News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य बैंकहरूले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर औसतमा ०.१४९५ प्रतिशत विन्दुले घटाएको छ।
- २० वटा बैंकमध्ये ११ बैंकले माघमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ८ बैंकले स्थिर राखेका छन्।
- राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि बोन्ड र स्थायी निक्षेप सुविधा मार्फत बैंकको पैसा खिचिरहेको छ।
३० पुस, काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै बैंकहरूको ब्याजदर थप घटेको हो । बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा ०.१४९५ प्रतिशत विन्दुले झरेको छ । पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.८३४ प्रतिशत रहेकोमा माघमा ४.६८४५ प्रतिशतमा झरेको छ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर स्वतः घट्छ ।
व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर माघमा ५.५ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ५.५ प्रतिशत ब्याजदर तय गरेको छ ।
पुसको तुलनामा माघमा ११ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ८ ले स्थिर राखेका छन् । एउटाले बढाएको छ । अधिकांशले ब्याजदर घटाएसँगै औसतमा ब्याजदर घटेको हो ।
ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स छन् ।
त्यस्तै स्थिर राखेकामा नेपाल, एनआईसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी छन् । एउटा बैंक प्राइम कमर्सियल बैंकले सामान्य बढाएको छ ।
छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् ।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।
राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि बोन्ड, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ ।
व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर (प्रतिशतमा)
| बैंक | पुसको ब्याजदर | माघको ब्याजदर |
| कृषि विकास | ४.५५ | ४.४ |
| सिटिजन्स | ४.७५ | ४.५ |
| एभरेस्ट | ४.७५ | ४.४ |
| ग्लोबल आईएमई | ५.५ | ५.५ |
| हिमालयन | ५.५ | ५ |
| इन्भेस्टमेन्ट मेगा | ५ | ५ |
| कुमारी | ४.५३ | ४.४३ |
| लक्ष्मी सनराइज | ४.७५ | ४.५ |
| माछापुच्छ्रे | ५ | ४.५ |
| नबिल | ४.५५ | ४.५५ |
| नेपाल | ५.१ | ५.१ |
| नेपाल एसबीआई | ४.५५ | ४.४ |
| एनआईसी एसिया | ५ | ५ |
| एनएमबी | ५ | ५ |
| प्राइम कमर्सियल | ४.२५ | ४.४ |
| प्रभु | ४.५५ | ४.५५ |
| राष्ट्रिय वाणिज्य | ५ | ५ |
| सानिमा | ४.७५ | ४.५५ |
| सिद्धार्थ | ५ | ४.५५ |
| स्टान्डर्ड चार्टड | ४.६ | ४.३६ |
प्रतिक्रिया 4