News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी र्यापर कान्ये वेस्ट अप्रिल २०२६ मा भारतमा पहिलो भव्य कन्सर्ट टूरका लागि जाने भएका छन्।
- वेस्टले हालसम्म २४ वटा ग्रामी अवार्ड जितिसकेका छन् र उनी हिपहप, र्याप, गस्पेलमा परिचित छन्।
- उनको भारत भ्रमणलाई संगीत क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको छ र यसले अन्तर्राष्ट्रिय संगीतको माग बढाउने अपेक्षा गरिएको छ।
मुम्बई । विश्वविख्यात अमेरिकी र्यापर कान्ये वेस्ट आफ्ना भारतीय फ्यानका लागि ‘लाइभ प्रस्तुति’ दिन त्यहाँ जाने भएका छन् । अप्रिल २०२६ मा आयोजना एक भव्य कन्सर्ट टूरका लागि उनी त्यसतर्फ जान लागेको विवरणमा जनाइएको छ ।
भारतमा उनको यो पहिलो सांगीतिक भ्रमण हुनेछ । समकालीन संगीतका सबैभन्दा प्रभावशाली व्यक्तित्व मानिने वेस्टको यो भ्रमणलाई भारतीय संगीत क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
गीतकार तथा रेकर्ड निर्माता समेत रहेका वेस्टको यो सम्भावित भारत भ्रमण वर्षकै सबैभन्दा चर्चित सांगीतिक कार्यक्रममध्ये एक बन्ने पक्का छ ।
उनी हिपहप, र्याप, गस्पेल र प्रयोगात्मक संगीत विधामा आफ्नो छुट्टै पहिचानका लागि चिनिन्छन् । संगीतको दायरालाई फराकिलो बनाउनुका साथै उनले फेसनको क्षेत्रमा पनि ठूलो प्रभाव पारेका छन् ।
वेस्टले हालसम्म २४ वटा ग्रामी अवार्ड जितिसकेका छन्, जसले उनलाई ग्रामी इतिहासकै सबैभन्दा सफल र सम्मानित हिप–हप कलाकारमध्ये एक बनाएको छ । उनका गोल्ड डिगर, स्ट्रङ्गर, गुड लाइफ र अल्ट्रालाइट बिमजस्ता गीतहरू विश्वभर निकै चर्चित छन् ।
यो वेस्टको पहिलो आधिकारिक सांगीतिक भ्रमण भए तापनि उनी यसअघि विभिन्न सन्दर्भमा भारतमा पुगिसकेका छन् । सन् २००९ मा उनी आध्यात्मिक शान्तिका लागि भारत गएका थिए, जहाँ उनी एक आश्रममा बसेका थिए ।
सन् २०१२ मा उनी आफ्नो महिला फेसन ब्रान्डको प्रचारका लागि मुम्बई गएका थिए । त्यस समयमा उनी मुम्बईको प्रसिद्ध ‘ताजमहल प्यालेस होटल’ मा बसेका थिए ।
पछिल्ला वर्षहरूमा कोल्डप्ले, एड सिरन, दुआ लिपा, मरुन ५, ब्याकस्ट्रीट ब्वाइज, एकोन, डेमी लोभाटो र जस्टिन बिबरजस्ता विश्वप्रसिद्ध कलाकार तथा ब्यान्डले भारतमा प्रस्तुति दिइसकेका छन् ।
‘लोलापालुजा इन्डिया’ जस्ता विश्वस्तरीय संगीत महोत्सवले सन मेन्डेस, ग्रीन डे, जोनास ब्रदर्स र लुइस टमलिन्सन जस्ता कलाकारलार्ई भारत लगेका छन् । यसले भारतमा अन्तर्राष्ट्रिय लाइभ संगीतको माग र आकर्षण निकै बढेको प्रष्ट पार्छ ।
प्रतिक्रिया 4