+
+
Shares

जुनारले दिंदैछ सिन्धुलीलाई नयाँ पहिचान

खगेन्द्र फुयाल खगेन्द्र फुयाल
२०८२ माघ ७ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुली जिल्लामा जुनार खेतीले स्थानीय कृषकलाई राम्रो आम्दानी र रोजगारको अवसर दिएको छ ।
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सिन्धुलीमा जुनार बगैंचा विस्तार गरी उत्पादन प्रवर्द्धन गरेको छ।

सिन्धुली जिल्ला हुँदै यात्रा गर्ने हरकोहीलाई यहाँको जुनारले पक्कै पनि लोभ्याएको हुनुपर्छ । सिन्धुलीमाढीसहित सीमा क्षेत्रका साना-ठूला बजार तथा पसलमा जुनार नराखे अचेल बजारजस्तै लाग्दैन । काठमाडौं सहितका ठूला शहरका मार्ट तथा स्टोरहरूमा समेत सिन्धुलीको जुनार भेटिन्छ ।

केहीवर्ष अघिसम्म जापान सरकारले बनाएको उकालो पहाडको नागबेली बाटो सिन्धुलीको पहिचान थियो । अब रसिलो र सुनौलो जुनारले पनि सिन्धुलीलाई नयाँ पहिचान दिइरहेको छ । सिन्धुलीगढीमा रहेको युद्ध संग्रहालय, सेल्फीडाँडा, सेतीदेवी माता (ऐनाको मन्दिर) आदि यहाँका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरू हुन् ।

जुनारलाइ अंग्रेजीमा ‘सुइट ओरेन्ज’ भनिन्छ । यसको वैज्ञानिक नाम ‘सिट्रस एक्सचिनेन्सिस’ हो । यो फल पोमेलो (सिट्रस म्याक्सिमा) र मन्डारिन (सिट्रस रेटिकुलाटा) बीचको हाइब्रिडबाट विकास गरिएको विभिन्न जर्नलहरूमा उल्लेख गरिएको छ ।

भूगोलअनुसार जुनार विभिन्न प्रकारका हुन्छन् । यो फल मुख्यगरी एसिया, अफ्रिका तथा अमेरिकी देशमा फल्ने गर्दछ । यसमा प्रचुरमात्रामा भिटामिन सी, फाइबर, पोटासियम, चिनी लगायतको पोषकतत्व पाइन्छ ।

खगेन्द्र फुयाल ।

जुनार फल विशेषगरी नेपालमा मध्यपहाडको महाभारत क्षेत्रमा भिरालो, घमाइलो जमिनमा राम्रो फस्टाएको देखिन्छ । यो फलका लागि समुद्री सतहबाट ८०० मिटरदेखि १३०० मिटरसम्मको उचाइ उपयुक्त मानिन्छ । नेपालका ४९ जिल्लामा जुनार उत्पादन हुने भनिएता पनि सिन्धुली, रामेछाप, धनकुटा, काभ्रेपलाञ्चोक लगायत जिल्लामा यसको राम्रो खेती हुने गरेको छ ।

जुनारको विरुवा रोपेको ५ देखि ६ वर्षमा फल दिन सुरु गर्दछ । कलमी गरेको विरुवाले भने रोपेदेखि नै फल दिने विज्ञहरूको बताउँछन् । चैत महिनाको मध्यतिर बोटमा पूर्णरूपमा फूलहरू फुल्ने गर्दछ र महिनाको अन्तिमसम्ममा परागसेचन पूरा भई फल लाग्न सुरु हुन्छ । असोज लागेसँगै हरिया जुनार बजारमा आउन थाल्छन् । मूल्य राम्रो आउने लोभले राम्रोसँग नपाकीकनै जुनार बजारमा ल्याउन थालेपछि स्थानीय सरकारले जुनार पाकेपछि मात्र बेच्च कृषकहरूलाई आग्रह गर्दै आएको छ ।

कात्तिकको अन्तिम सातादेखि जुनार पाक्न थाल्ने जलकन्या चपौलीका कृषि प्राविधिक चन्द्रप्रसाद चौलागाईले बताए । उनका अनुसार भू-गोलअनुसार जुनार, सुन्तला केही ढिलोचाडो पाक्ने गर्छन् । मंसिरको मध्यतिर भने पूर्णरूपमा पाकिसकेको हुन्छ ।

विसं २०३२/३४ सालतिर सिन्धुली र रामेछाप जिल्लाको महाभारत क्षेत्रमा परिक्षणका रूपमा जुनार खेती सुरु भएको स्थानीय बताउछन् । जापान सरकारको सहयोगमा २०४२ सालमा बागवानी विकास आयोजना लागू भएपछि जुनार फलको व्यवसायिक खेती सुरुभएको हो । सिन्धुलीको रतनचुराका कृषक मनिराज हायूले एकजना जापनिजले दिएको जुनारको बियाँबाट जुनार खेती सुरू गरेको भन्ने कथन पनि रहेको छ ।

सिन्धुलीको महाभारत क्षेत्रमा पर्ने गोलन्जोर गाउँपालिका १ देखि ६ सम्मका तीनकन्या, रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ् जुनार उत्पादनका दृष्टिले पकेट क्षेत्र हुन् । पछिल्लो केही वर्षयता यहाँका किसानले जुनार उत्पादनबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

जुनार उत्पादनका हिसाबमा सिन्धुली जिल्ला जुनारको राजधानीका रूपमा समेत परिचित छ । जिल्लाकै गोलन्जोर गाउँपालिको तीनकन्या, माझकुभिण्डे, कमलामाई नगरपालिका ३ जलकन्या चपौली, तीनपाटन गाउँपालिका १ को श्रामखोला, सुनकोशी गाउँपालिका अन्तर्गत मझुवा लगायतका क्षेत्रमा जुनार उत्पादन हुने गर्दछ ।

कुनैबेला मकै र कोदो लगायतका अन्नबाली मात्रै लगाउने किसानका लागि यतिबेला जुनार-सुन्तला राम्रो आम्दानीको स्रोत बनेको छ । तराई तथा पहाडहुँदै बनेका विभिन्न राजमार्गले जिल्ला जोडिएपछि यहाँका कृषकलाई अर्थोपार्जनको राम्रो स्रोत जुनार बनेको छ । विगतमा ४-५ बोकेरै सिन्धुलीमाढीमा लाग्ने सनिबारे हाटमा लगेर बेच्नुपर्ने बाध्यता कृषकहरूलाई थियो ।

सडकको सुविधा भएपछि जुनारसँगै यहाँका अन्य उत्पादनहरूले पनि बजार पाउन थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जुनार सुपरजोन कार्यक्रम सञ्चालन भएपछि जुनारखेतीमा आकर्षण बढेको छ । यहाँका धेरै कृषकहरू राम्रो आम्दानी गर्न थालेका छन् ।

जुनार बेचेर किसानले वार्षिक ३५ लाखसम्म आम्दानी लिँदै आएको स्थानीय बताउँछन् । जुनार खेतीले थोरै संख्यामा भएपनि स्थानीय युवालाई रोजगारीको अवसर सिर्जना गरेको छ ।

विगतमा शासको ‘चाकरी’ गर्न कोसेलीका रूपमा जुनार लाने गरिन्थ्यो भन्ने भनाइ पनि छ । राणा साहेबलाई ‘ज्यूनार’ गरिबक्स्योस् भन्दाभन्दै अपभ्रंश भएर यस फलको नाम जुनार हुनगएको भन्ने भनाइ पनि छ । उदाउँदै गरेका बजारहरू खुर्कोट, खनियाखर्क, सोलाभञ्याङ्ग, चियाबारी सहित वीपी राजमार्गभरी राखिएको जुनारले सबैको मन खिचेको हुन्छ । राजमार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा आगन्तुकको समेत रोजाइमा जुनार पर्ने गरेको राजमार्गका व्यापारीहरू बताउँछन् ।

केही वर्षयता जुनार तथा सुन्तला फलमा लाग्ने एक प्रकारको पुतली जातको कीराबाट भने कृषकहरु आक्रान्त छन् । सुडे नामक पुतलीको प्रकोपले जुनार, सुन्तला नपाक्दै झर्ने र बोटमा रहेका पनि खान नहुनेगरी कुहिने जस्ता समस्या देखिन थालेको छ । जुनार चिचिला लाग्न थालेदेखिने सुडे पुतलीले दुःख दिन थाल्ने कृषकहरूको गुनासो छ ।

यता जलकन्या चपौलीमा केहीवर्ष देखि जुनारका बोटहरू सुक्दै गएका छन् भने नयाँ विरुवा लगाउने कृषकको संख्या पनि न्यून रहेको छ । चपौलीमा विगतमा जुनार सुन्तला राम्रै फल्ने गरेको भएता पनि अचेल बोटहरू सुक्ने, फल बोटमै कुहिने, झर्ने जस्ता समस्याले गर्दा यहाका कृषकको ध्यान अन्य नगदे बालीतर्फ मोडिएको कृषकहरू बताउछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, सिन्धुलीको तथ्यांकअनुसार परियोजना सुरुभएयता जिल्लामा २३७ हेक्टर क्षेत्रमा जुनार बगैँचा विस्तार भएको छ ।  हाल सिन्धुलीमा १ हजार ३१८ हेक्टरमा जुनार र सुन्तलाको खेती भइरहेको छ । यसमध्ये ७९४ हेक्टरमा जुनार लगाइएको छ । गतवर्ष जिल्लाभरिबाट ५० करोड भन्दा धेरैको जुनार विक्री भएको थियो ।

वातावरणीय दिगोपनका लागि सक्रिय स्टोरी साइकल अभियानले केहीवर्षदेखि प्रविधि मार्फत जुनार फलको प्रवर्द्धन गर्दै आएको छ । अभियानले जुनारमा अमिलो पस्न थालेदेखि बगैंचामा पुगेर ‘करेसा’ एप मार्फत ट्रयाकिङ गर्दै आएको छ । यसले उपभोक्तालाई जुनार फल बारेको जानकारी दिनुका साथै उत्पादन भएको स्थान र कृषकबारे जानकारी समेट्ने प्रयास गरेको छ ।

यो अभियानले हरेक वर्ष काठमाडौंमा जुनार तथा यसबाट तयार गरिएको परिकार तयार गरी प्रदर्शनी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?