+
+
Shares

मनोनयन पत्रमा हस्ताक्षरकर्ताको नाम फेर्न मिल्छ ?

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ पुष ३० गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले मनोनयन पत्रमा हस्ताक्षरकर्ताको नाम फेर्न सकिने तर दलले आधिकारिक निर्णय गरी आयोगलाई पठाउनुपर्ने बताएको छ।
  • लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच एकीकरणपछि दलको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन परेको छ।
  • एकीकरणपछि जसपा नेपालमा नयाँ संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादव रहेका छन् र लोसपाका समानुपातिक उम्मेदवार फिर्ता लिइएको छ।

३० पुस, काठमाडौं । मनोनयन पत्रमा हस्ताक्षरकर्ताको नाम फेर्न सकिने वा नसकिने विषयमा बहस सुरु भएको छ । खासगरी नेपाली कांग्रेसमा विशेष महाधिवेशन भएपछि यो विषय सतहमा आएको छ ।

निर्वाचन आयोगका कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनयन पत्रमा हस्ताक्षर गर्ने उल्लेख छ । विशेष महाधिवेशन पक्षधरले उनको हस्ताक्षरलाई नमान्ने भनेको खण्डमा के हुन्छ भन्ने प्रश्न उब्जिएको हो ।

निर्वाचन आयोगका अनुसार मनोनयन पत्रमा हस्ताक्षर गर्ने व्यक्तिको नाम फेर्न सकिन्छ । तर, यसका लागि सम्बन्धित दलले आधिकारिक रुपमा निर्णय गरेर पठाउनुपर्छ र त्यसलाई निर्वाचन आयोगले स्वीकृति प्रदान गर्नुपर्छ ।

आगामी २१ फागुनमा लागि हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कुन दलको कसले मनोनयनपत्रमा हस्ताक्षर गर्ने भनेर निर्वाचन आयोगले संकलन गरिसकेको छ ।

प्रतिनिधिसभा निर्वाचन ऐनको दफा १९ मा मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकारी सम्बन्धी व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘दलले आफ्नो तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीलाई तोक्नु पर्नेछ ।’

त्यस्तो पदाधिकारीको नाम, थर, पद र उसको दस्तखतको नमूना दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले तोकेको पदाधिकारीले प्रमाणित गरी उम्मेदवारको लागि मनोनयनपत्र दाखिला गर्ने मिति अगावै निर्वाचन आयोगमा बुझाउनुपर्छ ।

प्रतिनिधिसभा निर्वाचनतर्फ समानुपातिक तर्फको मनोनयन यही पुस १३ र १४ मा भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आगामी माघ ६ गतेका लागि तोकिएको छ ।

निर्वाचन आयोगले मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकारीको दस्तखत नमूना सहितको विवरण मनोनयन पत्र दर्ता गर्न तोकिएको मिति अगावै सम्बन्धित निर्वाचन अधिकृत समक्ष पठाइसक्नु पर्छ । यसकारण उम्मेदवारको लागि मनोनयनपत्र दाखिला गर्ने मिति अगावै निर्वाचन आयोगमा बुझाउनुपर्ने प्रावधान छ ।

यस प्रावधान अनुसार निर्वाचन आयोगले गत मंसिर १ गतेदेखि १४ गतेसम्म मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकारीको नाम र हस्ताक्षर नुमना संकलन गरेको थियो ।

अब त्यस्तो व्यक्तिको नाम फेर्न चाहेको खण्डमा के हुन्छ भन्ने प्रश्न उब्जिएको हो ।

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका एक अधिकारीका अनुसार मनोनयन पत्रमा हस्ताक्षरकर्ताको नाम फेर्न चाहेको खण्डमा त्यसको कारणसहित निवेदन दिन सकिन्छ । पार्टी एकीकरण भएको वा अन्य कारणले विवरण अद्यावधिक गर्नु परेको हो भने त्यसलाई आयोगले अध्ययन गरेर निर्णय दिनेछ ।

‘कुनै पनि पार्टीले आधिकारिक रुपमा निर्णय गरेर पठायो र त्यसलाई निर्वाचन आयोगले स्वीकृति दियो भने मनोनयन पत्रमा हस्ताक्षरकर्ताको नाम फेरिन सक्छ’ एक अधिकारीले भने ।

यसबीचमा पार्टी एकीकरण भएपछि कतिपय दलका विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन समेत पुगेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)बीच एकीकरण भएको छ । एकीकरण पछि दलको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन पुगेको छ ।

गत आइतबार मात्रै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच एकीकरण सम्झौता भएको थियो । एकीकरणपछि पार्टीको नाम जसपा नेपाल राखिएको छ । पार्टीको चुनाव चिह्न छाता राखिएको छ ।

नवगठित पार्टीको संरक्षकमा महन्थ ठाकुर र अध्यक्षमा उपेन्द्र यादव रहेका छन् ।

दुई पार्टी एक भएपछि लोसपाले समानुपातिकतर्फ दिएको उम्मेदवारी फिर्ता लिएको छ । लोसपाका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन लगाएर जसपाको समानुपातिक सूचीमा राखिएको छ ।

दलको विवरण हेरफेरको निवेदनउपर भने निर्वाचन आयोग अध्ययनमा छ ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?