News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगम महाप्रबन्धक छनोटमा अयोग्य दुई कर्मचारी सर्टलिस्टमा परेका छन्।
- महाप्रबन्धक छनोट समितिले ४ माघमा १० जनाको नाम सर्टलिस्ट गरेको थियो।
- सर्टलिस्टमा परेका १४ र १५ माघमा कार्ययोजना प्रस्तुत गरिनेछ र तीन जनाको नाम सिफारिस गरिनेछ।
९ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम महाप्रबन्धक छनोट गर्ने प्रक्रिया अन्तर्गत उक्त पदमा नियुक्त हुन अयोग्य दुई जनासमेत ‘सर्टलिस्ट’ मा परेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको संयोजकत्वमा गठित महाप्रबन्धक छनोट समितिले खुला प्रतिस्पर्धाबाट नियुक्तिका लागि ४ माघमा १० जनाको नाम सर्टलिस्ट गरेको थियो ।
यो सूचीमा परेकामध्ये निगमका वरिष्ठ क्याप्टेन दिपु ज्वार्चन र ग्राहक सेवा विभाग प्रमुख टंकनिधि दाहाल महाप्रबन्धक पदका लागि अयोग्य छन् ।
क्याप्टेन ज्वार्चनले यसअघि निगमको अपरेसन डिपार्टमेन्ट प्रमुखका रूपमा पनि काम गरिसकेका छन् ।
नेपाल वायुसेवा निगम ऐन २०२९ को दफा ८ मा महाप्रबन्धक र सञ्चालकको अयोग्यता सम्बन्धी व्यवस्था छ ।
सोही दफाको खण्ड (क) मा महाप्रबन्धक बाहेक निगमको कुनै कर्मचारी वा सल्लाहकार निगमको महाप्रबन्धक हुन अयोग्य हुने स्वष्ट व्यवस्था छ ।
तर, ऐनको सोही व्यवस्था विपरीत महाप्रबन्धक छनोट समितिले निगमका बहालवाला कर्मचारीलाई पनि महाप्रबन्धकको प्रतिस्पर्धामा सर्टलिस्ट गरेको हो ।
कुल १६ जनाको आवेदन परेकोमा नेपाल वायुुसेवा निगम महाप्रबन्धक छनोट कार्यविधि २०८२ बमोजिम रीतपूर्वक आवेदन दिने १० जनाको नाम सर्टलिस्टमा परेको पर्यटन मन्त्रालयले जनाएको थियो ।
तर, निगमका दुई कर्मचारीका हकमा भने छनोट समितिले कानुनी रीतविपरीत छनोट गरेको खुलेको हो ।
यी दुई बाहेक उपेन्द्रबहादुर कार्की, डा. दीपकप्रसाद बास्तोला, डा. भीमबहादुर चन्द, योगराज कँडेल, विष्णुबाबु मिश्र, वेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत समेत सर्टलिस्टमा परेका छन् ।
सर्टलिस्टमा परेका आकाँक्षीको १४ र १५ माघमा कार्ययोजना प्रस्तुतिको समय तोकिएको छ । त्यसबाट तीन जनाको नाम छनोट समितिले नियुक्तिका लागि सिफारिस गर्ने छ । युवराज अधिकारीको कार्यकाल सकिएपछि अहिले निगम नेतृत्वविहीन छ ।
पर्यटन मन्त्रालयका प्रवक्ता तथा निगम महाप्रबन्धक छनोट समिति सदस्य जयनारायण आचार्यले अहिले अनुभव, योग्यता र उमेरका आधारमा मात्रै सर्टलिस्ट गरिएको बताए ।
‘अहिले छनोट समितिले बनाएको कार्यविधिका आधारमा सर्टलिस्ट गरिएको हो, भोलि नियुक्त गर्दा नेपाल वायुसेवा निगम ऐन लगायत कानुन तथा कार्यविधि अनुरूप नै सिफारिस गरिने छ,’ उनले भने ।
प्रतिक्रिया 4