+
+
Shares

माघे संक्रान्तिमा ससुराली जाँदा ज्वाइँलाई टक्र्याइयो १३७४ परिकार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आन्ध्र प्रदेशको गुन्टूर जिल्लामा एक परिवारले माघे संक्रान्तिमा नयाँ ज्वाइँका लागि १ हजार ३७४ प्रकारका परिकार तयार पारेको थियो।
  • कोनसीमा क्षेत्र अतिथि सत्कारका लागि प्रसिद्ध छ र यहाँको परम्परागत भोजमा स्थानीय परिकार र विशेष आइटमहरू समावेश थिए।

माघे संक्रान्ति भर्खरै सकिएको छ । नेपालमा फरक-फरक समुदायले फरक-फरक तरिकाले यो पर्व मनाउने गरेका छन् । यसै माघे संक्रान्तिमा छिमेकी मुलुक भारतमा एक ज्वाइँलाई गरिएको सत्कारको विषय निकै चर्चित बनेको छ । आन्ध्र प्रदेशस्थित गुन्टूर जिल्लामा पर्ने तेनाली गाउँको एउटा परिवार यस वर्षको माघे संक्रान्ति पर्वको आकर्षणको केन्द्र बन्यो ।

उक्त परिवारले सामाजिक सञ्जाल तथा अन्य मिडियामा व्यापक चर्चा पाउनुको कारण थियो- ज्वाइँका लागि गरिएको भव्य स्वागत सत्कार ।

भारतीय मिडियामा आएका समाचार अनुसार यस परिवारले आफ्नो नयाँ ज्वाइँलाई खुवाउनका लागि १ हजार ३७४ प्रकारका परिकार तथा मिठाइ तयार पारेको थियो । यति विशाल भोज देखेर सबै चकित परे र यो खबर तीब्र रूपमा सबैतिर फैलियो ।

विज्जापु वेंकट रत्नम र उनकी पत्नी सुशीलाले आफ्नी छोरी कीर्तिश्री र ज्वाइँ बोड्डु साई शरतका लागि उक्त भव्य भोजको आयोजना गरेका थिए ।

परिकारहरूको संख्या मात्र होइन तिनको तयारी र सजावट पनि हेर्नलायक थियो । हरेक परिकार अत्यन्तै स्नेह र मेहनतका साथ बनाइएका थिए र सुन्दर ढंगले टेबलमा सजाइएका थिए । यो भोज देखेपछि मानिसहरूले कोनसीमा क्षेत्रको प्रसिद्ध पाहुना सत्कार परम्परा पुनः स्मरण गरे । उक्त क्षेत्र अतिथि सत्कारका लागि चर्चित छ।

‘आन्ध्रको केरला’ भनेर चिनिने आन्ध्र प्रदेशको सुन्दर कोनसीमा क्षेत्र प्राकृतिक सौन्दर्य, नरिवलका बगैँचा, ब्याकवाटर र शान्त वातावरणसँगै मानिसहरूको न्यानो आतिथ्यका लागि प्रसिद्ध छ । यहाँ पाहुनालाई परिवारका सदस्यझैँ व्यवहार गरिन्छ । माया, सम्मान र स्वादिष्ट स्थानीय परिकार, विशेषगरी सीफुड खान दिइन्छ । चाडपर्व र विवाहमा भव्य भोज आयोजना गर्नु यहाँको विशेषता हो ।

नयाँ ज्वाइँ शरत आफ्नो बिहेपछि पहिलोपटक संक्रान्ति मनाउन ससुराली गएका थिए । बिहेपछि पहिलो पटक ससुराली जानुलाई तेलुगु परिवारमा अत्यन्त शुभ मानिन्छ । यही कारण घरपरिवारले यो अवसरलाई विशेष बनाउन धेरै तयारी गरेका थिए । छोरी र ज्वाइँको स्वागतका लागि विशेष बोर्ड, फोटो प्वाइन्ट र आत्मीय सन्देशहरू राखिएका थिए, जसले वातावरणलाई अझ सुन्दर र भावुक बनाएको थियो ।

भोजका साथै ज्वाइँलाई १२ खालका विशेष उपहार पनि प्रदान गरियो । यी उपहार वर्षका १२ महिनाको प्रतीक मानिन्छन् र वर्षभरि नै सुख, समृद्धि र शुभकामनाको सन्देश यसमा हुन्छ । भोजनमा घरमै बनाइएका परम्परागत खानेकुरा, विभिन्न स्थानीय परिकार, ताजा फलफूल, प्राकृतिक जुस र राज्यका विभिन्न भागबाट मगाइएका विशेष आइटमहरू समावेश थिए । उक्त भोजको विविधता र तयारी देखेर मानिसहरूले सो परिवारको समर्पण र प्रेमको खुलेर प्रशंसा गरेका थिए ।

एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?