News Summary
Generated by OK AI. Editorially reviewed.- डा. बाबुराम भुल नेपाल खुला विश्वविद्यालयबाट पहिलो पटक विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्ति बनेका छन्।
- डा. भुलले व्यवस्थापन तथा कानुन संकायअन्तर्गत डक्टर अफ फिलोसफी इन डेभलपमेन्ट म्यानेजमेन्ट विषयमा विद्यावारिधि पूरा गरेका हुन्।
- उनको अनुसन्धानले सीमान्तकृत समुदायका कर्मचारीको आरक्षण र संगठन प्रतिबद्धताबीचको सम्बन्धमा नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वविद्यालयले विश्वास गरेको छ।
१८ पुस, काठमाडौं । नेपाल खुला विश्वविद्यालयबाट पहिलो पटक विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने व्यक्ति बाबुराम भुल बनेका छन्। विश्वविद्यालयले बुधबार उनलाई औपचारिक रूपमा विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो ।
विश्वविद्यालय प्रशासनका अनुसार डा.भुलले व्यवस्थापन तथा कानुन संकायअन्तर्गत डक्टर अफ फिलोसफी इन डेभलपमेन्ट म्यानेजमेन्ट विषयमा विद्यावारिधि पूरा गरेका हुन् ।
उनी हाल महालेखा परीक्षकको कार्यालयमा लेखापरीक्षण अधिकारी (शाखा अधिकृत)का रूपमा कार्यरत छन् ।
अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-३, बरदादेवी भुवामाझ घर भएका भुलले नेपाल खुला विश्वविद्यालयमार्फत ‘प्रतिनिधिमूलक कर्मचारीतन्त्रः नेपालको निजामती सेवामा सीमान्तकृत समुदायका व्यक्तिमा सकारात्मक विभेद (आरक्षण) सम्बन्धी दृष्टिकोण र संगठनात्मक प्रतिबद्धताबीचको सम्बन्ध’ शीर्षकमा अनुसन्धान गरेका हुन् ।
उक्त अनुसन्धान किनारीकृत समुदायका कर्मचारीको आरक्षणप्रतिको धारणा र संगठनप्रतिको प्रतिबद्धताबीचको सम्बन्धमा केन्द्रित छ ।
उनको अनुसन्धानले नेपालको निजामती सेवामा कार्यरत सीमान्तकृत समुदायका कर्मचारीको संस्थागत प्रतिबद्धता, समावेशी शासन र सार्वजनिक नीति निर्माणमा वैज्ञानिक आधारसहित नयाँ बहस र दृष्टिकोण प्रदान गर्ने विश्वविद्यालयको विश्वास छ । विशेषगरी आरक्षण नीतिको प्रभावकारिता र संगठनात्मक कार्यसम्पादनबीचको अन्तरसम्बन्धलाई उजागर गर्ने प्रयासका रूपमा यो अध्ययनलाई महत्वपूर्ण मानिएको छ ।
शैक्षिक यात्राको हिसाबले डा.भुलले ग्रामीण अछामस्थित सरस्वती माध्यमिक विद्यालय, जयगढबाट २०६४ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र, राजनीतिशास्त्र र जनप्रशासनमा स्नातकोत्तर, कानुनमा स्नातक तथा एमफिलसम्मको अध्ययन पूरा गरेका छन् ।
यस उपलब्धिलाई व्यक्तिगत सफलतासँगै सीमान्तकृत समुदायका लागि उच्च शिक्षामा पहुँच र प्रतिनिधित्वको दृष्टिले पनि महत्वपूर्ण मानिएको छ ।
डा.भुललाई आगामी माघ ११ गते हुने नेपाल खुला विश्वविद्यालयको दीक्षान्त समारोहमा औपचारिक रूपमा दीक्षित गरिनेछ । दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले उनलाई दीक्षा प्रदान गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया 4