+
+
Shares

जन्मदिन मनाउने पैसा कटौती गरेर विद्यालयमा अक्षयकोष स्थापना

रुकुमपूर्वमा एक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा आमाबुबाको सम्झनामा विद्यालयमा ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १७:२९

९ माघ, ​रुकुमपूर्व । रुकुमपूर्वमा एक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा आमाबुबाको नाममा विद्यालयमा ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन् ।

फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो परम्परालाई चिर्दै रुकुमपूर्वको ​भूमे गाउँपालिका-३ का समाजसेवी चन्द्र रसाइलीले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोष स्थापना गरेका हुन् ।

रसाइलीले स्थानीय शहीद शुक्र माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । उनले आफ्ना बुबा-आमाको नाममा उक्त राशीको अक्षयकोष स्थापना गरी रकम विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

भूमे-३ का वडाध्यक्ष परशुराम बुढामगरले रसाइलीको यो कार्य अरूका लागि पनि प्रेरणाको स्रोत हुने बताए ।

‘युवाहरूले आफ्नो गाउँ र विद्यालय सम्झनु सुखद् पक्ष हो। रसाइलीको यो योगदानले वडाको शैक्षिक अभियानमा थप ऊर्जा प्रदान गरेको छ,’ उनले भने ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोगबहादुर पुनमगरले अक्षयकोषको उचित सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।

‘हामी यो कोषबाट प्राप्त हुने ब्याजमार्फत जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछौँ,’ पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?