालवस्तु भित्र्याउने व्यक्ति वा समूहलाई पहिचान गरी त्यसको निगरानी बढाएर काम गर्नुस् ।’

तस्करीसँग जोडिएको अर्थ राजनीति
तराईको सीमाको तस्करी अर्थ–राजनीतिसँग जोडिएको विश्लेषक चन्द्रकिशोर बताउँछन् । अहिले पूर्व–पश्चिम सबै सीमा नाकामा सशस्त्र प्रहरीको उपस्थिति छ । गाउँ–गाउँमा पनि सशस्त्रको उपस्थिति छ ।
जसकारण सशस्त्रको सम्बन्ध सीमामा मात्रै नभएर गाउँ–गाउँका व्यापारीसँग पनि हुन्छ । अनि सशस्त्रसँगै लाइन मिलाएर तस्करी काम हुने गरेको उनको बुझाइ छ ।
‘तराईबाट हुने तस्करीमा अर्थ राजनीति राम्रोसँग जोडिएको छ । व्यक्तिगतदेखि राजनीतिक पहुँचको भरमा लाइन मिलाएर तस्करी हुन्छ । सामान्य व्यापारीहरू पनि रातारात धनाढ्यमा परिणत हुन्छन् । अनि भोलि चुनाव उठेर नेता बन्नेसम्मको अवस्था पनि देख्ने गरिन्छ,’ चन्द्रकिशोरले भने ।
साना पोकेदेखि, साइकल, ट्रयाक्टरहरूले कुरियरको काम गर्ने, सामान ओसारे वापत गुजारा चलाउने, केहीले गोदाम चलाउने अनि ठूलो स्केलमा व्यापार गर्नेसम्मको अवस्था तस्करीबाटै गर्दै आएका छन् ।
यसरी चलिरहेको लाइनमा कुरा नमिल्दा मुठभेड हुने अवस्था आउने उनको बुझाइ छ । ‘कतिपय सशस्त्र प्रहरी अफिसर राम्रो पनि हुनुहुन्छ । सबैको हकमा यो लागु नहोला । तर धेरैजसोले गर्ने यस्तै हो,’ उनी भन्छन् ।
अर्कोतर्फ तस्करीमै रजगज गरेर बसेकाहरू संख्या पनि बाक्लो छ । उनीहरूको बलमिच्याँईका कारण पनि मुठभेड हुने गरेको छ । जसकारण सुनसरीको आज बिहानको घटना ठ्याक्कै यही कारण भन्न अहिले नै नसकिने उनको बुझाइ छ ।
‘प्रदेश–प्रदेशमा सशस्त्रका मुख्यालय छन् । इन्चार्ज भएर पुगेपछि उनीहरूको पनि दौडाहा सुरु हुन्छ । सुरुमा टाइट गर्न खोज्छन् । यता तस्करहरूले लाइन खुलाउनका लागि पहिल्यै रकम बुझाएका हुन्छन् । रकम बुझाउँदा पनि सामान ल्याउन नपाएपछि तनाव हुन्छ, झडप हुन्छ । लाइनको दर बढाउन पनि कन्ट्रोल गर्ने रणनीति सुरक्षा निकायले बढाउँछन् अनि द्धन्द्ध सिर्जना हुन्छ’ चन्द्र किशोर भन्छन् ।
सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा डीआईजी मनिष थापा भने छानबिन पछि मात्रै घटनाबारे के–कसो भएको हो भन्न सकिने बताउँछन् । ‘सशस्त्रको गोली लागेर एक जनाको मृत्यु भयो भन्ने रिपोर्टिङ आएको छ । कसरी घटना हुन पुग्यो छानबिनपछि मात्रै खुल्ला’ उनी भन्छन् ।
प्रतिक्रिया 4