+
+
Shares
स्थलगत :

एजेन्डा स्थापित गर्न मतदाताको घरदैलोमा निशा

यो क्षेत्रमा अहिलेसम्म महिला उम्मेदवार निर्वाचित भएका छैनन् । यही संरचनागत पृष्ठभूमिमा निशाले आफूलाई ‘एजेन्डा-केन्द्रित’ उम्मेदवारका रूपमा उभ्याएकी छिन् ।

बिनु सुवेदी दिनेश गौतम बिनु सुवेदी, दिनेश गौतम
२०८२ फागुन १८ गते १८:२७

१८ फागुन, काठमाडौं । सडकमा जेनजीको रगत बग्यो । त्यो रगत देखेर उनको रगत उम्लियो । विद्यार्थीमाथि बज्रिएको गोलीले घरमा बस्न मनले दिएन । अनि, सडकमा उत्रिइन् ।

‘अहिले नगरे कहिले गर्ने ?,’ निशा अधिकारीको मनमा प्रश्न बारम्बार घुमिरह्यो । यो पुस्ताले बगाएको रगत फेरि अर्को पुस्ताले बगाउन नपरोस् भनेर उनी राजनीतिमा होमिइन् । २१ फागुनको प्रतिनिधिसभा चुनावमा गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ५ को उम्मेदवार छिन् निशा ।

उनी २०८४ मा हुने भनिएको नियमित चुनावको तयारीमा थिइन् । तर २०८२ मै चुनावमा होमिनुपर्ने अवस्था आइलाग्यो । ‘गतिशील पार्टी दुई वर्षदेखि नै थियो । विज्ञहरूले २०८४ को लागि एजेन्डा बनाउँदै हुनुहुन्थ्यो,’ उनले भनिन् ।

आइतबार दिउँसो लाजिम्पाट पुग्दा निशा घरदैलो कार्यक्रम सकेर चुनावको अन्तिम तयारीमा थिइन् । उनले आफ्नो चुनावी अभियानबारे खुलेर सुनाइन् । ‘जेनजीले आन्दोलन गरे । तर त्यसको सही मूल्याङ्कन भएको छैन । देशमा दण्डहिनता छ । यत्तिकै बस्न मनले मानेन । अनि उम्मेदवारी दिएको हुँ,’ उनले भनिन् ।

निशाका अगाडि पुराना र नयाँ दलहरू पनि विकल्पमा थिए । तर उनले शान्त देखिएको गतिशील लोकतान्त्रिक पार्टी रोजिन् । ब्याट्री चिह्न लिएर उनी मतदाताको घरदैलोमा छिन् । उनी सत्तामा जानभन्दा पनि नागरिकको आवाज र एजेन्डा स्थापित गर्न चाहन्छिन् । मतदाताको घरदैलोमा गइरहेकी निशाको प्रचार पनि शान्त देखियो । जहाँ अरू राजनीतिक दलका उम्मेदवारहरू भव्य प्रचार प्रसारमा छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा यसपटकको चुनाव केवल स्थापित राजनीतिक शक्तिहरूबीचको प्रतिस्पर्धा मात्र होइन । यो प्रतिस्पर्धा शैली, दृष्टि र प्राथमिकताको पनि हो । बालुवाटारको सत्ता-नजिकको भूगोलदेखि टोखा र बुढानीलकण्ठको विस्तार हुँदै गरेको आवासीय बस्तीसमेत समेटिएको यो क्षेत्रमा दशकौँदेखि मुख्य प्रतिस्पर्धा ठूला दल र स्थापित पुरुष नेताहरूबीच हुँदै आएको छ ।

यो क्षेत्रमा अहिलेसम्म महिला उम्मेदवार निर्वाचित भएका छैनन् । यही संरचनागत पृष्ठभूमिमा निशाले आफूलाई ‘एजेन्डा-केन्द्रित’ उम्मेदवारका रूपमा उभ्याएकी छिन् । गतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी उनी चलचित्र क्षेत्रमा २० वर्ष समय बिताएकी चिरपचित अनुहार हुन् ।

उनको अभियानको नारा छ, ‘सगरमाथादेखि सदनसम्म।’ यो केवल आकर्षक नारा मात्रै होइन,’ उनी भन्छिन्, ‘सगरमाथा व्यक्तिगत उपलब्धि थियो, सदनसम्म पुग्ने प्रयास सार्वजनिक जिम्मेवारी हो ।’ उनका लागि यो उचाइको रूपान्तरण हो- व्यक्तिगत उपलब्धिबाट सार्वजनिक दायित्वतर्फको यात्रा हो ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेर अहिले द्वन्द्व र शान्तिका विषयमा एमफिल गर्दै गरेकी निशाको राजनीतिक प्रवेशलाई धेरैले सुरूमा ‘सेलिब्रिटी उम्मेदवार’को रूपमा ब्याख्या गरेका थिए । तर उनी आफूलाई आफ्नो पुरानो कर्ममा मात्रै सीमित गर्न चाहन्नन् । ‘म कलाकार भएर होइन, एजेन्डा लिएर आएको उम्मेदवार हुँ,’ उनी स्पष्ट छिन् ।

सार्वजनिक जीवनमा सक्रिय रहँदा उनले नागरिकता, सुशासन र जवाफदेहिता जस्ता मुद्दामा आवाज उठाएकी थिइन् । सडक आन्दोलनमा सहभागी भइन्, बहसमा उत्रिइन् । तर समयसँगै उनलाई एउटा सीमावोध भयो । ‘बाहिरबाट आवाज उठाउँदा सीमितता महसुस भयो । नीति जहाँ बन्छ, त्यहाँ पुग्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छिन्, ‘हामीले संक्रमण देख्यौं, द्वन्द्व, आन्दोलन, संविधान, सरकारको फेरबदल भइरह्यो । तर स्थायित्वको अनुभूति भएन ।’ त्यसैले अब चुप लागेर बस्नुहुन्न भन्ने निष्कर्षमा नीशा पुगेकी हुन् ।

काठमाडौं-५ यसै पनि सामाजिक रूपमा विविधता भएको क्षेत्र हो । बालुवाटारको कूटनीतिक र प्रशासनिक घेरा, नक्साल र धुम्बाराहीको मध्यमवर्गीय बसोबास, हाडीगाउँको ऐतिहासिक पहिचान, टोखा र बुढानीलकण्ठका कृषक तथा नयाँ बसोबासी समुदाय सबै एउटै निर्वाचन क्षेत्रमा समेटिएका छन् ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार यस क्षेत्रमा ७८ हजार ११४ मतदाता छन् । तीमध्ये महिला ४० हजार ८३२ छन् । यो ५२ दशमलव २७ प्रतिशत महिला मतदाता हो । जुन संरचनागत रूपमा महिलाको उल्लेखनीय उपस्थिति देखाउने आँकडा हो । तर मतदाता संख्यामा महिलाको बहुलता हुँदाहुँदै पनि यस क्षेत्रबाट अहिलेसम्म महिला उम्मेदवार निर्वाचित भएका छैनन्।

उच्च साक्षरता दर र राजनीतिक पहुँच भएको यो क्षेत्र ‘सचेत मतदाता’को क्षेत्र मानिन्छ । तर घरदैलोमा हिँड्दा निशा अधिकारीले अर्को यथार्थ पनि देखेकी छन्- विश्वासको संकट । ‘एजेन्डा सबैले सुन्छन्, तर विश्वास निर्माण सबैभन्दा कठिन कुरा रहेछ,’ उनी भन्छिन् ।

‘कसरी ?,’ हामीले सोध्यौं । टोखाका एक युवा व्यवसायीले भनेको वाक्य उनी बारम्बार सम्झिन्छिन्- ‘हामी धेरै नबुझ्ने पनि होइनौँ, तर सबै आएर आआफ्ना एजेन्डा सुनाउनुहुन्छ । कसलाई भोट हाल्ने भन्ने नै बुझ्न गाह्रो भयो ।’

उनका अनुसार, यो केवल व्यक्तिगत अन्योल होइन, राजनीतिक विकल्पप्रतिको सामूहिक अलमल पनि हो । यो अलमल काठमाडौं क्षेत्र नम्बर ५ मात्रै होइन, देशैभर देखिन्छ ।

करिब एक महिने चुनावी अभियानमा निशाले यस क्षेत्रको समस्या पनि परखेकी छिन् । उनको बुझाइमा काठमाडौं-५ मा यातायात जाम, खानेपानी अभाव, अव्यवस्थित निर्माण, फुटपाथको कमी, धुलो र प्रदूषण मुख्य समस्या हुन् ।

बिहान अफिस समय चक्रपथमा रोकिने सवारी साधनदेखि गर्मी याममा पानीको जोहो गर्नुपर्ने बाध्यतासम्म, दैनिक जीवनको झन्झट सबैको साझा अनुभव यस क्षेत्रका नागरिकले गरिरहेकै छन् । ‘घरबाट निस्किसकेपछि पीडा सुरु हुन्छ,’ उनी भन्छिन् ।

तर, निशाको चुनावी भाष्य सतही नारामा अडिँदैन । उनी घरदैलोमा पुग्दा ‘के बनाइदिन्छु’ भन्दा पहिले ‘के बदल्नुपर्छ’ भन्ने प्रश्न उठाउँछिन्, मतदातालाई सकेसम्म कन्भिन्स गर्न खोज्छिन् । उनको घोषणापत्र र कुराकानी दुवैमा देखिने एउटा साझा सूत्र छ- संरचनागत सुधार ।

सबैभन्दा अघि उनले उठाउने विषय हो- दिगो रोजगारी । ‘काम छ तर भविष्य छैन, यही समस्या हो,’ उनी भन्छिन् । निशाका अनुसार, नेपालमा बेरोजगारी केवल संख्याको प्रश्न होइन; अस्थायी काम, सामाजिक सुरक्षाको अभाव र सिपअनुसार अवसर नपाउनु मुख्य समस्या हो । उनी प्रशासनिक जटिलताको कडा आलोचक छिन् । ‘उद्यम सुरु गर्न महिनौँ लाग्छ,’ उनी भन्छिन्, ‘अनुमति, दर्ता, कर, नवीकरण यी प्रक्रियाको ढिलाइले युवालाई यो मुलुकमा काम गर्न पनि समस्या छ ।’

डिजिटल, पारदर्शी र समयबद्ध प्रशासनिक संरचना निर्माण नगरेसम्म रोजगारी सिर्जनाको कुरा खोक्रो हुने उनको दाबी छ । ‘रोजगारी सिर्जना भाषणले होइन, संरचना परिवर्तनले हुन्छ,’ उनी भन्छिन् ।

काठमाडौं-५ जस्तो सेवा केन्द्रित क्षेत्रमा साना उद्यम, स्टार्टअप, कन्सल्टेन्सी र सिर्जनशील उद्योग सक्रिय छन् । यस्तो क्षेत्रमा प्रशासनिक सरलीकरणको बहस प्रत्यक्ष जीवनसँग जोडिन्छ । तर यो सुधार संघीय तहमा प्राथमिकता पाउँछ कि पाउँदैन भन्ने राजनीतिक इच्छाशक्तिमा निर्भर हुनेछ । निशा यिनै मुद्दाहरू बोकेर प्रतिनिधिसभामा छिर्न चाहन्छिन् । संसद्‌को प्रतिपक्षी सिटमा बसेर निरन्तर खबरदारी गरिरहन चाहन्छिन् ।

निशाको अर्को महत्वपूर्ण एजेन्डा हो महिला स्वास्थ्य । महिलाको शरीरलाई बेवास्ता गरेर समान सहभागिता सम्भव हुँदैन भन्नेमा उनी स्पष्ट छिन् । महिनावारी, प्रजनन स्वास्थ्य, रजोनिवृत्ति र हर्मोन असन्तुलन जस्ता विषय सार्वजनिक स्वास्थ्य नीतिमा पर्याप्त प्राथमिकता नपाएको उनको तर्क छ। ‘जीवनचक्रअनुसार स्वास्थ्य सेवा हुनुपर्छ,’ उनी भन्छिन्, ‘यसलाई नीतिगत रूपमै सुधार गर्न जरुरी छ ।’

शहरी जीवनको अर्को आयाम हो- पूर्वाधार । काठमाडौंको अव्यवस्थित निर्माण, फुटपाथको अभाव, ट्राफिक व्यवस्थापनको कमजोरी र प्रदूषणप्रति उनी आलोचनात्मक छिन् । ‘सडकको लम्बाइ होइन, जीवनको गुणस्तर महत्त्वपूर्ण हो,’ उनी भन्छिन् ।

उनका लागि विकास केवल बजेट खर्च होइन; दीर्घकालीन प्रभावको प्रश्न हो । जेष्ठ नागरिक, गर्भवती महिला र बालबालिकालाई सुरक्षित आवागमन सुनिश्चित नगरी विकासको दाबी अपूर्ण हुने उनको धारणा छ । यिनै कुरा बुझाउन निरन्तर घरदैलो गरेकी निशा अब आफ्नो मिहिनेतको परिणाम पर्खिन ठिक्क परेकी छिन् ।

चलचित्र क्षेत्रबाट आएकाले सिर्जनशील अर्थतन्त्र उनको एजेन्डाको स्वाभाविक हिस्सा हो । तर यसलाई भावनात्मक अपिलका रूपमा होइन, आर्थिक संरचनाको रूपमा प्रस्तुत गर्छिन् । ‘कला शोख होइन, अर्थतन्त्र हो,’ उनी स्पष्ट भन्छिन् ।

कलाकार र खेलाडीलाई सामाजिक सुरक्षा, बीमा र बौद्धिक सम्पत्ति अधिकार आवश्यक रहेको उनको तर्क छ । ‘प्रतिभा पलायन केवल आईटी क्षेत्रमा होइन, कलामा पनि छ,’ उनी भन्छिन् । काठमाडौं-५ मा कलाकार, सञ्चारकर्मी, शिक्षक र सेवा क्षेत्रका पेसेवरहरूको उपस्थिति उल्लेखनीय छ । निशा यी क्षेत्रको समस्यालाई पनि सम्बोधन गर्नुपर्ने गरी आफ्नो अभियान चलाएकी छिन् ।

उनको चुनावी एजेन्डामा बालबालिको शिक्षादेखि ज्येष्ठ नागरिकको सुरक्षासम्म समेटिएको छ । उनको अभियानमा देखिने ‘लाछा डोरी’ को प्रतीकले सम्बन्ध, निरन्तरता र संरक्षणको सन्देश दिन्छ ।

‘परम्परालाई विकनेसको रूपमा होइन, स्ट्रेन्थको रूपमा हेर्नुपर्छ,’ उनी भन्छिन् । निशाका अनुसार, ज्येष्ठ नागरिकलाई केवल भत्तामा सीमित गर्नु पर्याप्त छैन । स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य सहयोग र सामुदायिक संरचना आवश्यक छ । ‘हामी सबै कुनै दिन ज्येष्ठ नागरिक हुन्छौँ,’ उनी भन्छिन्।

सगरमाथादेखि संसद्‌सम्म

हिमालको कठोर चिसो, विरल अक्सिजन र हजारौँ मिटर उचाइबीच निशा अधिकारीले सगरमाथाको शिखरमा पाइला टेकिन् । त्यो क्षण केवल एउटा फोटो खिच्ने वा राष्ट्रिय समाचार बन्ने क्षण मात्र थिएन । त्यो शरीर, मन र इच्छाशक्तिको सीमा परीक्षणको क्षण थियो ।

‘सगरमाथा चढ्नु मेरो व्यक्तिगत सीमा तोड्ने निर्णय थियो,’ उनले भनिन् ।

बेस क्याम्पबाट माथि उक्लिँदै जाँदा संसार क्रमशः सानो हुँदै जान्छ । हावामा अक्सिजन कम हुँदै जान्छ । प्रत्येक पाइला अघि बढाउनु श्रमसाध्य हुन्छ । उनी सम्झिन्छिन्, ‘त्यो उचाइमा पुगेपछि बाहिरका सबै श्वर हराउँछन् । बाँकी रहन्छ- आफ्नै साहस र आफ्नै डर ।’

खुम्बु आइसफल पार गर्दा चिरा परेको बरफमाथि हिँड्नु, क्याम्प-३ र क्याम्प- ४ बीचको ‘डेथ जोन’ पार गर्नु- यी अनुभव केवल शारीरिक परीक्षा होइनन्, मानसिक लडाइँ पनि हुन् ।

‘त्यो उचाइमा तपाईंको नाम, पेसा, लोकप्रियता केही काम लाग्दैन । तयारी, अनुशासन र टिमवर्क मात्र काम लाग्छ,’ उनी भन्छिन्।

२१ मे २०१३ मा शिखरमा पुगेको क्षणलाई अहिलेको राजनीतिक उकालीसँग तुलना गर्न उनको मन पटक्कै मान्दैन । ‘त्यो व्यक्तिगत उपलब्धि थियो, तर मैले महसुस गरेको कुरा के भने उचाइमा पुगेर मात्र अर्थ

हुँदैन, फर्किएर केही अर्थपूर्ण गर्न सके मात्रै त्यसको मूल्य हुन्छ,’ निशाले भनिन्, ‘त्यो व्यक्तिगत चुनौती थियो, यो पुस्तागत जिम्मेवारी हो ।’

राजनीतिमा प्रवेश गर्दा उनलाई थाहा थियो- यो यात्रा सगरमाथा जत्तिकै कठिन, तर फरक प्रकारको हुनेछ । यहाँ हिम पहिरो देखिँदैन, तर अविश्वासको आँधी चल्छ । यहाँ बरफको चिरा हुँदैन, तर चरित्रमाथि चिरा पार्ने टिप्पणीहरू हुन्छन् ।

‘सगरमाथामा जोखिम देखिन्थ्यो । राजनीतिमा जोखिम अदृश्य हुन्छ,’ उनी भन्छिन् ।

स्थापित दल, दशकौंको संगठन र प्रभावशाली नेताबीच आफूलाई एजेन्डा केन्द्रित उम्मेदवारका रूपमा उभ्याउनु सजिलो थिएन । उनी स्वीकार्छिन्, ‘मलाई थाहा थियो यो सजिलो बाटो होइन ।’

उम्मेदवारी दिने निर्णयअघि लामो आत्मसंवाद गरेको उनी बताउँछिन् । ‘के म आलोचना सहन सक्छु ? के म परिवारको समय कम गर्न सक्छु ? के म असफलताको सम्भावना स्वीकार्न सक्छु ?,’ उनी भन्छिन्, ‘यी प्रश्नहरूमा मै सक्छु भन्ने जवाफ पाएपछि राजनीतिमा आएकी हुँ।’

आमा भएपछि आफ्नो राजनीतिक सोच अझ गहिरिएको उनी बताउँछिन् । ‘सात वर्षको छोरा हुर्काउँदै गर्दा एउटा प्रश्न सधैं आउँछ, ऊ कस्तो देशमा हुर्किँदैछ ?,’ निशाको सपाट प्रश्न छ । तर उनले अहिलेसम्म यसको जवाफ भने भेटेकी छैनन् ।

उनका अनुसार, घर सुरक्षित राख्ने जति जिम्मेवारी हुन्छ, देशको संरचना सुरक्षित बनाउने त्यति नै जिम्मेवारी हुनुपर्छ । ‘हाम्रो पुस्ताले नगरे अब कहिले गर्ने त भन्ने लागेर म राजनीतिमा आएँ । यसैपालि उम्मेदवार पनि भएँ ,’ उनी भन्छिन् ।

सगरमाथामा जस्तै राजनीतिमा पनि एक-एक पाइला निर्णयसँग जोडिएको हुन्छ । सगरमाथामा मौसम बिग्रियो भने फर्किनु पर्छ । राजनीतिमा वातावरण बिग्रियो भने पनि टिकिरहनु पर्छ।

‘त्यहाँ फर्किनु साहस थियो । यहाँ टिकिरहनु साहस हो,’ उनी भन्छिन्।

उनले राजनीतिक प्रवेश भावनात्मक आवेगमा नभई सोचेर गरेको बताउँछिन् । ‘अध्ययन सकेपछि राजनीतिमा आउने योजना थियो । तर लाग्यो, समय पर्खिँदैन,’ उनी भन्छिन्।

युवामा देखिएको निराशा, अस्थिर सरकार र नीति निर्माणको सुस्त गतिले सक्रिय राजनीतिमा आउन प्रेरित गरेको उनी बताउँछिन् । ‘यदि हामीले संरचना बदल्ने प्रयास नगर्ने हो भने अर्को पुस्ताले पनि यही निराशा बोक्छ,’ निशाको निष्कर्ष छ ।

एजेन्डाको परीक्षण

काठमाडौं-५ मा चुनाव कहिल्यै पनि सरल गणितको विषय हुँदैन भएन । यो क्षेत्र शक्तिकेन्द्र नजिकको भूगोल पनि हो, मध्यमवर्गीय चेतनाको केन्द्र र पुराना राजनीतिक धारणाहरूको परीक्षणस्थल पनि । यहाँ प्रतिस्पर्धा केवल उम्मेदवारबीच होइन, इतिहास र आकांक्षाबीच पनि हुन्छ ।

यस पटक पनि प्रतिस्पर्धा कडा छ । स्थापित दलहरू, पूर्वमन्त्री, दशकौँदेखि जरा गाडेका संगठन, सक्रिय पार्टी संरचना र स्थायी मत–आधारबीच नयाँ एजेन्डा लिएर प्रवेश गर्नु जोखिमरहित छैन । यस्तो क्षेत्रमा ‘एजेन्डा–केन्द्रित’ राजनीति मतमा परिणत गर्न सजिलो हुँदैन, किनकि मतदाता केवल मुद्दा होइन, जित्ने सम्भावना पनि तौलिरहेका हुन्छन् ।

यही संरचनाबीच निशा अधिकारीले आफूलाई फरक ढंगले प्रस्तुत गरेकी छन् । उनी परम्परागत विकास-वादभन्दा नीति-स्तरका बहस अघि सार्न खोजिरहेकी छिन् ।

उनले आफूले उठाएका विषयलाई ‘तत्काल लोकप्रिय’ भन्दा पनि ‘दीर्घकालीन प्रभावकारी’ भनेर व्याख्या गर्छिन् । उनका अनुसार, ‘राजनीति केवल जित्ने रणनीति होइन, सोच बदल्ने प्रक्रिया पनि हो ।’

अधिकारीले आफूलाई ‘नीति बनाउन संसद् जाने’ उम्मेदवारका रूपमा प्रस्तुत गरेकी छन् । उनी खुला रूपमा भन्छिन् कि, सांसदको काम सडक बनाउने होइन, नीति बनाउने हो । तर नेपाली राजनीतिक संस्कृतिमा सांसदबाट प्रत्यक्ष विकास अपेक्षा गर्ने प्रवृत्ति बलियो छ । यही अपेक्षाबीच उनको सन्देश कति गहिरो पुग्छ भन्ने प्रश्न त छ । तर उनी यी प्रश्नहरू पनि क्रमश: चिरिने विश्वास गर्छिन् ।

उनले एजेन्डा उठाइन्, समाजले बुलिङ गर्‍यो

चुनावी अभियान सुरु भएसँगै सामाजिक सञ्जालमा निशा अधिकारीमाथि समर्थनभन्दा बढी शंका, व्यंग्य र आक्रोश देखिन थाल्यो । उम्मेदवारी दर्ता गरेकै दिनदेखि फेसबुक, टिकटक र ट्विटरमा उनका क्लिपहरू घुम्न थाले । तर ती सबै सामग्री सकारात्मक थिएनन् ।

कतै उनलाई ‘सेलिब्रिटी प्रयोग’ भनेर उडाइयो, कतै ‘राजनीति खेल होइन’ भन्दै क्षमतामाथि प्रश्न गरियो । केहीले उनको अध्ययन र विषयवस्तुको ज्ञानलाई नै अस्वीकार गर्ने प्रयास गरे । तर सबैभन्दा तीखा टिप्पणीहरू उनको व्यक्तित्व र लिङ्गमाथि केन्द्रित थिए ।

उनलाई ‘घर सम्हालेर बस्नुपर्ने भन्दै उछित्तो काढियो । कतै उनको लुगा, कपाल, मेकअप र हाउभाउमाथि टिप्पणी गरियो । कतै ‘महिलालाई किन यस्तो महत्वाकांक्षा ?’ भन्ने आशयका प्रतिक्रिया आए।

यो बुलिङ केवल असहमति थिएन, लैङ्गिक संरचनाबाट निर्देशित अस्वीकृति पनि थियो । पुरुष उम्मेदवारले बोल्दा ‘आत्मविश्वास’ देखिने व्यवहार उनको सन्दर्भमा बढी जान्ने भएको भनेर व्याख्या गरिन्थ्यो ।

‘महिलालाई अधिकारको स्थानमा देख्न समाज अझै तयार रहेनछ,’ उनी भन्छिन्।

तर, उनले सामाजिक सञ्जालको आलोचनालाई पूर्ण रूपमा नकारेकी छैनन् । उनी भन्छिन्, ‘आलोचना लोकतन्त्रको हिस्सा हो, तर व्यक्तिमाथि प्रहार र लैङ्गिक गाली लोकतन्त्र होइन ।’

उनका अनुसार, डिजिटल प्लेटफर्महरूले नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता दिएका छन्, तर त्यो स्वतन्त्रता कहिलेकाहीँ ‘भिडको अदालत’मा रूपान्तरण हुन्छ । ‘एक पटक नकारात्मक कथा बनेपछि त्यसलाई दोहोर्‍याउने भिड तयार हुन्छ,’ उनी भन्छिन्।

उनलाई लक्षित गरेर बनेका मिम, काटछाँट गरिएका भिडियो क्लिप र भ्रामक सन्दर्भहरू पनि फैलाइए । कतिपय पोस्टहरूमा उनको पूर्व पेसालाई नै राजनीतिक अयोग्यता प्रमाणित गर्ने आधार बनाइयो ।
‘कलाकार भएको मान्छे राजनीति बुझ्दैन भन्ने पूर्वाग्रह छ,’ निशा भन्छिन्।

तर, उनी यो अनुभवलाई व्यक्तिगत पीडामा सीमित राख्न चाहन्नन् । ‘म ठूलो चेनको एउटा कडी मात्र हुँ,’ उनी भन्छिन् । उनका अनुसार, सार्वजनिक जीवनमा प्रवेश गर्ने धेरै महिलाले यस्तै अनुभव भोगेका छन्- कसैले खुलेर, कसैले चुपचाप ।

उनी भन्छिन्, ‘यो केवल मेरो कुरा होइन, संरचनाको कुरा हो । महिलाले जब निर्णय क्षेत्रमा प्रवेश गर्छन्, त्यतिबेला परीक्षण कडा हुन्छ ।’

निशाको भनाइमा, बुलिङले डर उत्पन्न गर्न सक्छ, तर त्यही डरले धेरै महिलालाई राजनीतिबाट टाढा राखेको पनि छ । ‘यदि हामी यहीँ रोकिन्छौँ भने अर्को पुस्ताका लागि ठाउँ झन् साँघुरो हुन्छ,’ ‍उनले भनिन् ।

उनका अनुसार, यदि महिलाले आलोचनाको डरले सार्वजनिक जीवन छाडे भने संरचना बदलिँदैन । ‘हामी भावनात्मक रूपमा थाक्न सक्छौँ, तर चुप लागेर बस्नु विकल्प होइन,’ उनी भन्छिन्।

डिजिटल बुलिङको यो अनुभवले उनलाई एउटा कुरा स्पष्ट गराएको छ- नेतृत्व केवल नीति प्रस्तुति होइन, मानसिक सहनशिलताको परीक्षा पनि हो ।

‘कठिन छ, तर कठिन भएकै कारण आवश्यक पनि छ,’ निशा भन्छिन् ।

लेखक
बिनु सुवेदी

दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?