+
+
Shares

काठमाडौं-५ : पुराना ‘हेभिवेट’ लाई नयाँको चुनौती

काठमाडौं-५ मा एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, राप्रापका कमल थापा, रास्वपाका सस्मित पोखरेल, गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारी र उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले उम्मेदावारी दिएका छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ माघ ८ गते २०:३५

८ माघ, काठमाडौं । ‘परिपक्वले कांग्रेस–एमाले भनिरहेका छन्, नयाँ पुस्ताले घण्टी-घण्टी,’ काठमाडौं-५ का मतदाता ऋषेश्वर दाहाल प्रतिनिधिसभा निर्वाचनको पछिल्लो माहोल सुनाउँदै थिए ।

सोही क्षेत्रकी मतदाता विमला निरौलाको मत अहिले पहिलेभन्दा फरक छ । ‘चुनावी माहोल बनेको छ । तर चिसा पसलदेखि घरसम्म नयाँलाई दिनुपर्छ भनिरहेका छन्,’ उनले भनिन् ।

क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ, गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारी लगायतका उम्मेदवारहरूले ‘हेभिवेट’ नेताहरूलाई टक्कर दिएका छन् ।

उम्मेदवारहरूले आफू जित्ने दाबी गरिरहेका छन् । सँगै पुराना दलले नयाँलाई स्वागत पनि गरेका छन् । ‘लोकतन्त्रमा परिणामालाई स्वीकार गर्नुपर्छ । प्रतिस्पर्धामा विश्वास गर्छौं,’ एमाले उम्मेदवार ईश्वर पोखरेलले भने, ‘नयाँनयाँ दल आउनु स्वागतयोग्य कुरा हो । जुनसुकै पुस्ताका साथीहरू प्रतिस्पर्धामा आउनुलाई स्वागत गर्नुपर्छ ।’ जस्तोसुकै मत परिणाम आए पनि स्वीकार गर्ने धारणा पोखरेलको छ ।

२०७९ को निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस महामन्त्री प्रदीप पौडेलबीच भिडन्त भएको थियो । जसमा पौडेलले बाजी मारे । यसपटक पनि यो निर्वाचन क्षेत्रमा पोखरेल र पौडेलले नै उम्मेदवारी दिएका छन् ।

कांग्रेस उम्मेदवार पौडेल काठमाडौं–५ ले पहिलो पटक नै सांसदको रूपमा चिनाएकोले फेरि जनताले जिताउने दाबी गर्छन् ।

‘मलाई यहाँ जनताले पुनः जिताउनुहुन्छ भन्ने विश्वास छ,’ यसअघि काठमाडौं–५ मा गरिएका वाचा कति पूरा भए भन्ने प्रश्नको जवाफ पौडेलले भने, ‘यसअघि गरिएका वाचा कतिपय पूरा भए, कति हुँदैछन् । यही पूरा गर्न र निरन्तरता दिन फेरि जनतासामु आएको छु । यो क्षेत्रले मलाई फेरि जिताउँछ भन्ने विश्वास छ ।’

नेपाली कम्युनिस्ट पार्टीकी कल्पना शर्मा पनि प्रतिस्पर्धामा छिन् । उनी २०७४ को स्थानीय तहको चुनावमा तत्कालीन माओवादीबाट टोखा नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी थिइन् । यसपटक उनी प्रतिनिधिसभा सदस्यको लागि चुनावमा होमिएकी हुन् ।

‘भ्रष्टाचार र बेतिथिको विरुद्धमा बुलन्द आवाज उठाउने छु ।  सुशाशन समृद्धि र सामाजिक न्यायको लागी मेरो उम्मेदवारी हो,’ उनले भनिन्, ‘युवाको आवाज बनेर अगाडि बढ्ने छु । महिला अधिकारको लागि निरन्तर संघर्षरत छु ।’

रास्वपाका पोखरेलले २०७९ को चुनावमा काठमाडौं-५ (क) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी चुनाव पराजित भएपछि काठमाडौं महानगरमा निवर्तमान प्रमुख बालेन्द्र साहको शिक्षा सल्लाहकार भएर काम गरेका थिए । यसपटक उनी रास्वपाबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन् ।

‘म यही क्षेत्रमा जन्मिएको, हुर्किएको र यहाँका गल्ली–गल्ली चहारेको व्यक्ति भएकाले यस क्षेत्रका आवश्यकता तथा तपाईंहरूको चाहनालाई नजिकबाट बुझेको छु । त्यसैले जनताको आवाजको प्रतिनिधित्व गर्दै संसद्‌सम्म पुर्‍याउने सदीक्षाले यो यात्रामा अघि बढाएको हो,’ उनले भने, ‘युवा पुस्तालाई नेतृत्वमा पुर्‍याउन विश्वास लिएको छु ।’

उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङ २०७९ को चुनावमा काठमाडौं-५ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसपटक उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका हुन् । उनी पर्यटनको क्षेत्रबाट राजनीतिमा होमिएका हुन् । अन्तर्राष्ट्रिय सहकार्यमा वार्षिक ३५ लाख पर्यटक भित्र्याउने र आर्थिक रुपान्तरण र समृद्धिको एजेन्डा गुरुङले अघि सारेका छन् ।

गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार निशा अधिकारी अभिनेत्री हुन् । उनी पहिलो पटक चुनावी मैदानमा होमिएकी हुन् । उनले ‘वडावडामा दिगो रोजगारी’ सहितका मुद्दा अघि बढाउने बताइन् । उद्यमशिलता, पर्यटन, कृषि, प्रविधि, मानसिक स्वास्थ्य लगायतका एजेन्डालाई विशेषज्ञसँग बसेर अघि बढाउने उनले बताइन् ।

मकवानपुर छोडेर कमल थापा काठमाडौं-५ मा

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पनि काठमाडौं-५ मै छिरेका छन् । यसअघिको चुनावमा उनी मकवानपुर–१ बाट चुनाव लड्दै आएका थिए ।

२०७९ को चुनावमा मकवानपुरबाट एमालेको सूर्य चिह्न लिएर उठेका उनी राप्रपाका दीपक सिंहसँग थापा पराजित भएका थिए । यसपटक उनी राप्रपामै फर्किएर निर्वाचन क्षेत्र फेरेर काठमडौं आइपुगेका हुन् ।

‘धर्म र संस्कृतिप्रति आस्था र विश्वास राख्ने, भ्रष्ट शासकबाट मुक्ति चाहने बहुसंख्यक मतदाता भएको कारणले हामी विजयको नजिक छौँ,’ थापाले भनेका छन् ।

२६ उम्मेदवार प्रतिस्पिर्धामा

काठमाडौं-५ मा २६ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, राप्रापका कमल थापा, रास्वपाका सस्मित पोखरेल, गतिशील लोकतान्त्रिक पार्टीकी निशा अधिकारी र उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले उम्मेदावारी दिएका छन् ।

त्यसैगरी राष्ट्रिय जनमोर्चा अशोकविक्रम जीसी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) निमेश खनाल, नेपाल मजदुर किसान पार्टीकी शोभालाल श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनकी मीरा गुरुङ, मितेरी पार्टी नेपालकी सुनिता न्यौपानेले पनि उम्मेदवारी दिएका छन् ।

 

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) युवराज काफ्ले, जनता समाजवादी पार्टी, नेपाल दानिन्द्र जोशी, त्रिमूल नेपाल रमेश तामाङ, आम जनता पार्टी कोमल पौडेल, नेपाली कम्युनिस्ट पार्टी कल्पना शर्मा, प्रगतिशील लोकतान्त्रिक पार्टी विष्णु श्रेष्ठ र संयुक्त नागरिक पार्टीका श्यामकाजी सुनुवार पनि चुनावी मैदानमा छन् ।

त्यसैगरी जय मातृभूमि पार्टी बसन्तराज कुँवर, श्रम संस्कृति पार्टी अमित थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ज्ञानेन्द्र प्रजापतीले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर ५ मा ५ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । ढकबहादुर कार्की, रमिता सापकोटा, धर्म डंगोल, प्रभा श्रेष्ठ र क्यामुना मिजारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

७८ हजार मतदाताले गर्नेछन् फैसला

२६ जना उम्मेदवारले आफू जित्ने दाबी गरे पनि अन्तिम फैसला गर्ने मतदाताले हो । काठमाडौं-५ मा ७८ हजार ११४ जना मतदाता छन् । जसमा ४० हजार ८३२ महिला र ३७ हजार २७८ पुरुष छन् । उनीहरूको मतले जित हारको फैसला गर्ने छ ।

२१ फागुनमा हुने निर्वाचनको लागि यो क्षेत्रमा ३१ वटा मतदानस्थल र ९० वटा मतदान केन्द्र तोकिएको छ ।

यस्तो थियो २०७९ को परिणाम

२०७९ को प्रतिनिधिसभा चुनावमा विजयी भएका कांग्रेसका प्रदीप पौडेलले १५ हजार २६९ मत ल्याएका थिए । एमालेका ईश्वर पोखरेलले १० हजार १९०, रास्वपाका प्रणय राणाले ५ हजार ४७७, राप्रपाका रामप्रसाद उप्रेतीले ३ हजार १६२ मत ल्याएका थिए ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङले २ हजार ७६१, हेमराज थापाले २ हजार ४४६ र सुशान्त श्रेष्ठले १ हजार ७१२ र रन्जु न्यौपानेले ६०० मत ल्याएका थिए ।

त्यसैगरी नेमकिपाका शैलेश डंगोलले १ हजार १२२ र हाम्रो नेपाली पार्टीका मधुसुदन पाठक ३६४ मत ल्याएका थिए ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?