चार दिनसम्म भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापति चयन गर्यो । त्यसअघि नै शेरबहादुर देउवा पक्षले थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। परिणाममा मुलुकको सबैभन्दा बलशाली दल फुटेको छ।
नेपाली कांग्रेसको यो विभाजनलाई विश्लेषक विष्णु सापकोटा समयको चेतलाई चिन्ने र स्वार्थको राजनीति गर्नेहरू बीचको टकरावको परिणाम भन्न रुचाउँछन्। कुशासनसहितको सग्लो कांग्रेसभन्दा विभाजितै भए पनि परिवर्तन र सुधारसहितको कांग्रेस सही भएको उनको निष्कर्ष छ। कांग्रेस विभाजन र यसले पार्ने असरको विषयमा विश्लेषक विष्णु सापकोटासँग अनलाइनखबरकर्मी सन्त गाहामगरले गरेको संवाद:
नेपाली कांग्रेसको विभाजनलाई कसरी व्याख्या गर्नुहुन्छ ?
कांग्रेसमा यो घटना एक हिसाबले अवश्यम्भावी नै थियो। प्राविधिक रूपमा कुन पक्षले वैधानिकता पाउँछ भन्ने एउटा पाटो होला, तर समग्रमा यो कांग्रेसभित्रका दुई फरक विचार र प्रवृत्ति बीचको टकराव हो। एउटा धारको नेतृत्व दुई महामन्त्रीहरू (गगन थापा र विश्वप्रकाश शर्मा) ले गर्नुभएको छ, जसले समयको चेतलाई चिन्नुपर्छ र अगाडि बढ्नुपर्छ भन्छ। अर्को धार- सत्ता नै सत्य हो भन्ने स्वार्थको राजनीतिमा टिकेको छ, जसको नेतृत्व विगत केही दशकदेखि शेरबहादुर देउवाले गरिरहनुभएको छ।
खासमा यो अग्रगमन र सुशासनको मुद्दा बोक्नेहरू र सत्ता नछाड्ने यथास्थितिवादी बीचको संघर्ष हो। देउवाले संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवारी मोह नत्याग्नु नै यसको मूल चुरो हो।
देउवाजीको नेतृत्वमा सग्लो कांग्रेस रहनुभन्दा, फुटेरै भए पनि सुशासनको पक्षमा एउटा बलियो शक्ति निर्माण हुनु दीर्घकालीन रूपमा देश र लोकतन्त्रका लागि फाइदाजनक छ। कांग्रेसलाई सग्लो राख्नुको अर्थ कुशासनलाई नै निरन्तरता दिनु हुन्थ्यो, त्यसैले यसबाट मुक्त बनाउनु अनिवार्य भइसकेको थियो।
कांग्रेसलाई सग्लै राखेर त्यहाँभित्र सुधार र परिवर्तन गर्न सकिने गुञ्जायस थिएन र ?
गुञ्जायस नै थिएन त भन्न सकिएन। तर पुरानो संस्थापन पक्षको संरचनाले गर्दा त्यो कठिन देखिन्थ्यो। देउवाजीको वरिपरि रहेका केही व्यक्तिहरू आफ्नो व्यक्तिगत क्षमता वा भिजनले एउटा उद्देश्य प्राप्तिका लागि भन्दा पनि ‘देउवा रहेसम्म मात्र मेरो अस्तित्व छ’ भन्ने मानसिकतामा छन्। १२–१५ भाइले देउवाको साथ छोडेको भए सग्लो राखेरै अग्रगामी कांग्रेस बनाउन सम्भव थियो।
यसमा शेखर कोइरालाको भूमिका पनि जोडिन्छ। उहाँको आफ्नै स्पष्ट राजनीतिक दृष्टिकोणभन्दा पनि कोइराला विरासत र देउवालाई विगतमा दिएको चुनौतीका कारण नेताको पहिचान बनाउनुभएको थियो। तर, उहाँ पनि अन्ततः देउवातिरै जोडिनुभएपछि परिस्थिति विभाजनकै मोडमा पुगेको हो। एउटा कुरा प्रष्ट छ- देउवा नै संसदीय दलको नेता हुने र उहाँ नै सर्वेसर्वा भएर टिकट बाँड्नु भनेको यो देशको सुशासन र जेनजी पुस्ताको मागको हिसाबले हानिकारक थियो।
पार्टी फुट्नुलाई सकारात्मक भन्ने कुरा त भएन। तर देउवाले नेतृत्व गरेको सग्लो कांग्रेस वा जे जत्रो होला, सुशासनका लागि विद्रोह गरेको समूहले नेतृत्व गरेको कांग्रेसमध्ये एउटा नागरिकको हिसाबले मैले दोस्रो विकल्प रोज्थें। देशकै सुशासनका लागि पनि दोस्रो विकल्प ठीक हो भन्ने लाग्छ।
वैधानिकताको विवाद निर्वाचन आयोग वा अदालत पक्कै पुग्ला। कथंकदाचित देउवा पक्षले वैधानिकता पायो भने यहाँले भन्नुभए जस्तो सुधार र परिवर्तन चाहनेहरू कांग्रेसमा रित्तिने भए होइन ?
वैधानिकताको प्रश्न प्राविधिक मात्र होइन, राजनीतिक पनि हो। यदि ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् भने राजनीतिक रूपमा ‘वैध कांग्रेस’ गगन–विश्वले नेतृत्व गरेकै कांग्रेस हो। तर, हाम्रो देशका संवैधानिक आयोगहरूको इतिहास र त्यहाँ नियुक्त आयुक्तहरूको बफादारी कता होला भन्ने विगतको अनुभवले शंका गर्ने ठाउँ दिन्छ। निष्पक्षतामा समस्या देखिँदैन भन्न सकिँदैन।
आम नागरिक र कार्यकर्ताको ठूलो हिस्साको समर्थन कुन पक्षलाई छ भन्ने कुरा मुख्य हो। यदि देउवा पक्षले प्राविधिक रूपमा वैधानिकता पाइहाल्यो भने पनि गगन–विश्वले नेतृत्व गरेको कांग्रेस अभियान चुप लागेर बस्दैन। उनीहरूले सुशासन र देशले लिनुपर्ने मुद्दा उठाएर यस्तो शक्ति निर्माण गर्नेछन् कि त्यो नै भविष्यको मुख्य कांग्रेस हुनेछ।
चुनावमै भाग लिन नपाउने अवस्था आयो भने के अर्थ भयो र ?
हो, प्राविधिक रूपमा उनीहरू पछि पर्न सक्छन्, तर गगन–विश्वले नेतृत्व गरेको कांग्रेस एउटा शक्तिशाली अभियानको रूपमा रहिरहनेछ। उनीहरू चुप लागेर बस्दैनन्। यदि निर्वाचनमा भाग लिन पाएनन् भने पनि उनीहरूले सडकबाट सुशासन र देशका ज्वलन्त मुद्दाहरू यसरी उठाउनेछन् कि त्यो झन् ठूलो शक्तिको रूपमा उदाउनेछ।
पाँच वर्षपछिको निर्वाचनको तयारी गर्नेछन्। देशको इतिहासमा पाँच वर्ष भनेको धेरै लामो समय होइन। जो समाज बदल्छु भनेर यो अभियानमा लागेका छन्, उनीहरू टिक्नेछन्। कांग्रेस भनेको सत्ताकै लागि मात्र हो भनेर केवल पद र स्वार्थका लागि राजनीति गर्नेहरू देउवातिरै लाग्छन्। त्यसैले, प्राविधिक रूपमा जे भए पनि कांग्रेस अभियानको वैचारिक मूल्य र शक्ति स्थापित भइरहनेछ भन्ने लाग्छ।
मुलुकको पुरानो लोकतान्त्रिक पार्टीको विभाजनको असर कांग्रेसभित्र त छँदैछ, समग्र मुलुकको राजनीतिमा के पर्ने देख्नुहुन्छ ?
समय धेरै अगाडि बढिसकेको छ। परिवर्तन र यथास्थितिवादको द्वन्द्व: एकातिर युवा र समाजले राजनीतिमा परिवर्तन खोजिरहेको छ, अर्कोतिर पुराना पार्टीहरूमा संस्थापन पक्षले सत्ता हाइज्याक गरेर बसेको छ। यो घटनाले त्यो खाडललाई अझ प्रष्ट पारेको छ।
माघ ६ गतेको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार दर्ता गर्ने समय नजिकिँदै गर्दा कांग्रेस विवाद निर्वाचन आयोग पुग्नाले चुनावी माहोलमा केही अनिश्चितता थपेको छ। चुनाव केही सर्ने हो कि भन्ने संशय पैदा भएको छ। राजनीतिक प्रतिद्वन्द्विताका हिसाबले एमालेका लागि यो खुसीको कुरा हुन सक्छ।
बचेखुचेको देउवा पक्षसँग चुनावी तालमेल गर्न उनीहरूलाई सहज हुनेछ। गगन–विश्वको पक्षले भ्रष्टाचार र अकर्मण्यता विरुद्ध जुन विद्रोह गरेको छ, यसले एमाले र अन्य दलभित्रका सुधारवादीहरूलाई पनि एउटा सकारात्मक सन्देश र चुनौती दुवै दिएको छ।
२०५९ मा विभाजित भएको कांग्रेस एकीकरण नहुँदासम्म २०६४ को संविधान सभा निर्वाचन भएन। त्यतिबेला ‘कांग्रेस एक नभई चुनाव हुँदैन’ भन्ने भाष्य बनेको थियो। यस पटक पनि त्यस्तै हुने सम्भावना देख्नुहुन्छ ?
यो घटनाले चुनावको सुनिश्चिततालाई केही प्रतिशत घटाएकै छ। कतिपय शक्तिहरू पहिलादेखि नै अदालत वा अन्य माध्यमबाट चुनाव रोक्न चाहन्थे, उनीहरूलाई यसले बल पुगेको छ। सुनिश्चितताको मात्रा घटेको छ तर मलाई लाग्दैन कि यही कारणले चुनाव नै रोकिन्छ।
यदि निर्वाचन आयोगले बहुमतको आधारमा नयाँ नेतृत्वलाई वैधानिकता दियो भने कांग्रेस नयाँ ढंगले अगाडि बढ्छ र देउवा पक्षका धेरै पात्रहरू विस्तारै पाखा लाग्छन्। तर, यदि देउवा पक्षले वैधानिकता पायो भने गगन–विश्व पक्ष एउटा वैचारिक अभियानको रूपमा रहँदै नियमित महाधिवेशनमार्फत पुनरागमनको प्रतीक्षा गर्नेछ। यसले मनोवैज्ञानिक रूपमा केही अन्योल थपे पनि निर्वाचनको प्रक्रिया भने अघि बढ्नेछ।
प्रतिक्रिया 4