News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताएका छन्।
- पुनले हजारौंको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि संकटमा रहेकाले निकास निर्वाचनबाट मात्र सम्भव हुने उल्लेख गरे।
- उनले अन्तर्राष्ट्रिय चलखेल विरुद्ध राष्ट्रियता पक्षधरबीच एकता र सहकार्य आवश्यक रहेको बताए।
२७ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताएका छन् ।
स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताएका हुन् ।
हजारौंको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि संकटमा रहेकाले मुलुकको निकास निर्वाचनबाट मात्र सम्भव हुने उनको भनाइ थियो ।
पुनले अन्तर्राष्ट्रिय चलखेल र मुलुकको अस्तित्व नामेट पार्न खोज्ने प्रवृत्तिलाई निस्तेज पार्न देशलाई माया गर्ने राष्ट्रियता पक्षधरबीच एकता र सहकार्य जरुरी रहेको पनि बताए ।
‘हजारौंको बलिदानीपछि प्राप्त उपलब्धि खतरामा छ । यस्तो अवस्थामा निर्वाचनले मात्र मुलुकलाई निकास दिन सक्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय चलखेल र देशको अस्तित्व नै नामेट गर्न खोज्ने प्रवृत्तिविरुद्ध राष्ट्रिय अस्मिता, अखण्डताका पक्षधर देशभक्त शक्तिहरु एक ठाउँमा उभिनुपर्छ ।’
मुलुकको राजनीति अत्यन्तै अस्थिर र तरल अवस्थामा रहेको र कहाँ पुगेर स्थिरता कायम हुन्छ भन्ने अनुमान गर्न कठिन रहेको पुनले औंल्याए ।
‘अहिले राष्ट्रिय राजनीतिमा अस्थिर, तरल र अनिश्चियजस्तो वातावरण छ । कहाँ पुगेर स्थिरता प्राप्त गर्छ भन्न नसकिने अवस्था छ’, उनले भने ।
पुनले राजनीतिसँगै अर्थतन्त्रमा पनि समस्या चुलिएको बताए । ०७२ को महाभूकम्प र कोभिड–१९ महाकारीबाट प्रभावित अर्थतन्त्र तङ्ग्रिन खोज्दै गर्दा भदौ २३ र २४ को जेनजी आन्दोलनपछि फेरि सुस्ततामा गएको उल्लेख गरे ।
आन्दोलनका क्रममा भएको विश्वंशका कारण निजी क्षेत्रको मनोबल गिरेको उनको भनाइ थियो । ‘भूकम्प र कोभिड–१९ को प्रभावबाट अर्थतन्त्र तँग्रिन खोजिराखेका बेला भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा भएका विश्वंशहरुले लगानीकर्ताहरुको मनोबल गिरिराखेको अवस्था छ । तँग्रिदै गएको अर्थतन्त्र फेरि सुस्ताएको छ’, पुनले भने ।
प्रतिक्रिया 4