News Summary
Generated by OK AI. Editorially reviewed.- कक्षा ६ को पाठ्यपुस्तकमा रेबिज रोकथामका लागि \'सामुदायिक कुकुर मार्नुपर्छ\' लेखिएको छ, जसले बालबालिकामा हिंसा प्रोत्साहन गर्ने जोखिम छ।
- पाठ्यक्रम विकास केन्द्रले प्रकाशकलाई पत्र पठाएर उक्त सामग्री हटाउन निर्देशन दिएको छ र आगामी संस्करणमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
हाम्रा बालबालिका कस्ता पुस्तक पढ्दैछन् ? अभिभावकले उति सोधीखोजी गरेको पाइँदैन । जबकि निजी प्रकाशन गृहबाट तयार गरिएको र कतिपय विद्यालयमा पठनपाठन गराइने पाठ्यपुस्तकमा कमसल मात्र होइन, गम्भीर त्रुटी पनि फेला पर्ने गरेका छन् ।
जस्तो कक्षा ६ का लागि थप पाठ्यसामग्रीको रूपमा प्रकाशित ‘स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला’ विषयमा रेबिज रोगबारे पाठ छ । सोही पाठ अन्तर्गत पेज नम्बर ७८ मा ‘रेबिज रोकथाम एवं नियन्त्रण’ भनी उपशीर्षक दिइएको छ । र, त्यसको पहिलो बुँदामा लेखिएको छ, ‘सामुदायिक कुकुर मार्नुपर्छ ।’
रेबिज नियन्त्रण एवं रोकथामको सही उपाय के हो त भन्ने सन्दर्भमा यसरी ‘कुकुर मार्ने’ कुरा उल्लेख गरिएको छ । यसरी विद्यालय तहकै पाठ्यपुस्तकमा हिंसा गर्न उक्साउने कुरा राखिएकोमा सरोकारवालाले आपत्ति जनाएका छन् । रेबिज नियन्त्रणका वैज्ञानिक विधि एवं तरिकाहरू उल्लेख गर्नुको साटो ‘सामुदायिक कुकुर मार्नुपर्छ’ भन्ने सन्दर्भले पशु अधिकारको हनन हुने मात्र नभई बाल मस्तिष्कमा हिंसालाई प्रोत्साहित गर्ने जोखिम छ ।
पाठ्यपुस्तकमा उल्लेखित उक्त सामग्रीले बालबालिकालाई सानै उमेरदेखि जनावरप्रति हिंसा सिकाउने खतरा रहेको भन्दै अधिकारकर्मीहरूले तत्काल हटाउन माग गरेका छन् । ‘यो सामग्रीले बच्चाहरूलाई माया, करुणा र जिम्मेवारी सिकाउनुको सट्टा अमानवीय कुरा सिकाइरहेको छ’ एक पशु अधिकारकर्मीले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनीहरूका अनुसार, रेबिज नियन्त्रणका सही उपाय कुकुर मार्नु होइन, बरू बन्ध्याकरण र रेबिज खोप हो । यो सामग्रीले समाजमा हिंसा प्रवर्धन गर्ने र मानिस तथा जनावर दुवैका लागि असुरक्षित वातावरण सिर्जना गर्ने खतरा रहेको उनीहरूको तर्क छ ।
विवादको पृष्ठभूमि
पाठ्यपुस्तकको पेज नम्बर ७८ मा रहेको ‘रेबिज नियन्त्रण गर्ने उपायसम्बन्धी क्रियाकलाप’ मा कुकुर मार्ने कुरालाई रोकथामको विधिका रूपमा प्रस्तुत गरिएको छ । एसिया पब्लिकेसन प्रा.लि.बाट प्रकाशित यो पुस्तक पाठ्यक्रम विकास केन्द्रबाट अनुमोदित छ ।
सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोले यो सामग्रीलाई उजागर गरेपछि विवाद चर्किएको हो । फेसबुक लगायतका प्लेटफर्ममा शिक्षक, अभिभावक र पशु कल्याणकर्मीहरूले यसलाई ‘अज्ञानता र गैरजिम्मेवारपूर्ण’ भनेका छन् ।
नेपालमा रेबिज एक गम्भीर जनस्वास्थ्य समस्या हो । वार्षिक रूपमा करिब ५०० जनावर र ३२ मानिसको मृत्यु रेबिजबाट हुने गरेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार, रेबिजका ९५ प्रतिशत भन्दा बढी मामिला कुकुरको टोकाइबाट हुन्छन्, तर यसको नियन्त्रणका लागि कुकुर मार्नु प्रभावकारी होइन । बरू, सामूहिक खोप अभियान, जनचेतना र बन्ध्याकरण जस्ता वैज्ञानिक तथा करुणामय उपायहरू अपनाउनु पर्ने विज्ञहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा कुकुरबाट सर्ने रेबिजबाट मानिसको मृत्यु शून्यमा झार्ने लक्ष्य राखेको छ ।
नेपालमा रेबिज नियन्त्रणका लागि सरकारी प्रयासहरू जारी छन्, तर ग्रामीण क्षेत्रमा जनचेतनाको कमी र खोपको पहुँच कमजोर छ ।
सरकारी प्रतिक्रिया र निर्देशन
विवाद बढेपछि पाठ्यक्रम विकास केन्द्रले तत्काल कदम चालेको छ । केन्द्रले एसिया पब्लिकेसन प्रा.लि.लाई पत्र पठाएर यसबारे ध्यानाकर्षण गराएको छ । पुस्तकमा रहेको उक्त सामग्रीले जनावरको नैसर्गिक अधिकारमा नकारात्मक असर पारेको भन्दै गुनासो आएको पत्रमा उल्लेख छ ।
प्रकाशकले आगामी संस्करणमा त्रुटि सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
विज्ञहरूको सुझाव
रेबिज नियन्त्रणका लागि कुकुर मार्ने जस्ता अमानवीय विधि अपनाउनुको साटो वैज्ञानिक दृष्टिकोण अपनाउनुपर्ने पशुअधिकारकर्मी तुलाराम राजवंशी बताउँछन् । ‘कुकुर मार्दा समस्या समाधान हुँदैन, बरू नयाँ असुरक्षित कुकुरहरू आउँछन्’ उनले भने ।
नेपालमा रेबिज नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी संस्थाहरूले खोप अभियान चलाइरहेका छन्, तर शिक्षा प्रणालीमा यस्ता सामग्रीले गलत सन्देश दिने खतरा छ ।
यो घटनाले नेपालको शिक्षा प्रणालीमा सामग्र जाँच प्रक्रियाको कमजोरीलाई उजागर गरेको छ । अभिभावक र शिक्षकहरूले पनि यस विषयमा सजग हुनुपर्ने आवश्यकता औंल्याएका छन् । सम्बन्धित निकायले तत्काल सुधार गरेमा मात्र सुरक्षित र करुणामय समाज निर्माण हुन सक्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4