News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि हस्ताक्षर फिर्ता लिएको ८८५ प्रतिनिधिको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ।
- गगन थापा नेतृत्वको टोलीले विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति गठन गरेको दुई दिनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले हस्ताक्षर फिर्ता प्रमाण बुझाएको दाबी गरेको छ।
- निर्वाचन आयोगले कांग्रेसको आधिकारिकता विवादमा विधिसम्मत निर्णय दिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्।
२ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको भनिएका ८ सय बढी प्रतिनिधिहरूको हस्ताक्षर फिर्ताको कागजात निर्वाचन आयोगमा बुझाएको छ ।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमिति गठन गरेको दुई दिनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आयोगमा ८८५ प्रतिनिधिहरूको हस्ताक्षर फिर्ताको प्रमाण बुझाएको दाबी गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अनलाइनखबरसँग विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको प्रमाण आयोगसमक्ष बुझाइएको प्रतिक्रिया दिए ।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिताको दाबी गर्दै आयोगमा पत्र बुझाएको एकदिनपछि शुक्रबार कार्यवाहक सभापति खड्का पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यसँगै भ्रातृ संगठनहरूसहितको दलबलका साथ आयोग पुगेका थिए ।
कांग्रेस टोलीसँगको भेटमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आधिकारिकता विवादको सन्दर्भमा आयोगले विधिसम्मत निर्णय दिने बताएका छन् ।
प्रतिक्रिया 4