News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–२ मा सदस्य नभएका सुनिल केसीलाई उम्मेदवार बनाएको छ।
- सुनिल केसीले गत निर्वाचनमा राप्रपाबाट जितेर प्रदेश सभा सदस्य बनेका थिए।
- रास्वपाले काठमाडौंका १, २, ३, ४, ५ र ९ मा नयाँ अनुहार उम्मेदवार बनाएको छ।
९ माघ, काठमाडौं । काठमाडौं–२ मा अघिल्लो चुनावमा निर्वाचित सोविता गौतम चितवन-३ मा उम्मेदवार बनेपछि यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार टुंगो लगाउन सहज भएन ।
उम्मेदवार मनोनयन गर्ने दिन (माघ ६ ) अप्रत्यासित रुपमा सुनिल केसीलाई अघि सार्ने रास्वपाले निर्णय लियो । उनी रास्वपा पार्टीमा आवद्द थिएनन् । रास्वपाको सदस्य नभएको हुँदा उम्मेदवारका लागि आवेदन दिनेको सूचीमा पर्ने त सम्भावनै रहेन । काठमाडौं–२ बाट रास्वपाको उम्मेदवार हुन इच्छुक डा. रमेश ढकाल र चार्टर्ड एकाउन्टेन्ट विदुर ढुंगाना थिए ।
आवेदन दिएका ढकाल र ढुंगानालाई उम्मेदवार नबनाएर रास्वपाले सुनिल केसीलाई बनायो । रास्वपाको विचारसँग टाढा रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध केसीलाई पार्टीमा भित्र्याएर उम्मेवार बनाइको छ ।
गत निर्वाचनमा प्रदेश सभामा राप्रपाबाट सदस्य बनेका केसी रास्वपा प्रवेश गरेर संघीय संसदको उम्मेदवार बनेका छन् । गत निर्वाचनमा काठमाडौं-२ (क) बाट उनले राप्रपाबाट जितेका थिए । काठमाडौंका उम्मेदवारमा रास्वपाका दुई पक्षले बाँडफाँड गर्दा महानगरका पूर्व मेयर बालेन शाह पक्षले काठमाडौं–२ आफ्नो भागमा पारेको थियो ।
काठमाडौंका पूर्व मेयर शाहसँग निकट रहेका उनलाई माघ ६ गते बिहान मात्रै उम्मेदवार बनाउने तय भएको थियो । उम्मेदवार शाह र रास्वपाका काठमाडौं–२ का सभापति सुमन कार्कीले महानगरका पूर्व मेयर बालेन पक्षबाट उम्मेदवार बनेको स्विकारेका छन् ।
रास्वपाले यस क्षेत्रमा केसीलाई भित्र्याएर उम्मेदवार बनाउनुमा राप्रपाको मत तान्ने रणनीतिले पनि काम गरेको छ । अघिल्लो चुनावमा राप्रपा उम्मेदवार कुन्ति पोखरेलले यस क्षेत्रमा तेस्रो स्थानमा मत प्राप्त गरेकी थिइन् । गत निर्वाचनमा रास्वपाबाट सोविता गौतमले १५ हजार २३८ प्राप्त गरेर निर्वाचित हुँदा एमालेका मणिराम फुँयालले ११ हजार ५६६ मत ल्याई दोस्रो स्थानमा रहे ।
राप्रपाको उम्मेदवार कुन्ती पोखरेलले ११ हजार २४ मत ल्याएकी थिइन् । यसपटक एमाले र राप्रपा पुरानै उम्मेदवार दोहोर्याएको छ । कांग्रेसबाट कविर शर्मा, एमालेबाट मणिराम फुयाँल, राप्रपाबाट कुन्ति पोखरेल, नेपाली कम्युनिस्ट पार्टीबाट नितेश पौडेलसहित १६ जना दलीय उम्मेदवार छन् । यस क्षेत्रमा १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस क्षेत्रमा काठमाडौँ महानगरको वडा नम्बर ३२ पर्दछ । साथै, शङ्खरापुर नगरपालिकाका वडा नम्बर ९ र कागेश्वरी मनोहरा नगरपालिकाका वडा ४, ५, ६, ७, ८ र ९ पर्दछन् । स्थानीय तहको गत निर्वाचनमा शंखरापुरमा राप्रपाले जितेको छ । रास्वपाले उम्मेदवार बनाएका केसीले गत निर्वाचनमा प्रदेश सभा (क) मा ६ हजार ६०२ मत पाएर निर्वाचित भएका थिए । उनले एमालेका उम्मेदवार सानुकुमार श्रेष्ठलाई पराजित गरेका थिए ।
काठमाडौं–२ का रास्वपाका सभापति कार्की अरु दलको मत तान्नका प्रयत्न स्वभाविक रहेको उल्लेख गर्दै भन्छन्,‘उहाँ राप्रपाको प्रदेश सांसद हुँदा राम्रो काम गर्नुभएको छ । सामाजिक कार्यमा सक्रिय व्यक्तिलाई उम्मेदवार पाएका छौं । बालेनले रोजेको व्यक्ति हो ।’
४३ वर्षीय केसी कोटेश्वर निवासी हुन् । जनताका कामका लागि सडकमै ररिरहने व्यक्ति आफू भएको दाबी गर्दै केसीले त्यही कारण काठमाडौंका पूर्व मेयर बालेनसँग नजिकिएको प्रतिक्रिया दिए । जनताको समस्यामा हातेमालो गर्ने आफ्नो उद्देश्य रहेको उनले सुनाए । जनताको घरदैलोबाट कहिले पनि नहराउने उम्मेदवारको रुपमा आफूलाई दाबी गरे ।
केसीले अनलाइनखबरसँग भने,‘म बोलेर देश बन्दैन । काम गरेर देश बनाउन सकिनेमा विश्वास गर्ने व्यक्ति हुँ ।’ केसी फुटबल क्लब ‘सामाजिक युवा क्लब’ मा आवद्ध रहेर काम गरेका छन् । महानगर नेतृत्वसँग विगतमा काम गरेको आधारमा बालेनसँग नजिकिएको उनले प्रतिक्रिया दिए ।
रास्वपाको नीति र सिद्धान्त भन्दा नितान्त फरक विचार धारा राख्ने राप्रपा छोडेर किन रास्वपा प्रवेश ? बारे उम्मेदवार केसी कामका लागि जोडिएको बताउँछन् । विचार भन्दा पनि जनताको माग र सबभन्दा ठूलो कुरा यो समयमा काम गरेर देखाउन पर्ने समय छ । देशको अवस्था, समस्या, भ्रष्टाचार, विथिति हटाउन एक ठाउँमा मिलेर काम गर्न त पाइयो नि ।’
रास्वपाले काठमाडौ १, २, ३, ४, ५ र ९ मा नयाँ अनुहार उम्मेदवार बनाएको छ । गत निर्वाचनमा काठमाडौं–१ मा उम्मदेवार बनेका पुकार बमको निर्वाचन क्षेत्र परिवर्तन गरिएको छ । काठमाडौं–१ मा रञ्जु दर्शना, २ मा केसी, ३ मा राजुनाथ पाण्डे, ४ मा बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डीपी अर्याल र १० प्रदीप विष्ट उम्मेदवार बनेका छन् । बम, खनाल, पराजुली, श्रेष्ठ, विष्ट अघिल्लो चुनावका प्रतिस्पर्धी हुन् ।
प्रतिक्रिया 4