५ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार उम्मेदवारलाई टिकट बाँड्यो । जसको पहिलो नम्बरमा थिए, विश्वराज पोखरेल ।
टिकट पाएसँगै पोखरेल ओखलढुंगाबाट उम्मेदवार बन्ने पक्का भएको छ । टिकट प्राप्त भएपछि पोखरेलले पार्टीले पहिलो नम्बरमै राखेर टिकट दिएकोमा खुसी व्यक्त गर्दै भने, ‘ओखलढुंगा मात्रै नभएर देशभर घण्टी बज्छ ।’
पार्टी प्रवेशलगत्तै चुनाव प्रचारप्रसारमा होमिएका पोखरेल तिनै व्यक्ति हुन् जो डेढ वर्ष सिनियर हुँदा पनि प्रहरीको सर्वोच्च कमान्डर (आईजीपी) बन्न पाएका थिएनन् । पोखरेलभन्दा १६ महिना जुनियर एआईजी धीरजप्रताप सिंह १८ वैशाख २०७९ मा आईजीपी बने ।
त्यसपछि पोखरेलले राजीनामा दिए । राजीनामापछि साढे तीन वर्ष गुमनाम बसेका पोखरेल अहिले चुनावी प्रचारप्रसारमा व्यवस्त छन् । यीबाहेक केही पूर्वसुरक्षाकर्मीहरू पनि अहिले दलीय राजनीतिमा प्रवेश गरेर चुनावी मैदानमा होमिएका छन् ।
सर्वेन्द्र खनाल
नेपाल प्रहरीका पूर्वआईजी सर्वेन्द्र खनाल पनि तेस्रो पटक चुनावमा प्रतिस्पर्धा गर्दैछन् । आफ्नै नेतृत्वमा समुन्नत पार्टी नेपाल खोलेका खनाल अहिले मधेश झरेका छन् । बारा-४ बाट चुनाव उठ्ने उनको तयारी छ ।
तराईमा आफ्नो जनमत राम्रो बताउँदै आएका खनालले उम्मेदवारी दिने अनलाइनखबरलाई बताए । यसअघि पनि दुई पटकसम्म खनाल प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए ।
२०७९ को निर्वाचनमा उनी काठमाडौं–६ बाट नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । त्यतिबेला खनाललाई पराजित गर्दै रास्वपाका शिशिर खनाल विजयी भएका थिए । शिशिरले १४ हजार २२१ मत ल्याएर विजयी हुँदा सर्वेन्द्रले ८ हजार ९१७ मत ल्याएका थिए ।
उनै खनाल २०८० मा भएको उपनिर्वाचनमा तनहुँ-१ बाट एमालेबाटै उम्मेदवार बने । खनाललाई रास्वपाका स्वर्णिम वाग्लेले पराजित गरेका थिए । वाग्लेले ३४ हजार ९१९ मत ल्याएर विजयी हुँदा खनालले ८ हजार ४८८ मतसहित तेस्रो भएका थिए ।
शम्भु सुस्केरा
शम्भु सुस्केराको नामले परिचित शम्भुप्रसाद ढकाल नेपाल प्रहरीका अवकाशप्राप्त सई हुन् । सुस्केरा आगामी फागुनमा हुने प्रनितिधिसभा निर्वाचनमा झापा–४ बाट उम्मेदवार बन्ने पक्का भएको छ । रास्वपा झापाका जिल्ला सचिवसमेत रहेका सुस्केराले टिकट पाइसकेका छन् ।
उनी २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा पनि रास्वपाबाट उम्मेदवार बनेका थिए । त्यतिबेला पनि उनले झापा–४ बाटै प्रतिस्पर्धा गरेका थिए ।
त्यतिबेला एमालेका लालप्रसाद साँवा लिम्बु (एलपी) विजयी भएका थिए । साँवाले २९ हजार ३१५ मत ल्याएर विजयी हुँदा १४ हजार ६९ मतसहित सुस्केरा तेस्रो भएका थिए ।
सईबाट अवकाश पाएका उनी साहित्यक क्षेत्रमा कलम चलाउँदै आएका छन् ।
राजु पाण्डे
राजु पाण्डे पनि रास्वपाबाटै उम्मेवार बन्दैछन् । उनलाई काठमाडौं-३ बाट उम्मेदवार बन्न पार्टीले टिकट दिइसकेको छ । काठमाडौं महानरपालिकाको नगर प्रहरी प्रमुखको रूपमा रहेका उनी निर्वाचन लड्ने उद्देश्यले राजीनामा दिएका थिए ।
मेयर बोलन शाहले समेत राजीनामा दिएर रास्वपा प्रवेश गर्दै झापा–५ बाट उम्मेवार बन्ने भएपछि उनका विश्वासपात्र पाण्डे पनि राजीनामा दिएर निर्वाचनमा होमिएका हुन् ।
विक्रमसिंह थापा
थापा नेपाल प्रहरीका पूर्वएसएसपी हुन् । नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिस भएका थापा अहिले भने रास्वपामा प्रवेश गरेर प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।
उनी कपिलवस्तु–२ बाट उम्मेदवार बनेका हुन् । २०७९ को निर्वाचनमा उनी नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशसभामा उम्मेदवार बनेका थिए । त्यतिबेला थापा पराजित भएका थिए ।
थापा कांग्रेसको महाधिवेश प्रतिनिधिसमेत थिए । थापाले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख रहेर काम गरेका थिए ।
यसैगरी रास्वपाबाटै पूर्वसैनिक अधिकृत प्रणयशमशेर राणा निर्वाचन उठ्ने तयारी गरे पनि निश्चित भइसकेको छैन । यसअघि उनी रास्वपाबाटै काठमाडौं–५ मा चुनाव लडेका थिए ।
अघिल्लो निर्वाचनमा पूर्वडीआईजी नवराज सिलवाललाई एमालेले ललितपुर-१ बाट उम्मेदवार बनाएको थियो । यो पटक भने एमालेले उनलाई टिकट दिएको छैन ।
यसअघि निर्वाचन लडेका रमेश खरेल पनि यो पटक भने निर्वाचनमा उम्मेदवारी दिने तयारीमा देखिँदैनन् ।
प्रतिक्रिया 4