News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्डले फिनल्यान्डको हेलसिन्कीमा १५ देखि १८ जनवरी २०२६ सम्म आयोजना भएको माट्का मेलामा नेपाल प्रवर्द्धन गरेको छ।
- मेलामा नेपाललाई साहसिक, प्रकृतिमुखी, सांस्कृतिक तथा दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न राष्ट्रिय प्याभिलियनमार्फत प्रभावकारी प्रस्तुतीकरण गरिएको थियो।
- नेपाल–फिनल्याण्ड समाजको सहकार्यमा विशेष नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो र दिगो पर्यटन अभ्यास विषयमा प्रस्तुतीकरण गरिएको थियो।
४ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेला माट्का २०२६ मा नेपाल प्रवर्द्धन गरेको छ ।
फिनल्यान्डको हेलसिन्की एक्स्पो तथा कन्भेन्सन सेन्टरमा १५ देखि १८ जनवरी २०२६ सम्म आयोजना भएको मेलाले नर्डिक बजारमा नेपाललाई साहसिक, प्रकृतिमुखी, सांस्कृतिक तथा दिगो पर्यटन गन्तव्यका रूपमा थप सुदृढ रूपमा स्थापित गर्न सहयोग पुर्याएको बोर्डको भनाइ छ ।
मेलामा नेपाललाई समर्पित राष्ट्रिय प्याभिलियनमार्फत नेपालको पर्यटन सम्भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो । उक्त प्याभिलियनमा विभिन्न कम्पनीले नेपालको प्रडक्टबारे जानकारी गराएका थिए ।
मेलाको अवधिभर नेपाल पर्यटन बोर्ड तथा सहभागी पर्यटन व्यवसायीहरूले नर्डिक क्षेत्रका ट्राभल ट्रेड, टुर अपरेटर तथा पर्यटकहरूसँग व्यापक अन्तरक्रिया गरेका थिए ।

फिनल्यान्ड तथा नर्डिक मुलुकका पर्यटकहरूमा पदयात्रा, पर्वतारोहण, प्रकृतिसँग नजिक रहने यात्रा अनुभव तथा दिगो पर्यटनप्रति बढ्दो चासो देखिनुका साथै नेपालप्रति उत्साहजनक रुची प्रकट भएको थियो ।
नेपालको सहभागितालाई थप आकर्षक बनाउँदै मेलाको केन्द्रीय मञ्चमा नेपाल–फिनल्याण्ड समाजको सहकार्यमा विशेष नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
मेलाअन्तर्गत आयोजित विशेष सत्रमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक नविन पोखरेलले नेपालको दिगो पर्यटन अभ्यास विषयमा प्रस्तुतीकरण गरेका थिए । उनको प्रस्तुतीकरणमा समुदायमा आधारित पर्यटन, वातावरण संरक्षण, जिम्मेवार यात्रा अभ्यास तथा दिगो पर्यटन विकासका पहलहरूबारे प्रकाश पारिएको थियो, जसले नर्डिक बजारको दिगोपनाप्रतिको प्राथमिकतासँग स्पष्ट रूपमा सामञ्जस्य स्थापित गरेको थियो ।
प्रतिक्रिया 4