+
+
Shares

कास्की-२ मा कृष्णको टिकट खोसेर रश्मीलाई, एमाले भित्र खैलाबैला

एकाएक टिकट फेरिएपछि कास्की एमाले भित्र तरंग ल्याएको छ भने क्षेत्र नम्बर २ का नेता/कार्यकर्ताले खुसी व्यक्त गरिरहेका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ माघ ५ गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको केन्द्रीय सचिवालयले कास्की-२ मा कृष्णबहादुर थापाको टिकट खोसेर युवा नेता रश्मी आचार्यलाई दिएको छ।
  • थापाले टिकट खोसिएपछि पार्टीभित्र विवाद मच्चिएको र आचार्य पक्षमा युवाहरूले नारा लगाएका छन्।
  • थापाले आचार्यले माफी मागेको र पार्टी निर्णय स्वीकारेर चुनावी अभियानमा जाने बताए।

५ माघ, पोखरा । नेकपा एमालेबाट कास्की- २ मा कृष्णबहादुर थापाको टिकट खोसिएपछि एमाले भित्र खैलाबैला मच्चिएको छ । केन्द्रीय सचिवालय बैठकले कास्कीका ३ वटै क्षेत्रका उम्मेदवार टुंग्याउँदा २ नम्बरमा पोखराका पूर्वमेयर तथा गण्डकी प्रदेशसभा सदस्य थापाको नाम सार्वजनिक भएको थियो ।

एउटै व्यक्तिलाई पटकपटक उम्मेदवार बनाइएको भन्दै तीव्र आलोचना भइरहेका बेला थापाको टिकट खोसिएको र युवा नेता रश्मी आचार्यले हात पारेको विषयले एमाले भित्र तरंग ल्याएको छ ।

सचिवालयको निर्णयअनुसार एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले कास्की-१ मा पार्टी जिल्ला अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री, २ मा थापा र ३ मा दामोदर बैरागीलाई टिकट उपलब्ध गराएका थिए ।

काठमाडौंमा कास्कीका तिनै जनाको टिकट युवा संघका सचिव मदन भण्डारीलाई पृथ्वीसुब्बाले दिएर पठाएका थिए । तर एकाएक थापाको टिकट खोसिएर आचार्यले पाएको खबर आएको थियो ।

कास्की-२ मा यसअघिका प्रदेशसभा सदस्यबाट राजीनामा दिएर पोखराको मेयर उठेर पराजित थापालाई टिकट दिइएको भन्दै आलोचना भएपछि युवा नेता आचार्यलाई उम्मेदवार बनाइएको नेताहरूले बताएका छन् ।

एमाले केन्द्रीय सदस्य पदम गिरीले नेतृत्वले कास्की-२ को टिकट हेरफेर गरेको जानकारी आफूले पाएको बताए भने टिकट पाउने आचार्यले पनि आफूले खबर पाएको पुष्टि गरे ।

२०५४ सालमा पोखराको मेयर जितेका थापा २०६४ सालमा पनि आकांक्षी थिए भने क्षेत्र नम्बर २ मा २०७० मा कांग्रेसका शारदा पौडेलसँग पराजित भएका थिए ।

२०७४ सालमा प्रदेश सांसद भएका थापाले राजीनामा दिएर पोखराको मेयरको टिकट हात पारेका थिए । त्यतिबेला पृथ्वीसुब्बा गुरुङ समूहका दीपक पौडेलले टिकट पाएका थिए । उनले सुन चोरी गरेको भिडियो सार्वजनिक भएपछि दीपकको टिकट खोसिएर थापाको पोल्टामा परेको थियो । यसपटक थापाले त्यही नियति भोगेका छन् ।

मेयरमा पराजित र कास्कीका अलोकप्रिय नेता थापालाई टिकट दिइएको भन्दै आलोचना भएको थियो भने आइतबार थापाले टिकट पाएपछि आचार्यको पक्षमा नारा लगाउँदै युवाहरू पार्टी कार्यालय पुगेका थिए ।

कास्की-२ मा आचार्यलाई उम्मेदवार बनाउन माग गर्दै युवाहरूले नाराबाजीसमेत गरेको नेताहरूले बताएका छन् । थापाले पनि आइतबारको घटनाबारे आचार्यले माफी मागेको र अब आफूलाई नै उम्मेदवार स्वीकारेर बैठक सकिएको बताए ।

‘रश्मीजीको पक्षमा आइतबार हुलदंगा गर्ने प्रयत्न भएको थियो र त्यसका लागि उहाँले माफी पनि माग्नुभएको थियो । हिजो र आज बिहान पनि बैठक बसेर पार्टीको निर्णय स्वीकार्दै चुनावी अभियानमा जान एकमतका साथ छुट्टिएका हौं,’ थापाले भने, ‘सचिवालयले मलाई नै टिकट दिने निर्णय गरेको हो । बाटोबाटै कसैले हाइज्याक गरेको भए मलाई थाहा हुने कुरा भएन ।’

कास्की-२ मा १२ जना आकांक्षीको बैठक बसेर बिहान थापालाई नै अगाडि बढाउने निर्णयसहित छुट्टिएको नेताहरूले बताएका छन् । टिकट खोसिएको जानकारी पाएलगत्तै बैठक बसेर छुट्टिएपछि थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत ६ गते मनोनयमा उपस्थिति आह्वान गर्दै १२ जना आकांक्षीकै फोटो सार्वजनिक गरेका थिए ।

युवा नेता आचार्यले पनि पार्टीको निर्णय शिरोधार्य गर्दै निर्वाचनमा होमिएको बताउँदै सोही फोटो फेसबुकमा पोस्ट गरेका छन् ।

‘मलाई विश्वास गरेर मेरो गौरवशाली पार्टी नेकपा एमालेले कास्की-२ मा उम्मेदवार बनाएकोमा नेतृत्वप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भोलि ६ गते उम्मेदवार मनोनयन दर्तामा उपस्थिति भइदिन सम्पूर्ण जनसमुदायमा हार्दिक अनुरोध गर्दछु,’ आचार्यले फेसबुकमा आह्वान गरेका छन् ।

उनले फोटासहित लेखेका छन्, ‘पार्टी निर्णयलाई शिरोधार्य गर्दै हामी एकताका साथ निर्वाचनमा होमिएका छौं । कास्की-२ मा हाम्रो विजय सुनिश्चित छ ।’

कास्की-२ एमालेको प्रभाव क्षेत्र मानिन्छ । जहाँ नेता रविन्द्र अधिकारीले ३ पटक जित हासिल गरेका थिए भने उनको निधनपछि उपनिर्वाचन र २०७९ मंसिरको आमनिर्वाचनमा पनि विद्या भट्टराईले जितेकी थिइन् ।

यस पटक पछिल्लो परिस्थितिअनुसार आचार्यले टिकट पाउने चर्चा थियो र उनलाई कास्की-२ मा बलियो उम्मेदवारका रूपमा हेरिएको थियो । पृथ्वीनारायण क्याम्पसको पूर्वस्ववियु सभापति आचार्य अनेरास्ववियुको उपाध्यक्ष भए पनि नेतृत्व पाएका थिएनन् ।

अध्ययनशील र वौद्धिक नेतको छबि बनाएका रश्मीलाई टिकट दिँदा अहिलेको कठिन परिस्थितिमा पनि कास्की-२ एमालेका निम्ति सुरक्षित हुनसक्ने नेताहरूले बताएका थिए । तर एकाएक टिकट थापाले हात पारेपछि त्यो क्षेत्र एमालेले गुमाउने भन्दै एमाले कार्यकर्ताले असन्तुष्टि जनाइरहेका थिए ।

एकाएक टिकट फेरिएपछि कास्की एमाले भित्र तरंग ल्याएको छ भने क्षेत्र नम्बर २ का नेता/कार्यकर्ताले खुसी व्यक्त गरिरहेका छन् ।

आचार्य ११औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएर आएका हुन् भने थापा यसअघि नै केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज थिए । बोली, व्यवहारका कारण विभिन्न समयमा विवाद र आलोचनमा पर्ने गरेका थापालाई यो पटकको चुनावको टिकटले थप अर्को झट्का दिएको छ ।

गत निर्वाचनमा यो क्षेत्रबाट विद्या १६ हजार ९९८ मत ल्याएर विजयी भएकी थिइन् । रास्वपाका कँडेलले १२ हजार ४९५ मत ल्याएका थिए भने गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६५९ मत ल्याएका थिए ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?