+
+
Shares

माघे सङ्क्रान्ति : कालिमाटीमा २२ लाख किलो कन्दमूल भित्रियो, स्वदेशी उत्पादनकै वर्चस्व

‘पुसको अन्तिम रात पकाउने र माघको पहिलो बिहान खाने’  सांस्कृतिक परम्परा अनुसार यतिबेला प्रत्येक घरका भान्सामा यी कन्दमूल उसिनिन्छन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ माघ १ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माघे सङ्क्रान्तिको अवसरमा कालीमाटी बजारमा पुस महिनामा २२ लाख ६ हजार ७ सय १४ किलो कन्दमूल आपूर्ति भएको छ।
  • तरुलमा नेपाल ९२ प्रतिशत आत्मनिर्भर रहेको छ भने सखरखण्डमा भारतीय आयातको हिस्सा केही बढी छ।
  • माघे सङ्क्रान्तिमा कन्दमूलको माग उच्च भएकाले बजारमा मूल्य स्थिर र आपूर्ति पर्याप्त रहेको छ।

१ माघ, काठमाडौं । नेपाली मौलिकता बोकेको माघे सङ्क्रान्ति भन्ने बित्तिकै मानसपटलमा तरुल, सखरखण्ड र पिँडालुजस्ता कन्दमूलको स्वाद झल्किन्छ ।

‘पुसको अन्तिम रात पकाउने र माघको पहिलो बिहान खाने’  सांस्कृतिक परम्परा अनुसार यतिबेला प्रत्येक घरका भान्सामा यी कन्दमूल उसिनिन्छन् ।

घिउ-चाकु, तिलको लड्डु र सेलरोटीको स्वादसँगै सपरिवार बसेर खाइने यी परिकारले यो चाडलाई थप उल्लासमय बनाउँछन् । विशेषगरी मगर र थारु समुदायले यसलाई आफ्नो सबैभन्दा ठूलो र महत्त्वपूर्ण सांस्कृतिक उत्सवका रूपमा धुमधामसँग मनाउने गरेका छन् ।

माघे सङ्क्रान्तिकै लागि मुलुकको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा कन्दमूलको व्यापारले नयाँ उचाइ लिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस वर्ष कन्दमूल आपूर्तिमा उल्लेख्य वृद्धि भएको देखाएको छ ।

समिति तथ्यांक अनुसार यस वर्ष पुसमा मात्रै कालीमाटी बजारमा २२ लाख ६ हजार ७ सय १४ किलो (करिब २ हजार २ सय ६ टन) कन्दमूल भित्रिएको छ ।

कालीमाटी तरकारी बजार

यो परिमाण गएको वर्ष २०८१ को तुलनामा निकै उत्साहजनक हो । गत वर्ष सोही अवधिमा १५ लाख ७० हजार ५५ किलो कन्दमूल भित्रिएको थियो ।

यस वर्ष सबैभन्दा बढी तरुलको हिस्सा रहेको छ, जसको आपूर्ति १३ लाख ६१ हजार ७ सय ६९ किलो पुगेको छ । यस्तै सखरखण्ड ५ लाख ९८ हजार १ सय ४७ किलो र पिँडालु २ लाख ४६ हजार ७ सय ९८ किलो बजार आएको छ ।

वनतरुल सबैभन्दा महँगो

बजारमा पाइने कन्दमूलको विविधता र मूल्यले पनि यतिबेला उपभोक्ताको ध्यान खिचेको छ । आपूर्ति बढे पनि ‘वनतरुल’ को माग र मूल्य दुवै उच्च देखिएका छन् । समितिको ३० पुसको मूल्य विवरण अनुसार वन तरुलको थोक मूल्य प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँसम्म पुगेको छ ।

त्यस्तै औषधीय गुण मानिने स्कुसको जरा प्रतिकिलो १ सय ८० देखि २ सय रुपैयाँमा किनबेच भइरहेको छ भने पाताले तरुलको मूल्य ९० देखि १ सय २० रुपैयाँको बीचमा छ ।

अन्य प्रजातिमा आकाशे तरुल ८० देखि १ सय रुपैयाँ, हात्ती पाइला ७० देखि ८० रुपैयाँ र सिमल तरुल ६० देखि ७० रुपैयाँसम्ममा उपलब्ध छन् ।

सामान्य घर तरुल र सखरखण्ड भने उपभोक्ताका लागि केही सुलभ बनेका छन्, जसको मूल्य प्रतिकिलो ४० देखि ७० रुपैयाँ हाराहारी छ । यो मूल्य होलसेल भए पनि खुद्रामा भने उपभोक्ताले अलि बढी महँगो तिर्नुपर्ने हुन्छ ।

काठमाडौं बुद्धनगरस्थित तरकारी व्यवसायी राज तामाङले स्वदेशी तरुलकै माग बढी रहेको बताए । ‘नेपाली तरुलको स्वाद मिठो हुने हुँदा महँगो पर्न गए पनि माग उच्च छ,’ उनले भने, ‘उपभोक्ताको रोजाइमा वनतरुल र सिमल तरुल रहेको छ, सखरखण्ड र तरुल पनि राम्रै बिक्री भइरहेको छ ।’

उनले प्रजाति अनुसार प्रतिकिलो १ सय २० देखि ४ सय रुपैयाँसम्म बेचिरहेको बताए ।

तरुलमा नेपाल आत्मनिर्भरतर्फ

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ तरुलमा नेपाल झन्डै आत्मनिर्भर रहेको बताउँछन् ।

‘बजारमा भित्रिएको कुल तरुलमध्ये करिब ९२ प्रतिशत स्वदेशी उत्पादन नै हो,’ उनले भने, ‘बाँकी ८ प्रतिशत मात्रै भारतीय बजारबाट आएको देखिन्छ ।’

तरुल र पिँडालुमा नेपाल निकै बलियो देखिए पनि सखरखण्डको हकमा भने भारतीय आयातको हिस्सा केही बढी रहेको उनको भनाइ छ ।

आन्तरिक उत्पादनको कुरा गर्दा सर्लाही जिल्लाले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । सर्लाहीबाट मात्रै ६ लाख ७७ हजार ३ सय ३१ किलो कन्दमूल काठमाडौं आएको छ, जुन कुल आपूर्तिको ठूलो हिस्सा हो । कुल तरुलको मात्रै हिसाब गर्दा पनि करिब ५० प्रतिशत आपूर्ति सर्लाहीबाट भएको छ ।

सर्लाहीसँगै धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुली, काभ्रे, सुनसरी, मोरङ र दोलखाजस्ता जिल्लाबाट पनि उल्लेख्य परिमाणमा तरुल भित्रिएको छ ।

आन्तरिक उत्पादनले माग धान्न नसकेको केही हिस्सा भने भारतबाट आयात गरिएको छ, जहाँबाट मुख्यत: सखरखण्ड र केही परिमाणमा तरुल गरी ४ लाख ७४ हजार ७ सय किलो आएको छ ।

व्यापारिक माहोल

पुस अन्तिम साता भएकाले अहिले कालिमाटीमा उपभोक्ता र खुद्रा व्यापारीहरूको भिड लागेको छ । ‘यो सिजन कन्दमूलको मुख्य व्यापार हुने समय हो,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘आपूर्ति पर्याप्त भएकाले मूल्यमा पनि ठूलो उतारचढाव आएको छैन, जसले गर्दा उपभोक्तालाई केही राहत मिलेको छ ।’

मूल्य फरक–फरक हुने र ठूलो परिमाणमा कारोबार हुने भएकाले ठ्याक्कै कति रुपैयाँ बराबरको आर्थिक कारोबार भयो भनेर भन्न नसकिने उनी बताउँछन् ।

माघे सङ्क्रान्तिका दिन कन्दमूल खाने धार्मिक एवं स्वास्थ्यगत महत्त्व छ । चिसो मौसममा शरीरलाई ऊर्जा र न्यानो दिने भएकाले पनि यतिबेला तरुल, पिँडालु र सखरखण्डको माग वर्षभरिकै उच्च हुने गर्दछ ।

आपूर्तिमा भएको वृद्धिसँगै बजारमा देखिएको यो चहलपहलले किसान र व्यापारी दुवैमा उत्साह थपेको छ । उपत्यकाका मुख्य बजारदेखि चोक–चोकमा रहेका साना पसलमा समेत यतिबेला तरुलका विभिन्न प्रजाति सजाएर राखिएको देख्न सकिन्छ, जसले माघे संक्रान्तिको मौलिक र सांस्कृतिक सुगन्ध छरिरहेको छ ।

यस्तो छ आयात तथ्यांक

भन्सार विभागको पछिल्लो पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा नेपालमा तरुल र सखरखण्ड आयातमा निकै उतारचढाव आएको देखिन्छ ।

तरुलको वैदेशिक खरिद प्रवृत्ति हेर्दा आर्थिक वर्ष २०७७/७८ मा ११ लाख ५९ हजार रुपैयाँ बराबरको ३३ हजार किलो आयात भई यो उच्च बिन्दुमा पुगेको थियो । यस्तै सोही वर्ष १ करोड ९९ लाख २६ हजार रुपैयाँको ११ लाख ४९ हजार ८ सय ९३ किलो सखरखण्ड आयात भएको थियो ।

त्यसपछिका वर्षहरूमा आयातमा निकै गिरावट आयो, जहाँ २०७८/७९ मा ४५ हजारको २४ हजार किलोमा खुम्चिएको तरुल आयात २०७९/८० मा त पूर्णत: शून्यमा झरेको देखिन्छ ।

यस्तै २०७८/७९ मा २ करोड ५८ लाख ४२ हजार रुपैयाँको १० लाख २३ हजार ६ सय ४३ किलो सखरखण्ड आयात भएको भन्सारको तथ्यांकले देखाउँछ ।

२०७९/८० मा भने तरुल आयात नहुँदा सखरखण्ड मात्रै २ करोड ९३ लाख ८० हजार रुपैयाँको १२ लाख ३७ हजार ८ सय ३३ किलो आयात भएको थियो ।

आव २०८०/८१ मा भने ४२ लाख ६० हजार रुपैयाँको १० लाख ३ सय ४० किलो तरुल भित्रिएको थियो । सोही वर्ष ४ करोड २० लाख ९८ हजारको १२ लाख ३१ हजार ७ सय ७७ किलो सखरखण्ड आयात भएको थियो ।

गत आव २०८१/८२ मा २३ लाख २७ हजार रुपैयाँको ५३ हजार ६ सय १० किलो तरुल आयात हुँदा ४ करोड ५० लाख ७६ हजारको ११ लाख ६८ हजार ८ सय ८६ किलो सखरखण्ड आयात भएको तथ्यांकमा उल्लेख छ ।

यसैगरी चालु आव पहिलो पाँच महिना (साउन–मंसिर) सम्म २ लाख ८१ हजार रुपैयाँको ६ हजार ६ सय ७० किलो तरुल आयात भएको छ भने २ करोड ४५ लाख ८८ हजार रुपैयाँको ६ लाख ३६ हजार ९ सय १५ किलो सखरखण्ड आयात भएको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?