+
+
Shares

धरानमा हर्क साम्पाङले के–के वाचा पूरा गरे ? कहाँ चुके ?

श्रमदान अभियानमार्फत ‘श्रम संस्कृति पार्क’ निर्माणमा भने उनी सफल भए । तर सर्दु खोलाको किनारमा रहेको यो पार्क ठूलो वर्षामा दुई पटक बाढीको चपेटामा परिसकेको छ ।

प्रदीप मेन्याङ्बो प्रदीप मेन्याङ्बो
२०८२ माघ ५ गते २२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरानका मेयर हर्कराज राई साम्पाङले २०७९ सालको स्थानीय तह निर्वाचनमा लौरो चिन्ह लिएर विजयी भएका थिए।
  • साम्पाङले धरानको खानेपानी समस्या पूर्ण रूपमा समाधान नगरी मेयर पदबाट बाहिरिएका छन्।
  • उनले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै सडक विस्तार र खानेपानी आयोजना विरुद्ध आन्दोलन गरेका थिए।

५ माघ, सुनसरी । कुनै समय गायक बनेर सेलिब्रेटी बन्ने सपना देखेका थिए हर्कराज राई साम्पाङले । त्यसैले उनले ०६४ सालमा आफ्नै शब्द रहेको ‘मिसिङ हर्ट’ नामक लोक–आधुनिक म्युजिक एल्बम निकाले । तर बजारमा जम्न नसकेपछि उनले गीत–संगीत क्षेत्रबाट सेलिब्रेटी बन्ने सपना त्यागे ।

०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ पूर्व ब्रिटिश गोर्खा सैनिक परिवारका कान्छा सन्तान हुन् । खोटाङकै शुक्रबारे माविबाट एसएलसी पास गरेपछि उनी ०५७ सालतिर उच्च शिक्षा अध्ययनका लागि धरान झरे ।
धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति शास्त्र र समाजशास्त्रमा स्नातक अध्ययन गरे । यसै क्रममा एक ल्याङ्ग्वेज सेन्टरमा अंग्रेजी शिक्षक र कम्प्युटरका आधारभूत प्रशिक्षकसमेत बने ।

तर ल्याङ्ग्वेज टिचरबाट खासै आम्दानी नहुने थाहा पाएपछि उनी वैदेशिक रोजगारीतर्फ लागे । करिब ६ वर्षसम्म अफगानिस्तान र इराकमा अमेरिकी तथा ब्रिटिश कम्पनीअन्तर्गत काम गरे ।

सानैदेखि विद्रोही र जिद्दी स्वभावका साम्पाङले आफ्नो उपनाम नै ‘क्रान्ति’ राखेका थिए । वैदेशिक रोजगारीबाट फर्किएपछि जीविकोपार्जनका लागि ‘एकता टेम्पो यातायात व्यवसाय’ स्थापना गरी त्यसका अध्यक्ष बने । राष्ट्रिय एकता सञ्जाल, आदिवासी–मूलवासी एकता सञ्जाल र आम एकता अभियानमार्फत भ्रष्टाचारविरुद्ध चर्का नारा लगाउँदै हिँडे । केही टेम्पो किनेर चलाउन थाले ।

उनका दाजुको नाममा बुद्धचोक नजिकै धनकुटे मार्गमा घरजग्गा छ, जहाँ उनी बसोबास गर्छन् । मदन भण्डारी राजमार्ग विस्तार योजनाअन्तर्गत सोही धनकुटे मार्गलाई १०५ मिटर चौडा बनाउने सडक विभागको योजनाविरुद्ध उनी अभियन्ताका रूपमा देखा परे ।

सडक विस्तार गर्दा धेरैको घरजग्गा कटान भई सुकुम्बासी हुने भन्दै उनले आन्दोलन गरे । धनकुटे मार्गका अधिकांशले उनको कुरा सुने पनि कतिपयले उनलाई ‘विकासविरोधी अभियन्ता’को संज्ञा दिए ।

विद्रोही अभियन्ताको चरित्र कायम राख्दै उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको बेथिति, चरम लापरवाही, कमिसन र घुसखोरीविरुद्ध पनि आवाज उठाए । एउटा सानो प्लेकार्ड बोकेर एक्लै उपकुलपति परिसरमा नारा लगाइरहे ।

धरानबासी वर्षौँदेखि खानेपानी अभावले पीडित थिए । सरकारले सन् २०१२ मा एसियाली विकास बैंकबाट २२ मिलियन अमेरिकी डलर (त्यतिबेलाको दर अनुसार १ अर्ब ७३ करोड रुपैयाँ) ऋण तथा अनुदान लिएर धरान खानेपानी आयोजना सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

तर उक्त सम्झौताको विरोधमा तत्कालीन उपमेयर कृष्णनारायण पलिखेले ‘धरान जनसरोकार मञ्च नेपाल’ गठन गरी आन्दोलन थाले । साम्पाङ पनि उक्त संस्थामा आबद्ध भई विदेशी ऋण लिएर खानेपानी आयोजना सञ्चालन गर्न नहुने भन्दै आन्दोलनका प्रमुख अभियन्ता बने ।

सर्दु जलाधार संरक्षण, आयोजना फिर्ता, धरान खानेपानी संस्थानलाई धरान खानेपानी आयोजनामा मर्ज नगर्नुपर्ने मागसहित उनले आन्दोलन चर्काए । यस क्रममा खानेपानी मुहानको मुख्य पाइपसमेत काटिएको थियो ।

यसबीच उनले जेठी श्रीमतीबाट जन्मेकी छोरीको नागरिकता बनाउन सनाखत गर्न आनाकानी गर्दा तत्कालीन मेयर तिलक राईलगायतले उनलाई समातेर ल्याई मुचुल्कामा हस्ताक्षर गराएको घटना पनि चर्चामा आयो । किन उनले छोरीको नागरिकतामा असहयोग गरे भन्ने कुरा उनैले जानुन् । छरछिमेकीको दबाबपछि भने सनाखत गर्न बाध्य भएका थिए ।

०७४ को स्थानीय तह निर्वाचनमा उनी सामान्य मतदाता मात्र थिए । ०७६ को उपनिर्वाचनमा भने स्वतन्त्र उम्मेदवारका रूपमा मेयरमा उठे र ४२२ मत पाए ।

सामाजिक सञ्जालमा दलीय राजनीतिविरुद्ध सक्रिय भएपछि उनले ०७९ सालको स्थानीय तह निर्वाचनमा लौरो चिन्ह लिएर मेयर पदमा उम्मेदवारी दिए । एमाले, कांग्रेस र तत्कालीन नेकपा माओवादीका उम्मेदवारलाई पछि पार्दै उनले एमालेको गढ भत्काए मात्र होइन, तेस्रो स्थानमा झारिदिए । कुल १ लाख ३ हजार मतदातामध्ये २० हजार ८ सय २१ मत ल्याएर उनी विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी किशोर राईले १६ हजार ५९ र एमालेकी मञ्जु भण्डारीले १२ हजार ८ सय २५ मत प्राप्त गरे ।

मेयर बन्नुअघि उनले आफू कम्युनिस्ट (वामपन्थी) विचारधाराबाट प्रेरित भए पनि कुनै दलको सदस्य नभएको र लामो समय राजनीतिमा नलाग्ने बताएका थिए । तर पछिल्लो समयमा उनी दलीय राजनीतिमा प्रवेश गरिसकेको आरोप लाग्दै आएको छ ।

मेयर भएपछि प्रतिबद्धता पूरा भए ?

खानेपानी आपूर्तिलाई मुख्य एजेन्डा बनाएर चुनाव जितेका साम्पाङले धरानको खानेपानी समस्या पूर्ण रूपमा समाधान गरे कि गरेनन् भन्ने प्रश्नको उत्तर मिश्रित छ ।

गत पुसको दोस्रो सातादेखि धरानमा दिन बिराएर पानी वितरण भइरहेको छ । धरानलाई दैनिक करिब ३ करोड लिटर पानी चाहिन्छ । तर भूमिगत स्रोत र सर्दु जलाधार तथा कोकाहाबाट जम्मा १ करोड ५० लाख लिटर मात्र आपूर्ति हुँदै आएको छ ।

विष्णुपादुका–बराहक्षेत्र–आहाले हुँदै कोकाहाबाट ४२ किलोमिटर टाढाबाट पानी ल्याउने क्रममा ‘कोकाहा–१ अभियान’ मा ७ करोड ४ लाख १८ हजार ६ सय रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको थियो । यसमध्ये ४ करोड ८२ लाख ५२ हजार ३५ रुपैयाँ नगद र १ करोड २० लाख ३८ हजार ७ सय ४ रुपैयाँ बराबरको पाइप प्राप्त भएको बताइएको थियो ।

तर ‘कोकाहा–२ अभियान’ को खर्च विवरण सार्वजनिक गरिएको छैन । ७ करोडभन्दा बढी खर्च गरेर ल्याइएको यो पानी दीर्घकालीन समाधान होइन । भारी वर्षा हुँदा बाढीपहिरोले पाइपलाइन बगाउने जोखिम रहन्छ । यसले ५–७ हजार घरधुरीलाई मात्र धान्न सक्छ । यसर्थ खानेपानी समस्या पूर्ण रूपमा समाधान गर्ने प्रतिबद्धता पूरा नगरी उनी मेयर पदबाट बाहिरिएका छन् ।

श्रमदान अभियानमार्फत ‘श्रम संस्कृति पार्क’ निर्माणमा भने उनी सफल भए । तर सर्दु खोलाको किनारमा रहेको यो पार्क ठूलो वर्षामा दुई पटक बाढीको चपेटामा परिसकेको छ ।

मेयर भएपछि सबै दलका जनप्रतिनिधिसँग मिलेर काम गर्ने उनको भनाइ व्यवहारमा उतारिन सकेन । उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूसँग समन्वय गर्न उनी चुके । पत्रकार महासंघ र स्थानीय सञ्चारकर्मीसँग समेत औपचारिक सम्बन्ध कायम हुन सकेन ।

दीर्घकालीन योजना, पूर्वमेयर, पूर्वसांसद, बुद्धिजीवी र सामाजिक अगुवासँग छलफल गर्नुपर्नेमा उनले उनीहरूलाई आलोचक ठाने । यसले शुभचिन्तकहरू समेत टाढा बने ।

पूर्व जनप्रतिनिधिले सुरु गरेका योजना अलपत्र
पूर्व जनप्रतिनिधिले तयार पारेका करिब २२ अर्ब लागतका १५ आयोजनाको डीपीआरप्रति ध्यान नदिँदा उनी ‘अमर हुने’ काम गर्न चुके ।

क्रिकेट रंगशाला, सप्तरंगी पार्क, स्पोर्ट्स सिटी, औद्योगिक ग्राम, अत्याधुनिक पशुवधशाला, साइन्स सिटी पार्क, नाटक घर, ब्रिटिश गोर्खा पार्क, सभागृह मर्मत, मनमोहन पार्क, हर्दिया दानाबारी भ्युपोइन्ट, विष्णुपादुका धार्मिक पर्यटकीय क्षेत्र, कोकाहा ड्याम, रक क्लाइम्बिङ, तरकारी बजार, धरान–लेउती सुरुङमार्ग, सडक मानव आश्रय भवन, दलित संग्रहालय, जेष्ठ नागरिक पार्क, युवाका लागि जिमहलजस्ता योजनामा राज्यसँग बजेट मागेर काम सुरु गर्न उनी चुके ।

तीनकुने सुन्दर बस्ती विकास परियोजनाअन्तर्गत करिब २० करोड लागतमा निर्माण सम्पन्न बसपार्कमा भानुचोकको बसपार्क सार्नसमेत नसक्नु अर्को कमजोरी रह्यो ।

मेयर भएर धेरै काम गर्न नसके पनि उनले प्रतिनिधिसभा सांसदमार्फत यात्रा अघि बढाउने आशा राखेका छन् । श्रम संस्कृति पार्टी दर्ता गरी अध्यक्ष बनेका उनी ‘हर्कवाद’ को चर्चा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?