News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'कुमारी'ले माघ १० गते भृकुटीमण्डपमा निःशुल्क सांगीतिक कन्सर्ट आयोजना गर्ने निर्देशक दिनेश राउतले बताए।
- फिल्मले पश्चिम नेपालगञ्जदेखि कन्सर्ट टूर सुरु गरी पोखरा र चितवनमा पनि प्रस्तुति दिइसकेको छ।
- फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकार आकृति राजभण्डारी र अभिषेक खड्का सहभागी हुने जनाइएको छ।
काठमाडौं । माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कुमारी’ ले प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । सांगीतिक कन्सर्टको मद्दतमा फिल्मले दर्शक फकाइरहेको देखिन्छ ।
मोफसलका प्रमुख सहरपछि अब फिल्मले राजधानीमा कन्सर्ट आयोजना गर्ने भएको छ । १० माघको शनिबार साँझ ५ बजेदेखि भृकुटीमण्डपस्थित मैदानमा फिल्मले कन्सर्ट आयोजना गर्न लागेको हो ।
सोही समारोहमा ट्रेलर सार्वजनिक गरिने निर्देशक दिनेश राउतले बताए । ‘कुमारी’ को कन्सर्टमा गायक केहरसिंह लिम्बु र उनको सांगीतिक समूह ‘केहर सिंह एन्ड द लुङा’ ले प्रस्तुति दिइरहेको छ । फिल्मको सबै गीतको कम्पोज नै लिम्बुले गरेका हुन् ।
फिल्मले १ माघमा पश्चिम नेपालको प्रमुख सहर नेपालगञ्जदेखि कन्सर्ट टूर थालेको थियो । त्यसपछि तालनगरी पोखरामा फिल्मले ३ माघमा प्रस्तुति दियो । ६ माघमा चितवनको नारायणी नदी किनारमा ब्यान्ड गुञ्जियो ।
भृकुटीमण्डपमा आयोजना हुने कन्सर्टमा महिला गायन समूह ‘स्त्रीज’ पनि प्रस्तुति दिने भएको छ । कन्सर्ट निःशुल्क हुने जनाइएको छ ।
सो अवसरमा हुने ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकार आकृति राजभण्डारी, अभिषेक खड्का लगायत पनि सहभागी हुने जनाइएको छ । निर्देशक राउतले मोफसलमा देखिएको दर्शकको क्रेजले उत्साहित बनाएको बताए ।
फिल्ममा समावेश ‘डोको बुन्ने’ गीतले युट्युबमा मात्र करिब आधा करोड भ्यूजको यात्रा तय गरिसकेको छ भने लाखौँ टिकटक तथा रिल्स बनेका छन् ।
प्रतिक्रिया 4