+
+
Shares

खरायो प्रहरी र चलाख फ्याउरोबारेको फिल्म बन्यो विश्वभर धेरै कमाउने नवौं (टपटेन सूची)

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनिमेटेड फिल्म ’जुट्रोपोलिस २’ ले विश्वभर १.७ बिलियन डलर कमाउँदै हलिउड इतिहासकै सबैभन्दा धेरै कमाउने एनिमेटेड फिल्मको रेकर्ड बनाएको छ।
  • यो फिल्मले सन् २०२४ मा रिलिज भएको ‘इनसाइड आउट २’ को १.६९ बिलियन डलरको रेकर्ड तोडेको हो र विश्वभर नौौँ स्थानमा पुगेको छ।
  • चीनको ‘ने झा २’ ले २.२ बिलियन डलर कमाएर विश्वकै सबैभन्दा धेरै कमाउने एनिमेटेड फिल्मको रेकर्ड कायम गरेको छ।

एनिमेटेड फिल्म ’जुट्रोपोलिस २’ ले विश्वभर १.७ बिलियन डलर कमाउँदै हलिउड इतिहासकै सबैभन्दा धेरै कमाउने एनिमेटेड फिल्मको रेकर्ड बनाएको छ ।

केही देशमा ’जुटोपिया २’ नामले चिनिने यस फिल्मले सन् २०२४ मा रिलिज भएको ‘इनसाइड आउट २’ को रेकर्ड तोडेको हो । ‘इनसाइड आउट २’ ले १.६९ बिलियन डलर कमाएको थियो ।

यो फिल्म अहिले विश्वभरकै सबैभन्दा सफल फिल्मको सूचीमा नवौँ स्थानमा पुगेको छ । यो सूचीमा यसअघि नै ‘अवतार’, ‘टाइटानिक’, ‘एभेन्जर्सः एन्डगेम’ र ‘स्टार वार्स : द फोर्स अवेकन्स’ जस्ता चर्चित फिल्म छन् ।

हलिउडका लागि यो रेकर्ड भए पनि समग्र विश्वमा भने सबैभन्दा धेरै कमाउने एनिमेटेड फिल्मको रेकर्ड चीनको ‘ने झा २’ को नाममा छ । उक्त चिनियाँ फिल्मले गत वर्ष २.२ बिलियन डलर कमाएर विश्व कीर्तिमान कायम गरेको थियो ।

गत नोभेम्बरमा रिलिज भएको ‘जुट्रोपोलिस २’ सन् २०१६ मा आएको चर्चित फिल्म ‘जुट्रोपोलिस’ को सिक्वेल (दोस्रो भाग) हो । यो फिल्म बनाउन करिब १५ करोड डलर खर्च भएको अनुमान गरिएको छ ।

यस पटकको कथामा खरायो प्रहरी अधिकारी जुडी हप्स (जिन्निफर गुडविनको आवाज) र चलाख फ्याउरो निक वाइल्ड (जेसन ब्याटम्यानको आवाज) पुनः एकसाथ देखिएका छन् । उनीहरू सहरमा आएका एक रहस्यमयी नयाँ बासिन्दा, छेपारो प्रजातिका ग्यारी डी स्नेक (के हुई क्वानको आवाज) को खोजीमा लागेको रोचक यात्रा फिल्ममा देखाइएको छ ।

यो ऐतिहासिक सफलतापछि डिज्नी इन्टरटेनमेन्टका सह-अध्यक्ष एलन बर्गम्यानले एक विज्ञप्ति जारी गर्दै खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यो सफलताको मुख्य श्रेय विश्वभरका प्रशंसकलाई जान्छ, जसको उत्साहले गर्दा नै यो सम्भव भएको हो । हामी हाम्रा फिल्म निर्माताप्रति गर्व गर्छौं । ‘जुटोपिया २’ एक असाधारण उपलब्धि हो र यसलाई जीवन्त बनाउन सहयोग गर्ने सबैप्रति हामी आभारी छौँ ।’

’जुट्रोपोलिस २’ ले रिलिजको सुरुवाती दिनदेखि नै नयाँ रेकर्ड बनाउन सुरु गरेको थियो । अमेरिकाको ‘थ्यांक्सगिभिङ’ पर्वको अवसर पारेर रिलिज गरिएको यस फिल्मले कुनै पनि एनिमेटेड फिल्मले पाएको अहिलेसम्मकै ठुलो ‘ओपनिङ विकेन्ड’ (सुरुवाती साताको कमाइ) को रेकर्ड राखेको थियो ।

यो फिल्म विश्वभर १ बिलियन डलरको आँकडा सबैभन्दा छिटो पार गर्ने हलिउड एनिमेटेड फिल्म समेत बनेको छ ।

यद्यपि, चीनको फ्यान्टासी एडभेन्चर फिल्म ‘ने झा २’ अझै पनि कमाइको हिसाबले धेरै अगाडि छ । ‘ने झा २’ ले कमाएको २.२ बिलियन डलरको ठुलो हिस्सा चीनकै बजारबाट संकलन भएको हो ।

विश्वभर धेरै कमाउने १० फिल्म

१) अवतार- २.९२ बिलियन
२) एभेन्जर्स : एन्डगेम- २.७९ बिलियन
३) टाइटानिक- २.२६ बिलियन
४) अवतार : द वे अफ वाटर- २.२५ बिलियन
५) ने झा २- २.२१ बिलियन
६) स्टार वार्स : द फोर्स अवेकन्स- २.०७ बिलियन
७) एभेन्जर्स : इन्फिनिटी वार- २.०५ बिलियन
८) स्पाइडर-म्यान : नो वे होम- १.९२ बिलियन
९) जुटोपिया २- १.७० बिलियन
१०) इनसाइड आउट २- १.६९ बिलियन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?