४ माघ, काठमाडौं । साढे तीन वर्षअघि चुनावी घोषणामा बालेन शाहले भनेका थिए, ‘आजसम्म दलले गरे अब बदल्नेले गरौं ।’ तर आज उनै बालेन आफैं बदलिएका छन् । स्वतन्त्र चुनाव जितेका बालेनले रास्वपाबाट प्रधानमन्त्री बन्न काठमाडौं महानगरलाई बीचमै छोडेर हिँडे ।
२०७९ वैशाख ३० मा भएको चुनावमा उनले ६१ हजार ७६७ मत ल्याएर महानगरको बागडोर उनको काँधमा आएको थियो । तर बालेनले आफ्नो ‘लेन’ फेरे । प्रधानमन्त्री बन्ने महत्त्वकांक्षाले उनी रास्वपामा समाहित भए ।
‘हाम्रो नगरमा, पहिले हामी गरौं । अरुले पछि गर्लान् । अहिले हामी गरौं,’ बालेनले २८ बुँदे चुनावी घोषणापत्र यसरी सार्वजनिक गरेका थिए । डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको योजना सार्वजनिक गरेका थिए । कति बाचा पूरा गरे । कति काम कार्यान्वयन गर्न बाँकी थियो ।
महानगरमा सुधारका रेखाहरू पनि नकोरिएको होइन । उनले शिक्षा क्षेत्र र काठमाडौंलाई सफा बनाउन गरेको काम स्मरणयोग्य रहेको जानकारीहरू बताउँछन् । बालेनले प्रशंसा र आलोचना दुवै पाए । महानगरमा स्टन्ट गरेकोसम्म आरोप बालेनलाई लाग्यो ।

तर बालेन आफूले इमान्दारीपूर्वक काम गरेको दाबी गर्छन् । ‘पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु । अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास–यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु,’ बालेनले आइतबार बुझाएको राजीनामापत्रमा उल्लेख छ ।
बालेनको कार्यकालमा तिता र मीठा दुबै अनुभव रहेको निष्कर्ष महानगरको छ । ‘उहाँको राजीनामाले महानगर र नगरबासी खुसी छन् । प्रतिनिधिसभाको चुनावमा सहभागी हुन भावी प्रधानमन्त्रीको घोषणा गरेर जानु भएको छ । हामी खुसी नै छौं,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘उहाँको कार्यकालमा तिता मीठा दुबै अनुभव रहे ।’
जनतासँग जोडिएनन्
तर, बालेनको कार्यकाल विवादरहित बन्न सकेन । कहिले केन्द्र सरकासँग, कहिले आफ्नै वडाध्यक्ष र कर्मचारीसँग उनको लडाइँ पर्यो । जनतासँग उनी प्रत्यक्ष जोडिएनन् । तर सामाजिक सञ्जालमा अराजक टिप्पणीमा उनी जोडिए ।
‘स्थानीय जनप्रतनिधिको सीधा सम्पर्क जनतासँग हुनुपर्छ । तर उहाँ (बालेन) प्रत्यक्ष जनतासँग जोडिनु भएन,’ बालेनकै शिक्षा सल्लाहकार भएर काम गरेकी रेशु अर्याल भन्छिन्, ‘सामाजिक सञ्जालमा आउने उहाँको अभिव्यक्ति अराजक भयो कि ।’
मेयर भएपछि बालेनले प्रत्यक्ष भेट भन्दा पनि सर्भेसबाट जनताले भेट्नु पर्ने नीति लिए । र, बालेनले नागरिक सुनुवाईलाई पनि चासो दिएनन् ।

‘नागरिक सुनुवाइलाई सशक्त बनाउन सकिने थियो । सुनुवाइलाई प्रविधि मैत्री बनाउन सकिन्थ्यो । लोकतान्त्रिक अभ्यास र मुल्य मान्यता जनतासँग बाढ्न सकिने थियो । लिडरले फरक मत राख्नेसँग पनि अन्तरक्रिया गर्नुपर्छ,’ अर्याल भन्छिन् ।
उनले चाहेका व्यक्ति र सचिवालयसँग मात्र जोडिए । उनलाई भेट्न पुगेका धेरैजसो ढोकाबाटै फर्किनु परेको गुनासो गर्छन् । यो बीचमा उनी मिडियामा समेत अन्तर्वार्ता दिएनन् । आफ्ना विचार सामाजिक सञ्जाल र सचिवालयमार्फत सार्वजनिक गरे ।
केन्द्र सरकार, वडाध्यक्ष र कर्मचारीसँग टसल
बालेन र केन्द्र सरकारबीच पटक–पटक नोकझोक चल्यो । सिंहदरबार जलाउने अभिव्यक्ति दिएपछि उनलाई कारबाही गर्नेसम्मको छलफल केन्द्र सरकारले चलायो । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग त उनको लडाइँ नै चल्यो ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरमा राख्ने/नराख्ने विवाद लामो समयसम्म चल्यो । महिनौंसम्म प्रमुख प्रशासकीय अधिकृतको अभाव हुँदा महानगरका कर्मचारीले तलब नपाउनेदेखि थुप्रै काममा समस्या भयो । यतिसम्म कि, बालेनले सबैलाई टुकुचा खोलामा गाडिदिने चेतावनीसम्म दिए ।
कार्यपालिका बैठकमा सदस्यहरूसँग उनको पेचिलो सवाल जवाफ चल्यो । उनले स्वतन्त्र जितेका थिए, वडाध्यक्ष दलका थिए । उनीहरूबीच एजेन्डामा फरक-फरक मतले कार्यपालिकाको बैठक सधैं तात्ने गर्थ्यो । ‘उहाँ आफ्नो मात्र कुरा राख्ने अरुको कुरा सुन्न चाहनु हुन्नथ्यो । अब केन्द्रमा गएपछि सबैको कुरा सुन्न बुझ्ने प्रयास गर्नुहोला,’ एक जनप्रतिनिधिले भने ।
काठमाडौंमा फोहोर थुप्रेन, वाचा पनि पूरा भएन
मेयर भएपछि बालेनले काठमाडौंको फोहोर व्यवस्था नभएसम्म खादा–माला नलगाउने र खुसी नमनाउने घोषणा गरेका थिए । ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो,’ बालेनले फोहोर व्यवस्थापनलाई चुनावी एजेन्डा बनाएका थिए ।
बालेनले अर्गानिक, प्लास्टिक र सिसाजन्य फोहोर लाई छुट्टा छुट्टै संकलन गरिने घोषणा गरेका थिए । काठमाडौं महानगर नजिकै उच्चस्तरीय प्रविधिले फोहोर व्यवस्थापन गर्ने घोषणा कागजमै सिमित रहयो । अर्गानिक फोहोरलाई प्राङ्गारिक मलमा परिणत गरी नजिकको कृषि प्रधान जिल्लाहरुमा बिक्री गर्ने भनेका थिए । तर उनले आफ्नो योजना अनुसार फोहोर व्यवस्थापन गर्न सकेन् ।

यद्यपि, बालेनको कार्यकालमा काठमाडौंमा फोहोरको थुप्रो नलागेको दाबी गर्छन् सल्लाहकार रहेका सस्मित पोखरेल । ‘फोहोर व्यवस्थापन सोचे अनुसार गर्न नपाए पनि पहिलाको जसरी फोहोर काठ्माडौंमा जम्मा भएन । सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग मिलेर फोहोरको व्यवस्थापन गरियो,’ उनले भने ।
सुशासनमा सकारात्मक, कार्यपालिकाको बैठक लाइभ
सुशासनलाई प्राथमिकतामा राखेका बालेनले कार्यपालिकाको बैठक लाइभ गरे ।
‘सुशासनमा राम्रो काम भएको छ । सबै विभागलाई अधिकार दिएर बलियो बनाएर काम गरियो । वडाध्यक्षको अध्यक्षतामा समिति बनाएर काम भयो । महानगरलाई डिजिटलाइज् बनाएको छ,’ पोखरेलले भने ।
शिक्षामा छलाङ, शुक्रबार बुक फ्रि फ्राइडे
बालेनको कार्यकालमा सबैभन्दा राम्रो काम शिक्षामा भएको छ । सार्वजनिक शिक्षा सुधारका लागि बालेनले प्राथमिकता दिए । उनले बजेट पनि शिक्षामा बढाए ।
‘एसईईको नतिजा सुधारको काम भएको छ । शिक्षक विद्यार्थीको सम्बन्ध बलियो बनाएको छ,’ पोखरेलले भने, ‘तीन वर्षको अवधिमा नतिजाको तथ्यांकमा धेरै सुधार भएको छ ।’
सुधार आउनुमा शिक्षकको शिक्षण सिकाइमा ठूलो लगानी गरेको परिणाम हो । शिक्षकलाई तालिमको व्यवस्था महानगरले गर्यो । ‘शिक्षकको क्षमता वृद्धि, पढाउने शैलीमा सुधार, स्मार्ट बोर्ड हरेक स्कुलमा राखिएको छ,’ पोखरेलले भने ।

विद्यार्थीलाई गरिखाने शिक्षामा बालेनले जोड दिए । प्लम्बिङ, मोबाइल रिपेयरिङ, कला, साहित्य जस्ता विद्यार्थीको रुची अनुसारको क्षेत्रमा बालेनले काम गरे ।
उनले शुक्रबार बुक फ्रि–फ्राइडे अभियान चलाए । शुक्रबार किताबको सट्टा अतिरिक्त गतिविधि विद्यार्थीलाई गराउने योजना उनले ल्याए । जुन सफल पनि भयो । केन्द्र सरकारले पनि गर्न नसेको काम शिक्षामा महानगरले गरेको छ । निजी विद्यालयको छात्रवृत्तिलाई पारदर्शी बनाएर लागू नै गरेको छ ।
सफा महानगर
बालेनको कार्यकालमा महानगर क्षेत्र सफा भयो । प्रदूषण नियन्त्रणमा उनको कार्यभार राम्रो भएको जानकारहरूको दाबी छ । ‘समग्रमा सहर सफा भएको छ । विदेशी काठमाडौं आउँदा सान बढेको छ । स्वच्छ हावा कार्यक्रमलाई निरन्तरता दिएको छ । जनस्वास्थ्यमा राम्रो काम भएको देखिन्छ,’ अर्यालले भनिन् । स्वास्थ्य क्षेत्रमा पनि महानगरले सुधारको काम गर्यो । निम्न वर्गका लागि १० प्रतिशत बेड छुट्टाउने काम भयो ।
फुटपाथ व्यवस्थापन
बालेनले फुटपाथको व्यवस्थापन अगाडि सारे । फुटपाथमा व्यापार गर्नेहरूलाई उनले हटाए । कतिपयले बालेनको यो निर्णयमा आलोचना गरे ।
फुटपाथ व्यवसायीमाथि नगर प्रहरीले गरेको व्यवहारको आलोचना बालेनको कार्यकालमा भयो । पार्किङ व्यवस्थित गर्न उनले सडकमा पार्किङ गर्न दिएनन् । साना व्यापारीका सामानहरू फाल्ने ठेलागाडा खोस्ने जस्ता काम विवादमा आए ।

भूमिगत पार्किङ
भूमिगत पार्किङको योजनालाई कार्यान्वयन गरे । पार्किङको ठाउँलाई अन्य प्रयोजनमा प्रयोग भइरहेको थियो । भूमिगत पार्किङलाई उनले कार्यान्वयन नै गराए । जसले गर्दा जथाभावी पार्किङ गर्न नपाइने थिति बसाले । यसक्रममा घरधनी र महानगरबीच टसल भयो ।
टुकुचा खोजी, सुकुम्बासी बस्तीमा छिरे
बालेनको कार्यकालमा टुकुचा खोला पनि चर्चामा रहयो । खोलामाथि बनेका संरचना उनले हटाउने प्रयास गरे । टुकुचा खोज्ने अभियान पनि विवादमा तानिएको थियो । बालेनले नदी किनारामा रहेका सुकुम्बासी बस्ती हटाउन पनि खोजे । सुकुम्बासी र महानगर प्रहरीबीच झडपसमेत भयो । अनाधिकृत संरचना भत्काउन उनले डोजर चलाए । सरकारी जग्गा फिर्ता ल्याउने काम पनि उनले गरे । बालेनले बजेटको कार्यान्वयन गर्न नसकेको आरोप पनि लाग्यो । यसरी कतिपय काम अधुरो नै छोडेर बालेन महानगरबाट बाहिरिए ।
महानगर बनाउने घोषणापत्र यस्तो थियो:
प्रतिक्रिया 4