८ माघ, बारा । राष्ट्रिय बास्केटबल खेलाडी अजय कुशवाहा यसपटक खेलमैदान होइन, चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कम्युनिस्ट पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट २७ वर्षीय कुशवाहालाई उम्मेदवार बनाएसँगै खेलजगतको एउटा परिचित अनुहार प्रत्यक्ष राजनीतिमा प्रवेश गरेको हो ।
अजय बास्केटबलमा राष्ट्रियस्तरमा चिनिएका खेलाडी हुन् । कोर्टमा अनुशासन र टीमवर्कका लागि परिचित उनी अहिले मतदातामाझ आफूलाई राजनीतिक विकल्पका रूपमा स्थापित गर्ने चुनौतीमा छन् । खेलकुदबाट आएको लोकप्रियता राजनीतिमा कत्तिको काम लाग्ला भन्ने चासो बारा ४ मा देखिन थालेको छ ।
खेलकुद करिअरसँगै अजयको राजनीतिक पृष्ठभूमि भने सीमित छ । उम्मेदवारी दर्ताअघि उनी स्थानीय राजनीतिमा खासै सक्रिय थिएनन् । यद्यपि तत्कालीन नेकपा एकीकृत समाजवादी निकट खेलकुद महासंघमा केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका थिए । साथै, काठमाडौं–बारा सम्पर्क मञ्चको नेतृत्वसमेत उनले गरेका थिए ।
खेलाडीको परिचय बोकेर चुनावी प्रतिस्पर्धामा उत्रनु अजयका लागि नयाँ अनुभव हो । तर उनको उम्मेदवारी केवल खेलकुद पहिचानकै कारण भएको भन्ने विषयमा भने विवाद पनि छ । उनी एमाले बाराका पूर्वप्रभावशाली नेता रामचन्द्र प्यासीका छोरा हुन् । कतिपयले उनको उम्मेदवारीमा पारिवारिक राजनीतिक विरासत निर्णायक बनेको टिप्पणी गरिरहेका छन् ।
अजय भने यसलाई अस्वीकार गर्छन् । ‘म काठमाडौंमा रहे पनि पार्टीका कार्यक्रमहरूमा सहभागी भइरहेकै थिएँ । जिल्लाबाट सिफारिस भएर नै उम्मेदवार बनेको हुँ,’ उनी भन्छन् ।
श्रेष्ठको सट्टा कुशवाहाले पाए टिकट

सुरुमा नेकपाले बारा ४ मा माओवादी तर्फका क्षेत्रबहादुर श्रेष्ठलाई उम्मेदवारका रुपमा अघि सारेको थियो तर मनोनयनको अघिल्लो दिन एक्कासी कुशवाहालाई उम्मेदवार तय गरिएको थियो । कुशवाहालाई टिकट दिन माधव नेपाल आफैं बारा आएका थिए ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले पार्टीले अहिले देशको आवश्यक्ता हेरेर जेनजी समूहका उम्मेदवारलाई टिकट दिने निर्णय लिएको बताए । ‘मेरो चाहना आफ्नो ठाउँमा स्वभाविक थियो, तर पार्टीको निर्णय हामी सबैले मान्नु पर्यो नि’ श्रेष्ठले भने ।
२०७० असोज १८ गते संविधान सभा निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार महमुद आलमको हत्या अभियोगमा जन्मकैद सजायँ पाएका प्यासी २०७९ को निर्वाचनताका राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए । प्यासी यही माघ ६ गते उम्मेदवारी दर्ताका क्रममा छोरालाई लिएर निर्वाचन अधिकृतको कार्यालयमा आएका थिए ।
नेकपाका केन्द्रीय सदस्य दिनेश राईले प्यासीको राजनीतिक इतिहास र उनको क्षेत्रमा रहेको प्रभावलाई अवमूल्यन गर्न नहुने भन्दै अजयको उम्मेदवारीलाई उनका बुवासँग नजोड्न आग्रह गरे । ‘अजयलाई पार्टीले अनुशासित र लोकप्रीय जेनजी युवा भएकाले उम्मेदवार बनाएको हो, उनको पारिवारिक पृष्ठभूमि हेरेर उम्मेदवार बनाएको होइन,’ राईले भने ।
बास्केटबल कोर्टमा प्रतिस्पर्धा, रणनीति र धैर्य आवश्यक पर्छ । अब त्यही गुण चुनावी मैदानमा प्रयोग गर्नुपर्ने अवस्था अजयसामु छ ।
फागुन २१ गतेको मतदानले एक राष्ट्रिय खेलाडीको राजनीतिक यात्रा कता मोडिन्छ भन्ने टुंगो लगाउनेछ ।
बारा ४ मा उनको प्रतिस्पर्धा निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), रास्वपाका रहबर अन्सारी र कांग्रेसका श्यामबाबु गुप्ता लगायतसँग छ । खेल मैदानबाट संसद यात्रा सफल हुन्छ कि हुँदैन, मतदाताले निर्णय गर्नेछन् ।
प्रतिक्रिया 4