News Summary
Generated by OK AI. Editorially reviewed.- पशु अधिकारकर्मी विश्व राम कार्कीका अनुसार आरोपीले कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाएर दुर्व्यवहार गरेको पाइएको र कानुनी रूपमा उजुरी दर्ता गरिएको बताए।
सामाजिक सञ्जालमा भाइरल भएको एक हिंसात्मक भिडियोले आक्रोश फैलाएको छ । भिडियोमा एक पुरुषले कुकुरमाथि यौन दुर्व्यवहार गरेको स्पष्ट देखिन्छ, जसले पशु अधिकार, मानवीय नैतिकता र समाजको नैतिक स्तरलाई गम्भीर प्रश्न उठाएको छ ।
घटनाका मुख्य आरोपी ६० वर्षीय दलबहादुर राई फरार रहेका छन् । प्रहरीले उनको खोजी तीव्र बनाएको छ । यो घटना विराटनगरमा भएको हो, जहाँ स्थानीय पशु कल्याण समूह र अधिकारकर्मीहरूले अनुसन्धानमा सक्रिय सहयोग गरिरहेका छन् ।
के भएको थियो घटना ?
यो घटना करिब ६ महिनादेखि दोहोरिँदै आएको बताइएको छ । आरोपी दल बहादुर राईले विभिन्न कुकुरहरूलाई आफ्नो घरमा ल्याउने, स्लिपिङ ट्याब्लेट खुवाउने र त्यसपछि यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ । स्थानीयहरूका अनुसार, राईले यस्तो हर्कत बारम्बार गर्दै आएका थिए । आरोपीमा कुनै मानसिक समस्यासमेत नभएको बुझिएको छ ।
भाइरल भएको भिडियो दुई-तीन दिनदेखि सामाजिक सञ्जालमा अपलोड गरिएको थियो, जसलाई स्थानीय पत्रकार र पशु अधिकारकर्मीहरूले सार्वजनिक गरेका थिए । भिडियोमा देखाइएको दृश्य अत्यन्त पीडादायक छ, जसमा कुकुरलाई अत्यधिक पीडा दिइएको स्पष्ट छ । यस भिडियोमा देखाइएको कुकुर गर्भवती रहेको दाबी गरिएको छ, जसले घटनालाई अझ अमानवीय बनाएको छ।
स्थानीयहरूले बताएअनुसार, राईले ६ महिनादेखि कुकुरहरू ल्याउने र छोड्ने गर्थे। तर यसलाई गम्भीर रूपमा लिइएको थिएन । घटना सार्वजनिक भएपछि मात्र यसको गम्भीरता थाहा भएको छ ।
आरोपी राई घटना सार्वजनिक भएलगत्तै फरार भएका छन् । ट्र्याकिङबाट उनी इलामतर्फ गएको जानकारी प्राप्त भएको थियो, तर अहिले उनको मोबाइल फोन अफ छ, जसले अनुसन्धानलाई जटिल बनाएको छ ।
स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दूर्व्यवहार
पशु अधिकारकर्मीहरूले यो घटना निकै निन्दनीय भएको बताएका छन् । पशु अधिकारकर्मी विश्व राम कार्की यसलाई मानवीयताहीन अपराध भनेका छन् । ‘यो घटना ६ महिनादेखि चलिरहेको थियो, र हामीले स्थानीयहरूको सहयोगमा भिडियो प्राप्त गरेका हौँ’ कार्कीले सुनाए । आरोपीले कुकुरहरूलाई स्लिपिङ ट्याब्लेट खुवाएर दुर्व्यवहार गर्ने गरेको पाइएको कार्कीले बताए । जसले पशुहरूको स्वास्थ्य र जीवनलाई जोखिममा पारेको उनको भनाइ छ । कार्कीका अनुसार, यो केसलाई कानुनी रूपमा अघि बढाउनका लागि उजुरी दर्ता गरिएको छ, र प्रहरीले अनुसन्धान थालेको छ ।
पशु कल्याण समूहहरूले विराटनगरमा विशेष टोली खटाएका छन्, जसले आरोपीको खोजीमा सहयोग गरिरहेका छन् । ‘हामीले यो घटनालाई सार्वजनिक गरेपछि आरोपी फरार भएका छन्’ कार्कीले भने, ‘यसले पशु क्रूरताविरुद्ध कडा कानुनको आवश्यकता देखाउँछ ।’
यो घटना समाजका लागि एक खतरा भएको पशुअधिकारकर्मी डा. रश्मी थापा बताउँछिन् । ‘पशु करणी गर्ने व्यक्तिको हर्कत हेर्दा उनमा मानवीयता नै नभएको देखाउँछ’ थापा भन्छिन्, ‘जसले गर्दा ऊ केवल पशुप्रति क्रूर मात्र होइन, सम्पूर्ण समाजका लागि खतरा बन्छ ।’ पशुलाई करणी गरेपछि व्यक्तिको मानिसलाई पनि हानि पुर्याउन सक्ने उनको बुझाइ छ । यिनको व्यवहार देखेर छिमेकीहरूले पनि असहज महसुस गरेको बताइरहेको थापाले सुनाइन् ।
यो घटनाले नेपालमा पशु अधिकारको मुद्दालाई फेरि एकपटक अगाडि ल्याएको छ । सामाजिक सञ्जालमा हजारौं प्रयोगकर्ताहरूले यसविरुद्ध आवाज उठाएका छन्, र पशु कल्याण अभियन्ताहरूले आरोपीलाई कडा सजायको माग गरेका छन् ।
यो घटना पशुहरू मात्र होइन, समाजको नैतिक स्तरसँग जोडिएको छ । विशेषज्ञहरूका अनुसार, यस्ता घटनाले मानसिक स्वास्थ्य, सामाजिक जागरण र पशु क्रूरताविरुद्ध कडा कानुनको आवश्यकता देखाउँछन् ।
कानुनी पक्ष र सम्भावित कारबाही
नेपालको मुलुकी अपराध संहिता, २०७४ अनुसार यो घटना गम्भीर अपराध हो । दफा २२७ मा पशु करणी गर्नु गैरकानुनी ठहरिएको छ, जसमा गाईको हकमा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना लाग्न सक्छ । अन्य पशुहरू जस्तै कुकुरको हकमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना हुन्छ । यसबाहेक, पशु दुर्व्यवहार जस्तै यातना दिनेको लागि दफा २९० अनुसार तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ ।
प्रतिक्रिया 4