News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनावअघि गरिने गठबन्धनको च्याप्टर क्लोज भएको र अब एक्लाएक्लै चुनाव लड्ने बाटो खुलेको बताएका छन्।
- शर्माले विशेष महाधिवेशनबाट पारित भएको चुनावअघि गठबन्धन नगर्ने नीतिलाई कार्यान्वयन गर्ने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता जनाएका छन्।
- शर्माले निर्वाचनपछि दिनको १८ घण्टा काम गर्ने र नवीन कांग्रेसले सम्पूर्ण नागरिकमा विश्वास जगाउने आशा व्यक्त गरेका छन्।
२ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनावअघि गरिने गठबन्धनको च्याप्टर क्लोज भएको बताएका छन् । दलको आधिकारिक मान्यता आफ्नो पक्षलाई निर्वाचन आयोगले दिएलगत्तै सामाजिक सञ्जालबाट लाइभ गर्दै शर्माले अब एक्लाएक्लै चुनाव लड्ने बाटो खुलेको बताएका छन् ।
‘प्रिपोल एलायन्सको च्याप्टर छोडेर जाऔं, सबै एक्लाएक्लै लडेर जाऔं,’ शर्माले भने, ‘ऊ र ऊ मिलेको छ, ऊ र ऊ मिलेको छ । यो कुरा नागरिकलाई मन परेको छैन ।’
प्रधानमन्त्री पदलाई हेरेर चुनावअघि गरिने गठबन्धन अब नहुने उनले बताएका छन् । ‘केवल देख्दा प्रधानमन्त्रीको कुर्सी मात्र देखेर गरिने गठबन्धनहरु अब खारेज भएका छन्,’ उपसभापति शर्माले भने, ‘एक्लाएक्लै प्रतिस्पर्धा गरौ । सरकार बनाउने बेला पुगेन भने त्यही बेला आवश्यक गणितबारे कुरा गरौं ।’
चुनाव अघि गठबन्धन नगर्ने सहित एक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री तीन पटकमन्त्री र चार पटक सांसदको नीति पनि विशेष महाधिवेशनबाट पारित भएको छ । शर्माले विशेष महाधिवेशनबाट पारित भएको नीति अब कार्यान्वयन हुने बताए ।
आधा घण्टा लामो लाइभमा शर्माले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता गरेका छन् । विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर नगरेका र गरकोबीच कुनै भेदभाव नहुने उनले बताएका छन् ।
आयोगले आधिकारिकता दिएसँगै भइरहेका दिपावलीमा समेत जयपराजयको अनुभूति नदिन उनले आग्रह गरेका छन् । तर नेताहरुलाई मतभेदमा नअल्मलिन पनि आग्रह गरेका छन् ।
‘केन्द्रमा रहेका नेताहरुलाई त्यहाँ (जिल्लामा) रहेका साथीहरुले अल्मलिनु हुँदैन है भन्नुपर्छ,’ शर्माले भने । चुनावको मिति नजिकिएकाले अब दिनको १८ घण्टा काम गर्ने पनि उनले बताए ।
‘२ माघ पछि हामी निर्वाचनमा होमियौं । अब दिनको १८÷१८ घटा पनि काम गर्छौ,’ शर्माले भने । जेनजी आन्दोलन पछि बदलिएको परिवेशमा बनेको नवीन कांग्रेसले सम्पूर्ण नागरिकमा विश्वास जगाउने उनले विश्वास दिलाए ।
‘यो प्रत्येक नेपालीबीच विश्वास जगाउने घडीमा पनि हो । आउनुस्, यो आशाको दियोमा तेल थप्दै विश्वास जगाऔं,’ उपसभापति शर्माले आग्रह गरे ।
प्रतिक्रिया 4