४ माघ, जनकपुरधाम । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मधेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नै पार्टी दर्ता गराएका छन् ।
उनले केही समयअघि आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका हुन् । सोही पार्टीबाटै आफू सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न लागेको सिंहले बताए ।
यद्यपि उनको राम नेकपा एमालेले सोही क्षेत्रबाट उम्मेदवारको रुपमा गरेको छ । मुख्यमन्त्री सिंहले पहिलेदेखि कुराकानी भइरहेकोले एमालेले समर्थन गर्ने हिसाबले आफ्नो नाम उम्मेदवारको रुपमा राखेको हुनसक्ने बताए ।
‘हुन सक्छ सपोर्ट गर्ने हिसाबले मेरो नाम एमालेले राखेको हुन सक्छ । धेरै पार्टीबाट फोन समेत आयो’, उनले अनलाइनखबरसँग भने, ‘तर, मैले मधेशवादी दल आफैं खोलेर त्यसबाट चुनाव लड्ने तयारी गरेको हुँ ।’
उनी गत २०७९ को निर्वाचनमा क्षेत्र नम्बर २ (क) बाट जनमतबाट चुनाल लडेर जितेका थिए । उनलाई जनमतले मधेश प्रदेश सभामा अर्थ समितिका सभापति र पछि मुख्यमन्त्री समेत बनाएको थियो ।
जेनजी आन्दोलनको क्रममा जनमतका केन्द्रीय अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनी फेसबुकमा राजीनामा दिएका थिए । तर, पछि कुरा फेरेपछि जनमतले नै समर्थन फिर्ता लिएपछि विवादित बनेका थिए । त्यसबेलादेखि पार्टीभित्र उनको कुरा मिलेको थिएन ।
जसपाका निवर्तमान प्रतिनिधि सांसद रहेका नवल किशोर शाहका छोरा सुमितकुमार शाहसँग मिलेर पार्टी खोलेको सिंहले बताए । सप्तरी क्षेत्र नम्बर १ बाट साह उम्मेदवार बन्ने तयारी रहेको उनको भनाइ छ ।
उम्मेदवारको लागि सिंहले आजै मधेश प्रदेश सभामा सांसद पदबाट राजिनामा बुझाउने तयारी गरेका छन् ।
प्रतिक्रिया 4