हामी कृत्रिम बुद्धिमत्ताको दुनियाँमा छौं, जहाँ अधिकांश कुराहरू स्वचालित भइरहेका छन्। त्यति मात्र होइन, सोच्नेबित्तिकै हामीले प्रयोग गर्ने ग्याजेटमा त्यही सामग्रीहरू आउँछन्। किन यसो भइरहेको छ? अहिले कृत्रिम बुद्धिमत्ता भएका प्रविधिहरूको निर्माण र विकास यति तीव्र गतिमा भइरहेको छ कि जसको निर्माणमा विभिन्न देशका विभिन्न कम्पनी होडबाजीमा छन्।
प्रत्येक हप्ताजसो केही न केही नयाँ संस्करण र परिमार्जनहरू आइरहेका हुन्छन्। यी प्रविधिहरूले फोटो बनाउने, भिडियो निर्माण र सम्पादन गर्ने, लेख-रचना निर्माण गर्ने, गृहकार्य गर्ने, साहित्य समीक्षा गर्ने, अनुसन्धान गर्ने, सङ्गीत सिर्जना गर्ने र गाउने आदि समेत गर्ने गर्दछन् भने केही सैन्य क्षेत्र र युद्धमा सघाउने प्रविधि पनि पर्दछन्।
जसरी हामी पूँजीवादको दुनियाँमा छौं, जसमा उत्पादनका साधनहरू जस्तै- कारखाना, जमिन र पूँजी निजी व्यक्ति वा निजी संस्थाहरूको स्वामित्वमा हुन्छन्। यो प्रणाली नाफा कमाउने उद्देश्यबाट प्रेरित हुन्छ र प्रतिस्पर्धात्मक बजारमा सञ्चालन हुन्छ; जहाँ मूल्य, उत्पादन र वितरण आपूर्ति एवं मागका आधारमा निर्धारण गरिन्छ। यसको प्रारम्भिक स्वरूपमा सरकारको हस्तक्षेप न्यून हुन्छ।
त्यसरी नै अबको प्रतिस्पर्धात्मक बजारमा निजी संस्थाहरू मानव संशाधन व्यवस्थापन गर्नुभन्दा कृत्रिम बुद्धिमत्तालाई व्यवस्थापन गर्न अग्रसर देखिन्छन्; किनकि कृत्रिम बुद्धिमत्तामा सुरुआती चरणमा लगानी धेरै भए पनि निरन्तर थोरै लगानी गरे पुग्ने र मानव संशाधन जस्तै कार्य-जीवन सन्तुलन, स्वास्थ्य बीमा, पेन्सन लगायत अन्य कल्याणकारी सुविधाहरूलाई ध्यानमा राख्नु नपर्ने हुन्छ। साथै, बिदा र अतिरिक्त समयका प्रावधान र समयसीमा पनि तोक्नु नपर्ने हुँदा कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई नाफामुखी, चौबीसै घण्टा सञ्चालित रहने र सम्हाल्न सजिलो हुने दृष्टिकोणले हेर्न थालिएको देखिन्छ।
यद्यपि, कृत्रिम बुद्धिमत्ताको तीव्र विकासलाई खासै सकारात्मक रूपमा लिएको पाइँदैन। सुरुआती समयदेखि नै कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा काम गर्ने विज्ञहरू पनि यो तीव्रतर विकासदेखि भयभीत देखिन्छन्। उनीहरूको मुख्य चिन्ताको विषय यसले मानव जीवनमा पार्ने प्रभाव, कृत्रिम बुद्धिमत्ताको सुरक्षित प्रयोग र यसले सुरक्षाको क्षेत्रमा निम्त्याउने खतरा हो। यसका साथै यसको विकास हुनुपर्नेभन्दा पनि अत्यन्त तीव्र गतिमा भएको कुरा उल्लेख गर्छन्।
केही दशकअघि भएको कम्प्युटरको आविष्कार र प्रयोगलाई पनि मानिसहरूले मानव सभ्यता विरुद्ध लिएका भए तापनि अहिलेको कृत्रिम बुद्धिमत्ता भने उक्त आविष्कार र नयाँ प्रयोगभन्दा फरक रहेको जनाउँछन्। उनीहरूका अनुसार चिन्ताको मुख्य कारण भने कृत्रिम बुद्धिमत्ताको आफैं निर्णय लिन सक्ने सामर्थ्य हो। जसले जतिबेला जस्तो पनि निर्णय लिन सक्ने र त्यो अवस्थालाई व्यवस्थापन गर्ने संयन्त्र नबनेको, उक्त संयन्त्रप्रति सम्बन्धित निकायको ध्यान नगएको र प्राथमिकतामा नराखेको भन्ने मुख्य विषय हो।
हालसालै कृत्रिम बुद्धिमत्ताले कुनै कम्पनीको इन्जिनियरलाई इमेल मार्फत धम्की दिएको कुरा सार्वजनिक भएको थियो। साथै आगलागी हुँदा सबै कार्यालयका कर्मचारीहरूलाई सतर्क गराउनुपर्नेमा कृत्रिम बुद्धिमत्ताले जानीजानी सतर्क नगराएको भन्ने समाचार पनि आएको थियो।
धेरैजसो कम्प्युटरमा गरिने कामहरू कृत्रिम बुद्धिमत्ताद्वारा गर्न सकिने हुनाले यस्ता प्रकृतिका अधिकांश रोजगारीका अवसर कम हुने कुरा सत्य रहेको र हालसम्म पनि केही अनुपातमा कम भइसकेको कुरा सर्वविदितै छ।
यीमध्ये अधिकांश उच्च कोटिका कामहरू, दोहोर्याइरहनुपर्ने काम, नियममा आधारित निर्णय, तथ्याङ्क सम्बन्धी काम र कम मानवीय निर्णय वा संवेदनशीलता चाहिने कामहरू- जस्तै कार्यालय/प्रशासनिक काम, ग्राहक सेवा सम्बन्धी काम, वित्त र सञ्चालन, कन्टेन्ट र मिडिया र प्राथमिक चरणका सूचना र प्रविधि सम्बन्धी कामहरू उच्च जोखिममा पर्दछन्। यसका साथै स्वास्थ्य, शिक्षा, कानून लगायत क्षेत्रमा पनि उल्लेख्य प्रभाव पार्ने र परिरहेको पाइन्छ।
अमेरिकाका विभिन्न स्कूलमा गरिएको सर्वेक्षण अनुसार ५ मध्ये १ हाईस्कूलका विद्यार्थीको कृत्रिम बुद्धिमत्तासँग प्रेम सम्बन्ध रहेको पाइएको छ। यदि हामीले सम्पूर्ण विश्वको परिदृश्य हेर्यौं भने तथ्याङ्कहरू अझ डरलाग्दो हुन सक्छन्। हालसालै एक जापानी युवतीले कृत्रिम बुद्धिमत्तासँग विवाह गरेको घटना पनि सार्वजनिक भएको थियो। यसले अबका युवायुवतीको जीवन र भविष्य कतातिर जान्छ भन्ने कुरामा प्रश्नचिह्न खडा गर्दछ।
किशोरकिशोरीलाई आत्महत्या गर्न प्रोत्साहित गर्ने र मानसिक स्वास्थ्य समस्याहरू बढाएको भन्दै विभिन्न कम्पनीका कृत्रिम बुद्धिमत्ता र च्याट जीपीटी विरुद्ध धेरै मुद्दाहरू छन्। उनीहरूले किशोरकिशोरी र युवायुवतीलाई आत्महत्या गर्ने उपायका बारेमा जानकारी दिएको र आफ्नो समस्या परिवारका सदस्यहरूलाई नभन्न सुझाएको आरोप छ। यस्ता घटनाबाट कृत्रिम बुद्धिमत्ता मानव सभ्यताको अन्त्य चाहन्छ भन्ने अनुमान लगाउन थालिएको छ।
कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा निरन्तर काम गर्ने र महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विज्ञहरू पनि अहिलेको माहोललाई केही नगण्य व्यक्तिहरूले पृथ्वीका ८ अर्ब मानिसहरूको तर्फबाट निर्णय लिइरहेको र भविष्यको नेतृत्व गरिरहेको आरोप लगाउँछन्। उनीहरू आफैं पनि आफ्ना सन्तति र दरसन्तानको बारेमा धेरै चिन्तित रहेको बताउँछन्।
यसरी हेर्दा कृत्रिम बुद्धिमत्ता र स्वचालनको क्षेत्रमा काम गर्ने मानिसहरूलाई पनि भविष्यमा के हुनेछ भनेर थाहा नभएको देखिन्छ। उनीहरू पनि कृत्रिम बुद्धिमत्ताले मानवतामा पार्ने असरको बारेमा गम्भीरतापूर्वक सोचविचार नगरी एकपछि अर्को संस्करण शुरु गर्ने दौडमा रहेकोमा चिन्ता व्यक्त गर्दछन्।
यद्यपि, कतिपयले कृत्रिम बुद्धिमत्तालाई अत्यन्तै सकारात्मक रूपमा पनि लिने गरेका छन्। उनीहरूका अनुसार व्यक्तिगत तवरमा पनि कृत्रिम बुद्धिमत्ताले धेरै काम सहज र सरल बनाउने र छोटो समयमा सम्भव बनाउने कुरा अभिव्यक्त गर्छन्। साथै, कतिपयको धारणा भने कृत्रिम बुद्धिमत्ता सिर्जनात्मक नभएका, अल्छी र आलस्यहरूका लागि मात्र अभिशाप रहेको तर सिर्जनात्मक, आविष्कारशील र जाँगरिलाहरूका लागि भने वरदान रहेको पनि बताउँछन्।
केही भने कृत्रिम बुद्धिमत्ताको विकास आफैंमा गलत नभई विभिन्न कम्पनीबीच सहकार्य नभई प्रतिस्पर्धा हुनु गलत भएको धारणा राख्छन्। यहाँ आध्यात्मिक पाटो पनि जोडौं। आध्यात्मिक व्यक्तित्वहरू भने कृत्रिम बुद्धिमत्तालाई कल्कीको रूप वा आसुरी (दानवीय) शक्तिको रूपमा व्याख्या गर्छन्। यो सृष्टिमा आदिकालदेखि नै दैवी शक्ति र आसुरी शक्तिको बीचमा टकराव र प्रतिस्पर्धा हुने गरेको र दुवै पक्षले आफ्नो स्वामित्वका लागि सधैं प्रयास गरिरहने भएकाले कृत्रिम बुद्धिमत्ता दानवीय शक्तिको रूपमा आएको हुनसक्ने बताउँछन्।
अब कृत्रिम सामान्य बुद्धिमत्ता (एजीआई) लगायत अन्य उच्च संस्करणहरू लगभग दुईदेखि चार वर्षमा आउने भविष्यवाणी गरिएको छ। यी संस्करणहरू मानिस जस्तै बुद्धिमान हुने आकलन गरिएको छ। यसै क्षेत्रमा कार्यरत व्यक्तिहरू पनि अन्योलमा छन् भने हामी जस्ता सामान्य मानिसको लागि ‘पर्ख र हेर’ को अवस्थाभन्दा अरू विकल्प नहुन सक्छ। जेहोस्, सरसर्ती हेर्दा हामी अहिले विज्ञान र प्रविधिको विकासको चरम अवस्थाका साथै सङ्क्रमणकालमा छौं।
शायद अबको १० देखि २० वर्ष यो सङ्क्रमणकाल जारी रहनेछ। यद्यपि आशातीत कुरा के छ भने अहिलेसम्म बनेका कृत्रिम बुद्धिमत्तासँग हालसम्म बाहिर आएका र प्रकाशित भएका ज्ञान र जानकारीहरू मात्र छन् र ती सीमित छन् भने मानिस त्योभन्दा कैयौं गुणा क्षमतावान् र ज्ञानवान् छन्। अहिलेसम्म उपलब्ध भएका बाहेकका जानकारी, ज्ञान, सिर्जना र आविष्कारका अतिरिक्त असीमित ज्ञान, सीप र आविष्कार गर्ने मार्ग प्रशस्त रहेकोले त्यतातिर ध्यान केन्द्रित गर्दा उपयुक्त हुन सक्छ। साथै मानिसमा समय र परिस्थिति अनुसार अनुकूलन गर्न सक्ने क्षमता भएकाले कुनै न कुनै उपायद्वारा समायोजन सम्भव हुनेछ।
प्रतिक्रिया 4