२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन अपरिहार्य भएको बताउँदै महाधिवेशन प्रतिनिधिहरू थपिनेक्रम जारी रहेको जानकारी दिएका छन् ।
विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेका शर्माले यसअघि विशेष महाधिवेशन माग गर्दा ५४ प्रतिशत रहेको र त्यसमध्ये २५ जना जतिले हस्ताक्षर फिर्ता लिएको जानकारी आएको बताए ।
त्यस्तै उनले करिब ५ सय जना महाधिवेशन प्रतिनिधि अहिले जोडिन आउँदै गरेको पनि बताए ।
उनले पार्टी विधानमा पनि विशेष महाधिवेशन हुँदा पार्टी विभाजन हुन्छ भन्ने उल्लेख नभएको जवाफ संस्थापनपक्षलाई दिएका छन् ।
‘विशेष महाधिवेशनले पार्टी विभाजन हुन्छ भने त्यो व्यवस्था पार्टी विधानमा लेखिने थिएन । पार्टी विभाजन हुँदैन,’ उनले भने, ‘२१ फागुनको चुनावमा कांग्रेस एक भएर चुनावमा जान्छ । १६५ क्षेत्रमा कांग्रेसको एकल उम्मेदवार हुन्छ ।’
उनले विशेष महाधिवेशनले नेतृत्व चयनको कार्यविधि तय गर्ने पनि बताए ।
विशेष महाधिवेशन स्थलको तयारी बुझ्न नेता चन्द्र भण्डारी र सुनिल शर्मा समेत भृकुटीमण्ड पुगेका छन् ।
नेता भण्डारी र शर्मा भृकुटीमण्डप पुग्दा विशेष महाधिवेशन पक्षधर नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए।
नेता भण्डारी र शर्माले महामन्त्री विश्वप्रकाश शर्मासँग छलफलसमेत गरेका थिए । सो क्रममा महामन्त्री शर्माले महाधिवेशन स्थलको डिजाइनबारे नेताद्वयलाई जानकारी गराएका थिए ।
महाधिवेशन स्थलको निरीक्षणपछि फर्कँदै गर्दा नेता कार्यकर्ताहरूले नेता भण्डारी र शर्मालाई खुलेरै विशेष महाधिवेशनका पक्षमा आउन आग्रह गरेका थिए ।
प्रतिक्रिया 4