News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनको म्याड्रिडमा २१ देखि २५ जनवरी २०२६ सम्म सम्पन्न फितुर २०२६ मा नेपालले आफ्नो पर्यटन प्रवर्द्धन गरेको छ।
- नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सको संयुक्त सहकार्यमा ३० वटा नेपाली पर्यटन उद्यमी संस्था सहभागी भएका थिए।
- फितुर २०२६ मा ६१ देशका करिब १० हजार कम्पनी सहभागी थिए र नेपाली सांस्कृतिक कार्यक्रमले मेलाको प्रमुख आकर्षण बन्यो।
१३ माघ, काठमाडौं । युरोपकै सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन मेला ‘फितुर २०२६’ मा नेपाल प्रवर्द्धन गरिएको छ ।
नेपालको उपस्थितिले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको छवि थप मजबुत बन्नुका साथै अन्तर्राष्ट्रिय साझेदारी र व्यापार विस्तारका लागि ऐतिहासिक अवसर भएको सरोकारवालाले बताएका छन् ।
स्पेनको म्याड्रिडमा २१ देखि २५ जनवरी २०२६ सम्म सम्पन्न ४६औं संस्करणको फितुरले नेपाललाई पश्चिम युरोपेली बजारमा विविध पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न रणनीतिक भूमिका खेलेको जनाइएको छ ।
फितुर २०२६ मा नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सको संयुक्त सहकार्यमा ३० वटा नेपाली ट्राभल, टुर तथा पर्यटन उद्यमी संस्था सहभागी भएका थिए ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाल केवल ट्रेकिङ र पर्वतारोहण मात्र नभई संस्कृति, जातीय विविधता, भाषा, जैविक विविधता र दिगो पर्यटनका लागि पनि उत्कृष्ट गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह भएको उल्लेख गरे ।
मेलाको दोस्रो दिन आयोजित ‘नेपालकनेक्ट’ नेटवर्किङ कार्यक्रममा ५० भन्दा बढी अन्तर्राष्ट्रिय टुर अपरेटर सहभागी थिए ।
नेपाल पभेलियनमा अन्तिम दुई दिन आयोजना गरिएको नेपाली सांस्कृतिक कार्यक्रम मेलाको प्रमुख आकर्षण बन्यो । नेपाली नृत्य, गीत, संगीत र संस्कृतिको विविध प्रस्तुतिले ठूलो संख्यामा दर्शक तानेको थियो भने मलेसियाका कलाकारहरू समेत सहभागिता जनाउँदै कार्यक्रमलाई थप जीवन्त बनाएका थिए ।
यस वर्षको फितुर २०२६ मा ६१ देशका करिब १० हजार कम्पनी सहभागी थिए, जुन अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले धेरै हो ।
प्रतिक्रिया 4