+
+
Shares

निगमलाई आधुनिक र वातावरणमैत्री ऊर्जाको केन्द्र बनाउनुपर्छ : मन्त्री सिन्हा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १९:२५

२६ पुस, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपाल आयल निगमलाई परम्परागत इन्धनको कारोबारबाट माथि उठाएर आधुनिक र वातावरणमैत्री ऊर्जाको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् ।

निगमको ५६औं वार्षिकोत्सव तथा नयाँ केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री सिन्हाले इन्धन आपूर्तिलाई सुरक्षित, सुलभ र प्रविधिमैत्री बनाउनु सरकारको मुख्य प्राथमिकता रहेको बताए ।

निगमले पछिल्लो समय हासिल गरेको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै मन्त्री सिन्हाले अमलेखगञ्ज–लोथर र सिलिगुढी–झापा पाइपलाइन परियोजनालाई ऐतिहासिक उपलब्धिका रूपमा अघि बढाइने जानकारी दिए ।

आर्थिक वर्ष २०८१र८२ मा निगमले करिब साढे १३ अर्ब नाफा कमाउनु सकारात्मक भए पनि नाफाभन्दा सेवा प्रवाह र उपभोक्ताको सहज पहुँचलाई केन्द्रमा राख्नुपर्ने उनको धारणा थियो ।

अबको बाटो हरित ऊर्जातर्फ लक्षित हुनुपर्ने उल्लेख गर्दै उनले ग्रीन हाइड्रोजन र इथानोलको प्रयोगबारे नीतिगत निर्णय भइसकेकाले यसलाई चाँडै कार्यान्वयनमा ल्याउन व्यवस्थापनलाई निर्देशन दिए ।

‘नयाँ र अत्याधुनिक भवनबाट सेवा सुरु गर्दा संस्थागत सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कडाइका साथ आत्मसात् गर्नपर्छ,’ उनले भने ।

कर्मचारीका जायज मागलाई कानुनी दायराभित्र रहेर सम्बोधन गरिने विश्वास दिलाउँदै उनले निगमको एकाधिकार सधैँ नरहने हुँदा भविष्यको प्रतिस्पर्धात्मक बजारका लागि सक्षम बन्न समेत सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?