News Summary
Generated by OK AI. Editorially reviewed.- इरानकी २५ वर्षीया मोर्टिशिया एडम्सले सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको तस्वीर चुरोट तान्दै जलाएकी छन्।
- मोर्टिशिया एडम्सले नोभेम्बर २०१९ को विरोध प्रदर्शनमा गिरफ्तार गरिएको र अहिले क्यानाडामा बस्दै आएकी बताएकी छन्।
- इरानमा जारी आन्दोलनमा सरकारले प्रदर्शनकारीमाथि गोली चलाएको र डिजिटल ब्ल्याकआउटले सम्पर्क कठिन भएको छ।
२८ पुस, काडमाडौं । ‘हरेक पटक म सडकमा थिएँ, यो पटक भइन । मलाई माफ गरिदेउ इरान आमा ।’ सामाजिक सञ्जालमा एक्स (ट्विटर) मा भेटिएको यो पोस्ट तिनै युवतीको हो जसले चुरोट तान्दै इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको तस्वीर जलाएकी थिइन् ।
एक्समा मोर्टिशिया एडम्स नामको ह्याण्डिलबाट पोस्ट गर्छिन् यी युवती । २५ वर्षीया यी इरानी युवती हाल क्यानाडामा बस्दै आएकी छन् । एडम्सले आफ्नो बायोमा र्याडिकल फेमिनिस्ट लेखेकी छन् ।
उनका अनुसार नोभेम्बर २०१९ मा भएको विरोध प्रदर्शनका दौरान उनलाई गिरफ्तार गरिएको थियो ।
मोर्टिशिया एडम्स अहिले इरानमा जारी आन्दोलनमा त्यहाँ हुन नपाएकोमा खिन्न छिन् । जारी आन्दोलनमा खामेनी सरकारले प्रदर्शनकारीमाथि गोली बर्साएको भन्दै उनले मृतक र पीडित परिवारसँग माफी मागेकी छन् ।
इस्लामिक गणतन्त्र इरानमा चरम आर्थिक संकटका बीच जारी आन्दोलन क्रममा यी युवतीले चुरोट तान्दै खामेनीको तस्वीर लाइटर बालेर जलाएको भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उनको एक्स अकाउन्टमा हेर्दा मोर्टिशियाले ८ जनवरीमा तस्वीर र ९ जनवरीमा खामेनीको तस्वीर जलाएको भिडियो अपलोड गरेको देखिन्छ । उनको आफ्नै अकाउन्टमा पनि उक्त भिडियो १४ लाखभन्दा बढी पटक हेरिएको छ ।

कपाल खुला छोडेर उन्मुक्त हुँदै चुरोट तान्दै खामेनीको तस्वीर जलाएको तस्वीरलाई धेरैले असाधारण विद्रोह भनेर प्रशंसा गरेका थिए । युवतीको उक्त विरोध शैलीले इरानी शासकलाई गतिलो झापड हानेको टिप्पणी गर्नेहरू पनि छन् । इरानमा महिला नै सत्ता विरोधी आन्दोलनमा सामेल हुनुलाई खामेनीको सत्ता बर्हिगमनको दिन नजिकिएको भनेर समेत टिप्पणी भइरहेको छ ।
किनकी इस्लामिक राज्य इरानमा महिलाले दैनिक जीवनमै अनेक किसिमका विभेद खेप्नुपर्छ । इरानी क्रान्तिको पोस्टर गर्ल बनेकी मोर्टिशिया एडम्सले भारतीय सञ्चारमाध्यम न्यूज१८ सँग कुरा गर्दै खामेनीको तस्वीर जलाएको विषयमा बोलकी छन् ।
उनका अनुसार उनको उक्त तस्वीर इरानमा जारी आन्दोलनका बीच इन्टरनेट बन्द हुनु अघिको हो । ‘टाढा भए पनि म इरानमा रहेका आफ्ना साथीहरूलाई भन्न चाहन्थें कि मेरो मन र आत्मा उनीहरूसँगै छ, म विश्वकै ध्यान इरानतर्फ आकर्षित गर्न चाहन्थें जहाँ युवायुवती सत्ताको गोली खाइरहेका छन्,’ उनले भनिन् ।
उनका अनुसार उक्त भारइल तस्वीरको ओरिजिनल भिडियो उनले क्यानाडाको रिचमन्ड हिल, ओन्टारियोमा खिचेकी हुन् ।
सर्वोच्च नेता खामेनीको तस्वीर जलाउनुको कारणबारे सोधिएको जिज्ञासामा मोर्टिशियाले भनिन्, ‘यो मेरो लागि बेइज्जती गरे सरह हुनेछ कि उनी इरानको तानाशाह हुन्, म उनलाई सर्वोच्च नेता मान्दिन, यदि इरानमा तपाईंले यस्तो गर्नु भयो भने यसलाई गम्भीर अपराध मानिनेछ तपाईंलाई मृत्युदण्ड समेत हुनसक्छ ।’
How about the video pic.twitter.com/A5L6JO22mq
— Morticia Addams (@melianouss) January 9, 2026
इरानका महिला निकै दबाबमा रहने गरेको भन्दै उनले भनिन्, ‘मौका मिल्नसाथ आक्रामकता देखाउन थाल्छन्, विश्वको ध्यानाकर्षण गर्न सकिओस् भनेर इरानका महिला अहिले प्रदर्शनमा छन्, इरानका महिला आफ्नो मानव अधिकार फिर्ता चाहन्छन् ।’
मोर्टिशियाले आफूलाई हिजाबदेखि घृणा रहेको भन्दै आफू टर्कीए हुँदै क्यानाडा पुगेको बताइन् ।
उनले भनिन्, ‘एक दिन इरानको प्रहरी मेरो घरमा आयो, मेरो पिताले ढोका खोल्नुभयो, उनीहरूले मेरो पितालाई धक्का दिए, मलाई गिरफ्तार गरेर लगे, कयौं दिन पछि मेरो परिवार पे–रोल (जमानत) लिन सफल भयो र म बाहिर आएँ, केही दिनपछि म इरानबाट टर्कीए आएँ, त्यसपछि मैले क्यानाडाको भिसा पाएँ ।’
साथै उनले गत २८ डिसेम्बरदेखि जारी आन्दोलनमा देशका सबै वर्गका नागरिक सहभागी भएको बताइन् । जेनजीले मात्र आन्दोलन गरेको भन्न नमिल्ने उनको भनाइ थियो ।
इरानमा सरकारले डिजिटल ब्ल्याकआउट घोषणा गरेको छ, जसकारण देशभित्र र बाहिर सम्पर्क स्थापित गर्न कठिनाइ परेको विवरणहरू आएका छन् । इन्टरनेट र टेलिफोन बन्द गराइएकाले प्रदर्शनकारी झन् आक्रोशित भएका अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएका छन् ।
प्रतिक्रिया 4