७ माघ, डोल्पा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला डोल्पामा एक स्वतन्त्रसहित नौ जनाले मनोनयन दर्ता गराएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरू भने नयाँ–पुराना मिश्रित छन् । रोचक त के छ भने डोल्पामा सहोदर दाजु-भाइदेखि गुरु-चेलासम्म र लेखापढी व्यवसायीदेखि ट्रेकिङ गाइडसम्म प्रतिस्पर्धी छन् ।
विभिन्न ७ राजनीतिक दलहरूबाट उम्मेदवारी दिएका अधिकांश पुराना नेताहरू छन् । नयाँ र पुराना अनुहारबिच हुने प्रतिस्पर्धालाई यसपटक डोल्पालीले उत्साहका साथ हेरिरहेका छन् ।
डोल्पामा नेकपाबाट पूर्व मन्त्री धनबहादुर बुढा, नेपाली कांग्रेसबाट केन्द्रीय सहमहामन्त्री कर्ण बहादुर बुढा, नेकपा एमालेबाट लंक रोकाया र उज्यालो नेपाल पार्टीबाट दिल बहादुर विष्टले उम्मेदवारी दिएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट देव सिंह ऐडी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हरि डाँगी, मितेरी नेपाल पार्टीबाट जुनु भण्डारी र तत्कालीन माओवादीका नेता ओमेन्द्र केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
क वर्गका ठेकेदार उम्मेदवार
नेकपाबाट उम्मेदवार बनेका पूर्व मन्त्री धनबहादुर डोल्पाका प्रभावशाली र अनुभवी नेताका रूपमा मानिनछन् । बुढा यसअघि २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका व्यक्ति हुन् । चौथो पटक चुनावमा होमिएका उनी बलिया प्रतिस्पर्धीका रूपमा रहेका छन् ।
धनबहादुर राजनीतिक अनुभव र संगठनात्मक पकड भएको नेताका रूपमा चिनिन्छन् । राप्रपाको पृष्ठभूमिबाट राजनीतिमा उदाएका उनी ०७० को संविधान सभा निर्वाचन र ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेर विजयी भएका थिए ।
त्यति बेला उनले ११ हजार ७ सय ६१ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार अंगद बुढालाई पराजित गरेका थिए । एमाले विभाजन हुँदा माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका बुढा ०७९ सालको निर्वाचनमा तत्कालीन एकीकृत समाजवादीबाटै चुनाव लडेका थिए । उनले ११ हजार २ सय ९२ मत ल्याएर विजयी भएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशबहादुर शाहीलाई ५ हजार ७८७ मतान्तरले पराजित गरेका थिए । पराजित शाहीले ५ हजार ५०५ मत ल्याएका थिए । २०७९ मा नेपाली काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।
बुढाले २०७० को दोस्रो संविधान सभा निर्वाचनताका राप्रपा छाडेर एमाले प्रवेश गरेका थिए । पछि एमाले पनि छाडेर एकीकृत समाजवादी हुँदै हाल नेकपासम्म आइपुगेका हुन् । उनी ‘क’ श्रेणीका निर्माण व्यवसायी समेत हुन् ।
सहोदर दाइसँग प्रतिस्पर्धा
उनको योपटक आफ्नै सहोदर दाइसँग प्रतिस्पर्धा हुने छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कर्णबहादुर भर्खरै मात्र सम्पन्न काँग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित नेता हुन् । २०४८ सालदेखि राप्रपाबाट राजनीतिक सुरु गरेका कर्णले राप्रपाबाटै तीनपटक प्रतिनिधिसभा चुनाव लडेका थिए । तर, तीनै पटक पराजित भए ।
उनी राप्रपामा तीनपटक निर्वाचित केन्द्रीय सदस्य र एक पटक सहमहामन्त्री मनोनीत भएका थिए । कर्णबहादुर २०५१ सालमा काँग्रेसकै बागी उम्मेदवार मोतीप्रसाद पहाडीसँग पराजित भएका थिए । त्यसपछि २०५६ सालमा एमालेका नरबहादुर बुढाथोकी र २०६४ सालमा तत्कालीन माओवादीका रामबहादुर बोहरासँग पराजित भएका थिए ।
राप्रपाबाट २०७६ सालमा कांग्रेसमा केन्द्रीय सदस्यको रूपमा प्रवेश गरेका बुढा अहिले सहमहामन्त्री छन् ।
नेकपा एमालेबाट उम्मेदवार बनेका लंक जिल्ला पार्टी कमिटी अध्यक्ष हुन् । विद्यार्थी राजनीति हुँदै जिल्ला पार्टीको नेतृत्वमा पुगेका हुन् । २०७४ र २०७९ मा मुड्केचुला गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका उनी दुवै पटकको निर्वाचनमा पराजित बनेका थिए ।
गुरु-चेलाबिच प्रतिस्पर्धा
२०७४ मा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार दत्त शाहीसँग झिनो मतान्तरले पराजित बनेका उनी २०७९ मा पनि उनै शाहीसँग ३७ मतले पराजित भए । दुई पटकको हार हुँदा पनि नथाकेका लंकलाई यो पटक एमालेले डोल्पाबाट प्रतिनिधि सभा उम्मेदवार बनाएको छ ।
रोकाया जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा खेलकुद र युवा केन्द्रित गतिविधिका कारण चर्चामा आएका थिए । पार्टी संगठनमा लामो समयदेखि सक्रिय उनी नेकपा एमालेको पहिलो कार्यकाल जिल्ला सचिवसमेत भएका थिए ।
यो पटक उनको प्रतिस्पर्धा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बुढासँग हुने देखिन्छ । जसलाई उनका राजनीतिक गुरुका रूपमा समेत लिइन्छ । गुरु–चेलाबीचको यो प्रतिस्पर्धाले डोल्पाको राजनीति थप रोचक बनाउने अनुमान स्थानीयले गरेका छन् ।
उज्यालो नेपाल पार्टीका उम्मेदवार विष्ट समाजसेवामा सक्रिय छन् । उनी कांग्रेस, माओवादी हुँदै अहिले उज्यालो नेपाल पार्टीमा पुगेका हुन् । त्रिपुरा सुन्दरी नगरपालिका–१ त्रिपुराकोट निवासी विष्टले दुई पटकको स्थानीय तह निर्वाचनमा पराजय भोगेका थिए । उनी ०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस र २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचनमा होमिएका थिए ।
साना दलका जेनजेड उम्मेदवार
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार बनेका २६ वर्षीय युवा विकास अध्ययन सँगै राजनीतिमा सक्रिय छन् । त्रिपुरा सुन्दरी ४ रंग गाउँका विकास तत्कालीन माओवादी केन्द्र निकट वाईसीएलको सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज थिए । माओवादी फुटपछि जनार्दन शर्मा तिर देखिएका उनलाई प्रलोपाले उम्मेदवार बनाएको छ ।
उनको जिल्लामा खासै जनमत भने देखिँदैन । यद्यपि प्रलोपाले भने जेनजेड समूहका युवालाई अघि सारेको बताउँदै जिल्लाको राजनीतिमा नयाँ पुस्ताको प्रवेश गराएको दाबी गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका ऐडी इन्जिनियर हुन् । युवा उम्मेदवार ऐडी गत महिना रास्वपाले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा समेत परेका थिए । प्रारम्भिक निर्वाचनमा अपेक्षा अनुसार मत ल्याउन सकेका थिएनन् ।
ट्रेकिङ गाइडदेखि लेखापढी व्यवसायीसम्म
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका डाँगी जिल्ला पार्टीका प्रवक्ता हुन् । १५ वर्षदेखि निरन्तर राप्रपामा देखिएका उनी पहिलो पटक निर्वाचनमा होमिन लागेका हुन् । उनी ट्रेकिङ गाइडमा सक्रिय छन् ।
स्वतन्त्र तर्फ उम्मेदवारी दिएका केसी नेकपाका पूर्व नेता हुन् । नेकपा एमाले हुँदै तत्कालीन माओवादीमा प्रवेश गरेका उनी ठुली भेरी नगरपालिकाका ३ नं को वडा अध्यक्षमा पराजित भएका थिए । उनी जिल्लामा लेखापढी व्यवसायमा सक्रिय छन् । राजनीतिमा पुस्तान्तरणमा जोड दिँदै आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् ।
मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी भण्डारी भने राजनीतिमा खासै सक्रिय छैनन् । जिल्लामा महिला उम्मेदवार कोही नभएपछि महिलाको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिएको उनले बताइन् ।
यसरी डोल्पामा यस पटक अनुभव भएका र नयाँ सोचका युवाबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिक्रिया 4