३० पुस, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने भएको छ ।
पालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कोषमा आबद्ध गराउन अनुशिक्षण गरेको छ । गाउँपालिका अध्यक्ष हिदम लामाकाअनुसार ४८ जना स्वयंसेविकालाई कोषमा आबद्ध गराउन प्रक्रिया अगाडि बढाइएको हो ।
‘पालिका भित्र आधारभूत स्वास्थ्य सेवा पुर्याइरहनु भएका ४८ जना महिला स्वयंसेविकालाई पालिकाले सहयोगदान गरेर केही दिनमै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदैछ,’ उनले भने ।
भीमफेदी गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने देशकै पहिलो स्थानीय तह हो । पालिकाले ०८० र ८१ सालमा गरेर यहाँ कार्यरत एकसय ९७ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको थियो । कोषमा आबद्ध धेरै श्रमिक निर्माण क्षेत्रका छन् ।
अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक १० हजार ८२० रुपैयाँ (महँगी भत्ताबाहेक) मा पारिश्रमिकबाट ११ प्रतिशत अर्थात १ हजार १९० रुपैयाँ र भीमफेदी गाउँपालिकाले ९ दशमलव ३७ प्रतिशत अर्थात १ हजार १४ रुपैयाँ गरी २ हजार २०४ रुपैयाँ सामाजिक सुरक्षा कोषमा जम्मा हुने गाउँपालिकाले जनाएको छ ।
भीमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच ३० साउन २०८० मा सम्झौता भएको थियो । कोषले ११ मंसिर २०७७ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको थियो ।
प्रतिक्रिया 4