News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनैपनि नेता कार्यकर्ताले पार्टी विभाजन नचाहेको बताएका छन्।
- उनले प्रतिनिधि सभा निर्वाचनलाई ठूलो चुनौती भन्दै पार्टीभित्र आन्तरिक एकता अपरिहार्य रहेको उल्लेख गरे।
- उनले पार्टीभित्रको समस्या समाधान गर्न मध्यमार्गी बाटो अपनाउन र विशेष महाधिवेशन सफल बनाउन सबैलाई अपिल गरेका छन्।
२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीका कुनैपनि नेता कार्यकर्ताले पार्टी विभाजन होस् भन्ने नचाहेको बताएका छन् ।
शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता राणाले यस्तो बताएका हुन् । आसन्न प्रतिनिधि सभा निर्वाचन नेपाली कांग्रेसका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौतीको सामना गर्न पार्टीभित्र आन्तरिक एकता अपरिहार्य रहेको उनको भनाइ छ ।
पार्टीका नेता कार्यकर्तालाई अग्र नभई संयमित हुन आग्रह गर्दै पार्टीभित्रको समस्या समाधान गर्न मध्यमार्गी बाटो अपनाउन समेत उनले अपिल गरे । नेता राणाले विशेष महाधिवेशनलाई सफल बनाउन पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सहयोग गर्न अपिल पनि गरे ।
‘फागुन २१ गतेको निर्वाचन अगाडि पार्टीभित्र केही समस्याहरू हामीले देखेका छौँ । अब विषेश महाधिवेशनको आह्वान पनि भएको छ । पार्टी विभाजित हुने कुरामा म विश्वास गर्दिनँ । कुनैपनि कांग्रेसका नेता कार्यकर्ताले पनि कांग्रेस फुटोस् भन्ने चाहेका छैनन् । तर चुनाव अगाडि हामी सबै एउटै ठाउँमा उभिएर यो जटिल अवस्थाको सामना गर्नुपर्ने अवस्था छ,’ उनले भने ।
‘प्रतिनिधि सभा चुनाव नेपाली कांग्रेसका निम्ति एकदमै चुनौतीको रुपमा आएको छ । यसलाई फेस गर्नको लागि सबै साथिहरू एकै ठाउँमा उभिएर चुनावमा जानुपर्छ भन्ने हाम्रो धारणा हो । र म नेपाली कांग्रेसका सबै नेता र कार्यकर्ताहरूलाई धेरै उग्र भएर हामी नहिडौँ भनेर आग्रह पनि गर्न चाहन्छु,’ उनले भने, ‘यसरी उग्र भएर राम्रो नतिजा दिँदैन । सबैले संयमित भएर यो विषेश महाधिवेशलाई सेफ ल्याण्ड गराउन जरुरी देखिएको कारणले हामीले यसको लागि मध्यमार्गी बाटो खोज्नुपर्छ । हामी सबैलाई अपिल पनि गर्न चाहन्छौँ । विषेश महाधिवेशनलाई सफल पार्नको लागि सहयोग गर्नुहोस् ।’
प्रतिक्रिया 4