२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ ।
सभापति देउवा भृकुटीमण्डपमा आज जाने सूचनाबारे केही व्यक्तिहरूले सामाजिक सञ्जालमा भ्रम फैलाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।
‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं’, देउवाको सचिवालयले भनेको छ ।
विशेष महाधिवेशन पक्षधरले आइतबारदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरेको छ । जस अन्तर्गत आज बिहान १० बजेदेखि बन्द सत्र कार्यक्रम सुरु गर्ने कार्यतालिका छ । बन्द सत्रका लागि तयारी भइरहेको छ ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्ने अधिकांश नेताहरूले सभापति देउवालाई बन्द सत्रमा सहभागी हुन आग्रह गरेका थिए । बन्द सत्रमा सहभागी भएर विशेष महाधिवेशनलाई सफल पार्न उनीहरूले आग्रह गरेका थिए ।
प्रतिक्रिया 4